प्रज्ञिक संस्थामा हस्तक्षेप नगर

कुनै बेला उच्च शिक्षामा गुणस्तरको मानक कायम गर्न सफल मानिएको काठमाडौं विश्वविद्यालय (केयु) माओवादी हस्तक्षेपका कारण अस्तित्वकै संकटमा परेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले केयुका संस्थापक उपकूलपति शिक्षाविद् डा.सुरेशराज शर्मालाई राजीनामा गर्न बाध्य पारेर गरेको थाले केयु भताभुंग बनाउने अभियान उनका पुराना नेता प्रधानमन्त्री पुष्पकमल दाहाल र कार्यकर्ता शिक्षामन्त्री धनीराम पौडेलले पूर्णता दिन खोजेको देखिँदैछ । डा.शर्माको बहिर्गमन स्वाभाविक रूपमा हुन पाएको भए केयुको नेतृत्व हस्तान्तरण पनि सहज रूपमा हुन पाउँथ्यो ।

धुलिखेल अस्पताल चलाएर नाम कमाएका चिकित्सकलाई विश्वविद्यालय जिम्मा लगाइयो । तर, चिकित्सकले विश्वविद्यालय राम्ररी चलाउन नसक्नु अनपेक्षित थिएन । त्यतिमात्र हैन डा.रामकण्ठ माकजु मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा पनि विवादमा परे । केयु डा.माकजुको प्राथमिकता पनि बन्न सकेन ।

डा.माकजुको पदावधि सकिनैलाग्दा काठमाडौं विश्वविद्यालयका उपकूलपति छनोटका लागि समिति गठन गरिएको छ । बाहिर आएका समाचारअनुसार उपकूलपति छनोट समितिलाई माओवादीले आफू निकट व्यक्तिलाई सिफारिस गर्न दबाब दिएकाले चयन प्रक्रिया अलमलिएको हो । यसैकारण, केयु नेतृत्वविहीन हुन पुगेको छ । भनिन्छ, प्रधानमन्त्री पुष्पकमल दाहाललाई झापाको एउटा मेडिकल कलेजलाई सम्बन्धन दिन केयुमा आफ्नै मान्छेलाई उपकूलपति बनाउनै परेको छ । पञ्चायतकालमा अञ्चलाधीशलाई त्रिविका उपकूलपति बनाउने र त्रिविका उपकूलपतिलाई अञ्चलाधीश बनाउने गरिन्थो । तैपनि स्वार्थको द्वन्द्वबारे यस्तो विवाद सुनिएको थिएन राज्यले त्रिविलाई पूरै अनुदान दिन्छ । केयुले आफ्नो खर्चको ठूलो हिस्सा स्वआर्जनबाट चलाउ“छ ।

यसबाहेक त्रिवि र केयुको कानुनी हैसियतमा खासै फरक छैन । केयु लाभांश भागबन्डा गर्ने निजी कलेज हैन । यसैले यो राष्ट्रको सम्पत्ति हो । अहिले केयुको उपकूलपति चयनमा हस्तक्षेप नगरी सक्षम, वरिष्ठ र निष्कलंक प्राज्ञिक व्यक्तित्वलाई जिम्मा दिने हो भने ओरालो लागेको केयुको साख पुनः कायम हुनसक्छ । काठमाडौं विश्वविद्यालयभित्रै पनि यसलाई हाँक्न र त्यहा“का प्राध्यापकहरूलाई कजाउन सक्ने व्यक्तित्वको अभाव छैन । बाहिर पनि कुशल र असल उपकूलपति हुनसक्ने इमानदार तथा योग्य स्वतन्त्र व्यक्तिहरू छन् । त्यस्ता व्यक्तिलाई पन्छाएर कुनै राजनीतिक नेताको ‘हनुमान’ हुन तयार भएकै भरमा कसैलाई केयुको उपकूलपति बनाइयो भने त्यो देशकै लागि दुर्भाग्यपूर्ण हुनेछ । वास्तविक अर्थमा राष्ट्रघात यही हो । यसैले केयुको साख बचाउने हो भने अप्राज्ञिक हस्तक्षेपबाट थालिएका गल्ती सुधार गर्नुपर्छ । केयुबाहेक अन्यत्र स्वार्थ नभएको र कुनै दलगत आग्रह नभएको व्यक्तिलाई उपकूलपति बनाइनुपर्छ ।

प्रतिक्रिया