जाजरकोट, २२ मंसिर । हृदयघातका कारण घरमुलीको मृत्यु भएपछि जाजरकोटका १ दलित परिवार दैनिक छाक टार्न नसक्ने अवस्थामा पुगेको छ । पजारु गाविस–२ धाउनीका मुने कामीकी पत्नी र ४ छोराछोरी दैनिक छाक टार्न नसकेपछि छिमेकीको शरणमा परेका हुन् ।
कात्तिकको पहिलो साता स्थानीय मुने कामीको हृदयघातबाट मृत्यु भएपछि पत्नी शर्मिला, छोराहरू ११ वर्षका प्रेम, ६ वर्षका कर्ण र छोरीहरू ८ वर्षकी निर्मला विक र डेढ वर्षकी टीकासराको बिचल्ली भएको हो । सम्पत्तिको नाममा उनीहरूको २ रोपनी जग्गा मात्र छ ।
बाबुको मृत्युपछि छोराछोरीहरू स्कुल जान छाडेका छन् । मुनेले घर बनाउने ज्यामीको काम र मजदुरी गरेर परिवार पाल्ने गरेका थिए । उनको मृत्युपछि छोराछोरीलाई दैनिक खाना जुटाउन पनि समस्या भएको पत्नी शर्मिलाले बताइन् । झोला, कापीकलम र कपडासमेत नहुँदा विद्यालय नभएको जेठा छोरा प्रेमले बताए ।
मुनेकी पत्नी शारीरिक रूपमा कमजोर भएकाले काम गर्न सक्ने अवस्थामा छैनन् । आमाले काम गर्न नसक्ने हुनाले गाँउलेले ऋण पनि पत्याउन छाडेका छन् । ‘पहिला बुबा हुँदा ऋण दिन मान्थे, वेसा दिन मान्थे ।’ जेठो छोरा प्रेमले भने ‘सबै भाइबहिनी स्कुल जान्थे, अहिले त स्कुल जान पनि मन लाग्दैन ।’ मुनेको मृत्यु भएपछि गाउँलेले उक्त परिवारका लागि २० हजार रूपैयाँ सहयोग जुटाएका थिए । तर, दैनिक छाक टार्न पनि त्यही रकम प्रयोग गर्नुपर्ने भएपछि रकम सकिएको छ ।
पढ्ने रहर हुँदा पनि आफू र भाइबिहिनी आर्थिक अभावका कारण समयमा खाना लाउन नपाउँदा स्कुल जान नसकेको प्रेमले बताए । अहिले यी बालबालिका गाउँघरमा गाउँलेको घरमा घुमेर खाना खाँदै आएका छन् । आमा पनि काम गर्न नसक्ने र बालबालिकाले पनि परिश्रम गर्न सक्ने उमेर नभएकाले उनीहरूको दैनिक जीवन कष्टकर बनेको हो । शर्मिला र उनका छोराछोरी आफ्नो घर छाडेर छिमेकी दुर्गाबहादुर कामीको घरमा शरण लिइरहेका छन् । घर सानो र चिसो भएकाले उनीहरू छिमेकीकोमा बसेका हुन् । यो परिवारलाई सहयोग होस् भनेर गाउँमा रकम संकलन गरे पनि त्यो सकिएपछि फेरि उही अवस्था दोहरिएको पजारु–२ धाउनीका प्रमोद विकले बताए ।
प्रतिक्रिया