मुम्बई, २२ मंसिर । सन् १९७२ मा रिलिज भएको फिल्म ‘लस्ट ट्यांगो इन पेरिस’ अचानक विवादमा आएको छ । कारण हो फिल्ममा देखाइएको बलात्कारको दृश्य । वास्तवमा फिल्मका निर्देशक बर्नार्डो बेर्तोलुचीले केही दिनअघि एक अन्तर्वार्तामा उक्त बलात्कारको दृश्य नायिका श्वाडरको मर्जीविना छायांकन गरिएको स्वीकारेका छन् ।
बेर्तोलुचीको भनाइ अनुसार बलात्कारको उक्त दृश्य मार्लोन ब्रान्डोसँग छलफल गरेका थिए । यद्यपि, यो प्लान उनले मारियालाई केही पनि बताएका थिएनन् । यति मात्र होइन, बेर्तोलुचीका अनुसार सिनको आइडिया निकै भयानक थियो । तर, यसो गरेकोमा आफूलाई कुनै पछुतो नभएको उनी बताउँछन् । यस्तै, सन् २००७ मा मारियाले उनको वास्तविक बलात्कार नभए पनि आफू बलात्कृत भएको अनुभव गरेको स्वीकार गरेकी थिइन् । मारियाले भनेकी थिइन्, ‘सीन वास्तविक स्क्रिप्टको हिस्सा थिएन । वास्तविकता यो हो कि यो मार्लोनको आइडिया थियो । उनले मलाई छायांकनको बेलामा मात्र यसबारे बताएका थिए । मलाई त्यतिबेला निकै रिस उठेको थियो । ’
‘मैले आफ्नो एजेन्ट वा वकिललाई बोलाउनुपर्दथ्यो किनभने यी सबै स्क्रिप्टमा थिएन । यस्तो दृश्यको लागि कसैमाथि पनि दबाब दिनु हुँदैन । तर, त्यतिबेला मलाई यी सबै कुरा थाहा थिएन । मैले आफूलाई निकै अपमानित महसुस गरिरहेको थिएँ । इमानदारीपूर्वक भन्नुपर्दा मलाई बेर्तोलुची र मार्लोन मिलेर बलात्कार गरिरहेको महसुस भएको थियो । दृश्यपछि पनि न त मार्लोनले मलाई केही सम्झाए न नै माफी मागे । धन्य, सीन एक टेकमा नै ओके भयो ।’
बेर्तोलुचीको खुलासा पछि मानिसहरू निकै रिसाएका छन् । मानिसहरू उनीविरुद्ध आक्रोश जाहिर गरिरहेका छन् ।
थुप्रै बलिउड सेलिब्रिटी पनि बेर्तोलुचीको खुलासामा विरोध जाहिर गरिरहेका छन् । नायिका जेसिका च्यास्तेनले ट्वीटरमा लेखेकी छिन्, ‘यो फिल्म मन पराउने सबैका लागि । तपाईं ४८ वर्षीय व्यक्तिद्वारा १९ वर्षीया महिलालाई बलात्कार गरिरहेको हेर्दै हुनुहुन्छ । निर्देशकले उनीमाथि आक्रमणको प्लान बनाएका थिए । मलाई यसमा घिन लागिरहेको छ ।’ यस्तै नायिका क्रिस इवानले लेखेकी छिन्, ‘मैले बुझिनँ, उनीहरूलाई किन छोडियो । उनीहरू त जेलमा हुनुपर्ने ।’
प्रतिक्रिया