प्रिय पाठकहरू ! कृपया माफ गर्नुहोला । राजनीतिलाई क्रुर भएर ‘घाँस’ विशेषण दिएको छु । किन्तु, यसै लेखका पछिल्ला केही अनुच्छेदले यसलाई सविनय सकारात्मक पुष्टि गर्ने जमर्को गरेका पनि छन् । संस्कृतमा ‘नेता’को शाब्दिक परिभाषामा ‘नयति इति नेता’ हुन्छ । ‘समाज र राष्ट्रलाई अघि बढाउने भनेकै नेताले हो, अझ राजनेताले हो ।’
अनुकूल र प्रतिकूल दुवै समयमा नेताको अभ्युदय भएको छ । विश्व राजनीतिले देखाएको छ । दुःखको कुरो नेपालको अवस्था ठीक उल्टो भयो । समय–चक्रमा वर्तमान राजनीतिलाई हेर्दा कुनै पार्टीमा राजनेता देखिएनन्, साथै नेता भन्नलायक एउटै मानिस भेटिएनन् । राजनीतिमा ‘क्यारिस्मेटिक पर्सनालिटी’ को नेपालमा अति खाँचो प¥यो, सो भएन ।
अहिले नेपालमा ‘नेता’ नभएर ‘व्यवस्थापक’को खाँचो छ । समय फड्की सक्यो र बेला भड्की सक्यो । क्रान्तिकालीन समयमा ‘डिस्टिङ्सन’ अंक प्राप्त गर्ने एकादुई नेताहरू पनि व्यवस्थापनकालीन समयमा राजनीतिमा न्यूनतम उत्तीर्णांकसमेत नल्याएर जनताका मूल्यांकनमा ‘फेल’ भए । नेताले पुनः जनहृदय जित्ने प्रयत्न गरेनन् । अहिले दुःखको कुरो यही हो ।
५० को दशकमा नेपाली राजनीतिमा ‘सुनामी’ ल्याउने भाका र भावसाथ जंगल पसेको माओवादीले एक दशकमै शान्ति पक्रियामा फर्किनु प¥यो । विद्रोहको क्रान्तिशैलीमाझ विश्व र अझ खासगरी भारतीय दबाबलाई उसले झेल्न सकेन । यद्यपि, उसले ‘दीर्घकालीन जनयुद्ध’को नामकरण गरेको भए पनि दशकमै क्रान्ति मैजारो भएर संसदीय प्रपञ्चको यो वा त्यो भासमा जाकियो । अहिले मानिसहरू उसको यात्रा ओरालो लागेको ठान्छन् । हतियारका बलमा १७ हजार मानिस मारेर शनैःशनैः चुनाव र सत्ताका धुरीमा जबजब पुग्यो, अनि ऊ विचारको राजनीतिमा स्खलित भएर झरेको छ । आश्वासन, कार्यशैली र दर्शन सबैमा चुकेको देखियो, तर जनताले एकताका ऊसँग धेरै भरोसा गरेका थिए ।
भनिन्छ– ‘राजनीति नीतिहरूको राजा हो । ‘राजा’ भन्नाले मुख्य भन्ने लक्ष्यार्थमा सीमित राखिन्छ भने पनि जसले हृदयमा राज गर्छ, त्यो ‘राजा’ हो ।’ ‘राज करोति इति राजन्’ भन्ने परिभाषा संस्कृत वाङ्मयले नै दिएको छ । प्रकारान्तरले व्यवहारमा त्यो देखिएन । अझ नेपालमा त गएको २६ वर्षमा समाजका सबै अवयवहरूमा अक्कासिँदो परिवर्तन भइसक्दा पनि राजनीतिमा भने हुनुपर्ने परिवर्तनहरू भएनन् । नेताहरूको कद र काँठी मात्र तेर्सो बढ्यो, शिर उँचो भएन । किन उँचो भएन ? प्रश्न यहीँनेर