काठमाडौं, ७ पुस । पाख्रीबास कला साहित्य समाजद्वारा भूपी जन्मजयन्तीको अवसरमा पूर्वाञ्चल स्तरीय कविता प्रतियोगिताको आयोजना गरिने भएको छ । प्रतियोगितासँगै विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने विभिन्न ४ विधाका व्यक्तित्वहरूलाई सम्मान गरिने भएको हो ।
धनकुटामा जन्म भई विगत लामो समयदेखि काठमाडौंलाई कर्मभूमि बनाएर नेपाली गीतसंगीतको क्षेत्रमा अनवरत संघर्षरत कलाकार कृष्णभक्त राईलाई लक्ष्मीकान्त स्मृति पुरस्कार एवं सम्मान (गीत, संगीत तथा गायन विधामा) दिन लागिएको आयोजकले जनाएको छ । यसअघि राईलाई आफ्नो गृह जिल्लाबाट प्रदान गरिँदै आएको धनकुटा प्रतिभा पुरस्कार ०६८ सालमा प्रदान गरिएको थियो ।
यस्तै गीतादेवी भण्डारी स्मृति पुरस्कार एवं सम्मान (कविता विधामा) हेमन यात्री (सुनसरी), धन–जगत स्मृति पुरस्कार एवं सम्मान (गजल विधामा) प्रकट पंगेनी शिव(पोखरा), पाख्रीबास कला साहित्य सम्मान–२०७३ दलबहादुर तामाङ (धनकुटा) र पाख्रीबास कला साहित्य सम्मान–२०७३ आचार्य प्रभा (झापा) लाई चयन गरिएको छ ।
कविता प्रतियेगितातर्फ भने प्राप्त कविताहरू मध्येबाट उत्कृष्ट ५ कविताहरू चयन गरिएको र वाचनकलालाई पनि मूल्यांकनको आधार मानिएकाले कार्यक्रम आयोजना हुने दिन पुस १५ गते निर्णय गरिने जनाइएको छ । उत्कृष्ट ५ कविहरूमा जयन्त सोकल (तेह्रथुम), जुनु राई (भोजपुर), नरेन्द्र कस्चित(धनकुटा), रोहित पराई (मोरङ) र सिजन श्रेष्ठ (संखुवासभा) रहेका छन् । सम्मानित व्यक्तित्वहरूलाई सम्मान तथा विजयी कवि र कवयित्रीहरूलाई पुरस्कार सम्मान पुस १५ गते नै पाख्रिबासमा कार्यक्रमको आयोजना गरि प्रदान गरिनेछ ।
प्रतिक्रिया