गुठी जग्गाको कारण भूकम्पपीडित संकटमा

काभ्रे, २२ मंसिर । काभ्रेमा रहेका भूकम्पपीडितहरू भूमिहिन र गुठी जग्गाको कारण थप संकटमा रहेका छन् । पलाञ्चोक भगवतीको नाममा रहेको गुठीको जग्गाको लालपुर्जामा जोतेर खानु भनिएको कारणले उनीहरूले घर बनाउन पाउने या नपाउने भन्ने बारे टुंगो नलाग्दा चिन्तित छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भूकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाई मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रर्वद्धन कार्यक्रम पाँचखाल नपा–१६ पहरीगाउँमा सार्वजनिक सुनुवाई गर्दा यस्तो विषय उठेको थियो । भूकम्पपीडितको अवस्था र पूनर्निर्माण विषयमा भएको सार्वजनिक सुनुवाईमा पीडितहरूले भूकम्पपछिको अवस्थाका विषयमा जानकारी दिएका थिए ।

पाँचखाल नगरपालिका–१६ वडासचिव इन्द्रमाया कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका स्थानीय सभापति किरण श्रेष्ठ, एमालेका सत्यनारायण श्रेष्ठ र राप्रपाका राजु थापा मगरले मन्तव्य राखेका थिए ।

कार्यक्रमका सहभागीले पुनर्निर्माण सर्वेक्षण छुटेको, नाम ननिस्किएको, निस्सा नम्बर उल्लेख नभएको, नाम नमिलेको, एकभन्दा बढी घरधनी भएको, त्रुटीपूर्ण विवरण, जग्गाको स्वामित्व नभएको र एकभन्दा बढीको स्वामित्वमा रहेको भन्ने गुनासा गरेका थिए । सरकारले बोल्देफेदिचेलगायत केही बस्तीलाई सार्नुपर्ने भन्दै भूकम्पपीडितलाई सहयोग रोकेको र बस्तीसमेत नसारेको विषयहरू सुनुवाइमा उठेका थिए ।

कार्यक्रममा स्थानीयले आपूmहरूले बिजुली चोरेरै बालेको बताएका छन् उनीहरू भन्छन् हामीलाई केही थाहा छैन । हाम्रो समुदायलाई सरकारले हेलत्तो गरेको छ आखिर यो कहिलेसम्म ? हामीले बिजुली बाल्न र आयस्रोतको मुख्य माध्यम मदिरा बेच्ने नै भएको छ । उनीहरू भन्छन् । कार्यक्रममा ‘धुर्मस–सुन्तली फाउन्डेसनका नाममा बनाइएका नमूना बस्तीको १३ नम्बर घर र घरअगाडी केही दिनअघि सुष्मा र अनिता पहरीले आत्महत्या गरेका छन् । यो बस्तीमा डिस होम छ – टिभी छैन, धारा छ पानी छैन, गोबर ग्यास छ–गोबर छैन ।’ मन्तव्यका क्रममा सर्वसाधारणले प्रश्न गरे, ‘धुर्मुस आउँदा सिडियो–एसपी गेटसम्म लिन आउने तर जनताको समस्यालाई बेवास्ता गर्ने ? भूकम्पले सबैको घर लडेको हो नि ।

कार्यक्रममा काभ्रे बार एसोसियसनका अध्यक्ष अधिवक्ता कृष्णप्रसाद सापकोटा, गैसस महासंघकी सदस्य गंगा दोङ र हर्ड इन्टरनेसनलका जिल्ला संयोजक कमल बन्जारा, जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी विमला बस्नेत र कालिदेवी प्राविका निमित्त प्रधानाध्यापक कृष्णबहादुर कुवँरले मन्तव्य राखेका थिए ।

सरकारले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, कार्यविधि, नियमावली, राष्ट्रिय पुनर्निर्माण तथा पुनस्र्थापना नीति, पुनर्निर्माण कार्यप्रगति विवरण, पुनर्निर्माण र पुनस्र्थापनाको लागि गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि, भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण अनुदान सहायताबारे जानकारी पुस्तिका र आवास पुनर्निर्माण अनुदान सम्झौता–पत्र तयार गरेको छ । पुनर्निर्माण प्राधिकरणका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा नाम प्रकाशन भएका लाभग्राहीको संख्या ६७ हजार ७ सय ११ छ । जसमा ५९ जसमा ९ सय १५ ले सम्झौता गरी ५६ हजारलाई बैंक खातामा ५० हजार पनि पठाइएको छ ।

जिल्लामा २० हजार ८ सय ३४ को गुनासो दर्ता भएको बताइयो । ५ हजारको गुनासो अनलाइनमा इन्ट्री भएको र जिल्ला विकास समितिले ५ सय २३ जनाको गुनासो सम्बोधन गरेको प्राधिकरणको भनाइ छ । सरकारले २ लाख रूपैया नगद र १ लाख बराबरको सोलार तथा गोबरग्यासका सामान सहयोग गर्ने भनेर प्राधिकरण कार्यालयले जानकारी दिएको छ । सामूहिक जमानीमा ऋण दिने भने पनि कार्यविधि नभएका कारण यो विषय अन्योलमा देखिन्छ ।

जिल्लामा ८३ हजार २ सय २४ घरधुरीले पूर्णक्षति भएको भन्दै दुईपटकमा २५ हजार लिएका थिए । जिल्लामा भूकम्पबाट ३ सय २७ जनाको मृत्यु भएको थियो । धुर्मुस–सुन्तली फाउन्डेसनका नाममा ५ परिवारका १८ जनाका लागि केही घर टहरा बनाएर सर्वसाधारण जनतालाई सहयोग नगरेकोमा यहाँका बासिन्दाको गुनासो छ । पलाञ्चोक भगवती खान्की गुठी (जो.खा.) को करिव १५ रोपनी जग्गामा टहरा बनाएर अन्य स्थानीय सर्वसाधारणलाई सहयोग पाउनबाट वञ्चित गरेकोमा यहाँका सर्वसाधारणले विरोध गरे । पहरीगाउँमा तामाङसमेत गरी ८१ घरधुरी रहेका छन । करिब ४ सय जनसंख्या रहेको यो बस्तीका घर भएकालाई समेत सरकारले ५० हजार दिएको छ । १८८४ सालमा लालमोहर लागेर त्यही समयदेखि यहाँका पहरीहरूले गुठी चलाउने, रथ चलाउने, दैनिक प्रसादी लैजाने र मन्दिर परिसरको सरसफाई गर्दै आएका छन् ।

प्रतिक्रिया