छ । यिनीहरूले आफू र आफ्ना मान्छे मात्र हेरे, देश र जनतालाई केन्द्रविन्दुमा राखेर राजनीति गरेनन् । राष्ट्र र राष्ट्रियता भन्ने भावनात्मक कुरालाई तिनीहरूले ससाना स्कुले नानीहरूका ‘सोसल सब्जेक्ट’का किताबमा कैद गरेर राखिदिए । राष्ट्रगानमा भनेझैँ ‘सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली’ भन्छौँ, तर मालाका केही थुँगाहरू ओइलाउने र झर्ने स्थितिसम्मै आइपुग्दा पनि नेताहरूका नियत फेरिएनन् । मिल्ने सिद्धान्तभित्र दल अदलबदल गर्नु त सामान्य हो, तर यहाँ विचारै फेरेर पनि ‘एनिहाउ सत्तामा जाऊ’ भन्ने ‘फास्ट ट्रयाक’ रोजियो, जुन जनतालाई प्रीतिकर लागेन ।
देशीय सरहदभित्र गर्न सकिने र सम्भव हुने निर्णयहरू पनि हामीले कतिपय सवालमा मुद्दा बनाएर दिल्ली र बेइजिङमा लगेरै जाकटी राख्यौँ । पछिल्लो नेपालीपुस्ता जो ०४६ को जनान्दोलनवरपरको समयावधिमा जन्मिएथ्यो, त्यो अहिले उमेरमा गदाहा पच्चिसी नाघिसकेको छ । त्यो यति काबिल पुस्ता छ कि हरेक क्षणमा अपडेट हुन्छ । ‘ह्वाई ?’ भनेर प्रश्न गर्छ । विश्व पढ्छ, अन्तरिक्ष खारेर आकाशगंगाबारे तर्क औ बहसको जेहादै छेड्छ ।
सबै नेपाली त नभनौँ, केही युवा र जुझारू नेतालाई छाडेर धेरैजसो नेताका खराब बानी भनेकै तिनीहरू सामयिक विश्व र जनताका मानसिकता बुझ्दैनन् । संसारमा नाम कहलिएका र चर्चित किताबहरू पढ्दैनन् । पत्रिका पढेजस्तो गर्ने र कोही त पत्रिकाका मजबुन मात्रै सुन्ने खालका नेताले नेपालमा शासनमा खुट्टो घुमाइरहेका छन् । जसले विश्लेषण गरेर विश्व पढ्दैन, देश पढ्दैन, समाज पढ्दैन र स्वयं आफूलाई पढ्दैन, त्यो जतिसुकै लोकप्रिय नेता भए पनि जनजनका हृदयबाट कित्ताकाट हुँदै गैरहेको हुन्छ । नेपालको मूल समस्या यही हो । लोकतन्त्र भनेको ‘शासन कम र व्यवहार बढी हो, अझ सिस्टमको सन्धान हो ।’
अर्कोतर्फ सार्वजनिक जीवनमा रहेका सामान्य कर्मचारीदेखि लिएर मुख्यसचिवसम्मका जागिरेका अनौपचारिक या व्यक्तिगत जीवनका पाटालाई सूक्ष्म अध्ययन गर्ने हो भने प्रत्येक मानिस भन्छन् एकथोक, गर्छन अर्कोथोक । भनाइ र गराइमै राजनीतिक कार्यकर्ता, अदालतका न्यायमूर्ति र आमसुरक्षाका मानिसहरूकै कुरा बाझिरहेको देखिन्छ । हाम्रै व्यवहार मिलेको छैन भने नेताका व्यवहारमा के समानता खोज्नु ? जतिजति राजनीतिक अस्थिरता बढ्छ, नेताले उति खेल्ने अवसर पाउँछन् । यहाँ भएको छ त्यस्तै ।
‘घाँस राजनीति’ ले नेपालको सिस्टम ‘कोल्याप्स’ होलाजस्तो देखियो । नयाँ संविधानले स्वीकारेको संघीयता, बहुल संस्कृति, पुनर्संरचना र धर्मनिरपेक्षताका मुद्दालाई अहिले विवादको घेरामा हाम्रै नेताले ल्याएका हुन् त ? थोरै हिस्सामा होलान् । जुँगाको लडाइँ पनि भएको छ, नभएको होइन । तर, यसमा अरूलाई दोष दिन मिल्दैन । हिन्दीमा भनाइ छ– ‘सालो तक मै ऐना पुछता रहा, लेकिन मेरे चेहेरे पर दाग था ।’ हाम्रो बोली, व्यवहार र संस्कारमै यति धेरै मक्किसकेका जीर्ण चिन्तन हावी भएका छन् कि हामी त्यसलाई फेर्न चाहँदैनौँ, सक्दैनौँ । गफ र भाषणका संकथनहरू आफू फलाक्छौँ, तर सुधारका कुराहरू पहिले अरूले गरिदिऊन् भन्छौँ । हो, गल्ती यहीँनेर भएको छ । कालो हाम्रो अनुहारमा छ, तर हामी निरन्तर ऐना पुछ्छौँ । ‘व्यवहार परिवर्तन’लाई धेरै शिक्षाविद्ले ‘सिकाइ’ भनेका छन् ।
अहिलेका सत्तामा गएका एकादुई नेतालाई छाडेर प्रायः सबैजसो नेताहरू जेलनेल भोगेका छन्, प्रवास गएका छन् । जहानबच्चा लाऊँलाऊँ र खाऊँखाऊँका बैँस र उमेरमा छाडेर भूमिगत भएका छन् । हत्केलामा ज्यान राखेर राजनीति गरेका छन् । समता र समानता ल्याउँछौँ भनेर जनतासँग वाचाकसम खाएका छन् । तर, जबजब सत्ताको सातु खान पदमा पुगे, त्यहीँबाटै बाटो बिर्सेका हुन् । व्यक्तिगत सुखसुविधाका लागि चोरबाटो हिँड्न खोजे । अन्ततः दिशानिर्देश गर्ने नेताहरू नै ‘जो अगुवा उही बाटो हगुवा भए ।’
घाँस भनेको ‘ग्राउन्ड लेभल’ हो । जनताको वास्तविक चिनारी भुइँबाटै हुन्छ । जनतालाई चिन्नेले पनि घाँसकै समानान्तरमा गएर चिन्नुपर्छ । आजको नेपाली जनताले राज्यसँग रोगी नेता र कार्यकर्ताले झैँ धेरै मागेको छैन । मात्रै, ‘सिस्टम अवलम्बन गरिदेऊ’ भनेको छ । सिस्टम बस्यो भने सबै कुरा आफैँ ठीक हुँदै जान्छ । सिस्टम भएन भने सबै स्वतन्त्रता वयेलिन्छन् । नेपालमा खराब भएको यही हो ।
युरोप र अमेरिकी समाज हाम्रोभन्दा एक–दुई शताब्दी नै अगाडि छन् । ती देशका इतिहास पढेमा हामी थाहा पाउँछौँ, ती देशमा पनि रक्तक्रान्तिका ज्वालामुखीहरू फुटे । लाखौँ र करौडौँ मानिसहरू मारिए । असंख्य बेघरबार भए, छन् । तर, तिनीहरूले आफ्नो विगतको इतिहासबाट भलिभाँती सिके । इतिहासको गल्ती फेरि दोहो¥याएनन् । जो सिक्छ, ऊ इतिहाससँग कृतज्ञ हुँदै अघि बढ्छ । तर जो सिक्दैन, ऊ इतिहाससँगै कृतघ्न हुन्छ, मरिगए सिक्दैन । भनिन्छ– ‘विगत आगतको बाउ अनि आगत विगतको सन्तान हो ।’ इतिहासले वर्तमानलाई संस्कार सिकाउँछ, भोगाइ सेयरिङ गर्छ । बूढो र युवामा फरक भएझैँ हुन्छ, इतिहास र वर्तमानमा ।
