काठमाडौं, २३ पुस । लामो समयको प्रयत्नपछि सुवास गिरीको निर्माण रहने चलचित्र ‘पर्व’को छायांकन सुरु भएको छ । शुक्रबार ललितपुरको च्यासल खेल मैदान नजिकै सेट बनाएर छायांकन सुरु गरिएको हो । चलचित्रको सुरुआतमा निर्देशक, निर्माता र कलाकारले पूजाबाट गरेर छायांकन सुरु गरेका हुन् ।
‘काले काले’ बोलको गीतबाट चलचित्रको छायांकन सुरु गरिएको हो । जसको शनिबार पनि छायांकन हुनेछ । गीतमा माला लिम्बू र निर्देशक निश्चल बस्नेतको अभिनय गर्नेछन् ।
३५ दिनको छायांकन सेडुलसहित चलचित्र सुरु भएको हो । सस्पेन्स थ्रिलर कथालाई मुख्य विषयका रूपमा उठाइएको चलचित्र दिनेश राउतले निर्देशन गर्दैछन् । काठमाडौंका विभिन्न स्थानमा चलचित्र खिचिने निर्देशक राउतले बताए ।
टिभी फिल्मीको प्रस्तुति र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा चलचित्रको निर्माण हुन लागेको हो । चलचित्रमा नायिका नम्रता श्रेष्ठको साथमा नायक तथा गायक कोशिस क्षेत्री पनि मुख्य भूमिकामा रहेका छन् । अन्य कलाकारमा माला लिम्बु, अमितेश शाह, प्रीया रिजाल, श्रीयन्स तिमिल्सिना रहने बताइएको छ ।
सुवास गिरी र निकिता पौडेलले लगानी गर्ने यस चलचित्रमा हिमाल केसीको द्वन्द्व, कविराजको नृत्य रहनेछ ।
प्रतिक्रिया