दुई सय राउन्ड गोलीसहित आठ पक्राउ

जाजरकोट, २३ मंसिर । बुधबार प्रहरीले २ सय ५ राउन्ड गोली फेला पारेको छ । जाजरकाट आउँदै गरेको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट २ सय ५ राउन्ड गोली बुधबार छेडाबाट प्रहरीले बरामद गरेको हो ।

इन्स्पेक्टर सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गाडीमा सवार २ महिलासहित ८ जनालाई जिल्ला सदरमुकाम ल्याएको छ । छेडा सदरमुकामबाट ४० किलोमिटर पश्चिममा पर्दछ । मिलनसहित उक्त गाडीमा चढेका ८ जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए ।

झाप्रास्थित एक विद्यालयको कामको सिलसिलामा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनञ्जय आचार्य तथा स्रोत व्यक्ति टेकबहादुर थापा र भक्तबहादुर मल्ललाई दशेराको थलह बजारबाट गाडीमा चढेर सदरमुकामतर्फ आउँदै गर्दा मिलन पनि सोही गाडीमा लिफ्ट मागेर चढेको प्रहरीले बताएको छ । मिलनको साथमा रहेको एम १६ अथवा इन्सास राइफलको गोली हुनसक्ने प्रहरीले जनाएको छ । मिलन नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

 

प्रतिक्रिया