भनिएको छ– ‘वृद्धसँग अनुभव हुन्छ, ऊर्जा हुँदैन । युवासँग ऊर्जा हुन्छ, तर अनुभव हुँदैन ।’ यही कुरालाई हृदयंगम गरी विश्व राजनेता नेल्सन मण्डेलाले भने– ‘युवालाई काम र बूढालाई आराम ।’ तर, नेपालमा ठीक उल्टो भएको छ– ‘बूढालाई काम र युवालाई आराम ।’ ‘खाली दिमाग सैतानका घर’ अनि युवा घरदेशमा काम र माम नपाएपछि फ्रस्टेड हुँदै परदेश लाग्छन् । युवाका लागि परदेश सोचेजस्तो छैन, भोगेजस्तो छ । नेपाली युवाको ऊर्जा पलायन र प्रतिभा विदेशिएको हेर्दा यो देश अब केही दशकमै युवाविहीन नहोला भन्न सकिन्न ।
रुख अग्लो हुन्छ, तर त्यो झुक्छ । घाँस जमिनमा समानान्तर हुनाले त्यसले झुक्नु पर्दैन । घाँसलाई फैलन पाउने सुविधा हुन्छ । रुख जतिजति अग्लो र मोटो हुँदै जान्छ, उतिउति उसलाई जमिनमै लड्ने डर हुन्छ । कालान्तरमा रुख जमिनमा पसारिँदा पनि घाँसलाई पीडा । रुख अग्लो र मोटो हुँदा पनि घाँसमाथि नै तप्क्यान । विडम्बना ! जनता सधैँ घाँस नियतिमा बाँच्नुपर्ने ? नेता र निर्णयकर्ता सधैँ रुख हुनुपर्ने ? यो गणतन्त्रको ऐँजेरू प्रकारान्तरले नछिमली हुँदैन । घाँस भनेका प्रतीकात्मक भाषामा जनता हुन् । रुख भनेका नेता । यसर्थमा जनताका हितमा गरिने राजनीति नेताले गर्न छोड्नु भनेको घाँस राजनीतिलाई बिर्सनु हो र ग्राउन्डमा नआउनु हो । सतहमा रहेका र पुछारमा बसेकालाई माया गर्ने नेताको नेपालमा धेरै खाँचो छ । अझ ‘घाँसे राजनेता’ मुलकले आधा शताब्दीदेखि धुइँपत्ताल गरेर खोेजेको छ, तर पाएको छैन ।
सिंगापुरका लि क्विन, मलेसियाका महाथिर महमद्, चीनका देङ सियाओ पिङ र दक्षिण अफ्रिकाका मण्डेलाजस्ता नेता नेपालले कहिले पाउने हो ? त्यो थाहा छैन । वर्तमानमा नभएका ‘घाँसे नेताहरू’ हामीले आयात गर्न पनि नमिल्ने रैछ, टेन्डर हाल्न पनि नहुने रैछ । देश १ सय १० को स्पिडमा ओरालोमा ब्रेक फेल भएको भेइकल भएको छ । अब यसलाई संशोधनका खोलले होइन, चुनावका चरूले मात्र थेग्न सक्छ । सबै पार्टीहरू जनताका बीचमा जान डराएका छन् ।
नागरिक समाज लुलो भएको छ । माफियागिरी गर्नेहरू र भ्रष्टाचारीहरू जताततै अपसकुन भाले बनेर बास्दैछन् । तिनीहरूको डाँकबाट डाकिएको देशमा झुल्किने मिर्मिरे भविष्यमा सोच्दा पनि कहाली लागेर आउँछ । काबिल र चुस्त युवामा चेतना भया ।
प्रतिक्रिया