तलब नदिएपछि जग्गा कब्जा

14886137_1797957367127167_1301589407_n-copyकाभ्रे, २३ मंसिर । हिमालय स्न्याक्स एन्ड नुडल्स प्रालिका कर्मचारीले तलब नदिएको भन्दै कम्पनीको जग्गा कब्जा गरेका छन् । मजदुरहरूले संघर्ष समिति नै बनाएर मायोजविरुद्ध आन्दोलनमा उत्रेका हुन् ।

व्यवस्थापन पक्षले कर्मचारीहरूलाई दिने मासिक तलब नदिएपछि उनीहरूले जग्गा कब्जामा लिएर खेती गर्न थालेका छन् । गत जेठदेखिको तलब नदिएको भन्दै उनीहरूले उद्योगको ३५ रोपनी जग्गा कब्जामा लिई खेती गर्न थालेका हुन् । पीडित मजदुर सुशिला श्रेष्ठ भन्छिन्, ‘हामीले काम गरेको पाउनुपर्ने तलबसमेत नदिई कम्पनी बन्द गराएकोमा ठूलो आपत्ति छ । हाम्रो परिवार पाल्नकै लागि पनि जग्गा कब्जामा लिनुबाहेक केही उपाय थिएन ।’

निरन्तर घाटामा गएको भन्दै १७ असोजमा कम्पनी बन्द गरिएको सूचना जारी गरिए पनि जेठदेखिको तलब नदिएपछि उनीहरूले जग्गा कब्जामा लिएको बताएका छन् । सो कम्पनीमा स्थायी कर्मचारीको रूपमा ०५७ सालमा १ सय ३७ जनाले राजगारी गर्दै आएका थिए । अचानक उनीहरूलाई बेवास्ता गर्दै कम्पनी बन्द गरिएपछि उनीहरूले जग्गामा तरकारी तथा आवास निर्माण गर्ने बताएका छन् ।

अर्का पीडित राजन अधिकारी भन्छन्, ‘कम्पनीले मजदुरलाई गरेको ज्यादतीकै कारण हामी बाध्य भयौँ । जग्गा कब्जा गर्न कम्पनीबिरुद्ध हामीले पटकपटक विभिन्न ठाउँमा धायौँ कुनै सुनुवाई नभएपछि यो बिकल्प रोजेका हौँ ।’ अधिकांश स्थायी कर्मचारीहरू ग्रामीण भेगका भएकाले उनीहरू डेरा लिएर बस्दै आएका थिए । कर्मचारीहरूले कम्पनीको ज्यादतीविरुद्ध विभिन्न माग राखी आन्दोलन गर्दै आएका थिए । कम्पनीले यो विषयमा कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया