हिमाल पारी चिसोले पानी जम्न थाल्यो

पोखरा, २१ मंसिर । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा केही दिन यता चिसो बढ्दै गएको छ ।

चिसो बढेसँगै जिल्लाका माथिल्लो भेगमा बस्ने सर्वसाधारण जाडो छल्नका लागि तलतिर झर्ने क्रम बढेको छ । मनाङको सदरमुकाम चामेमाथिका उच्च पहाडी भूभागमा यतिखेर तापक्रम ऋणात्मक ७ डिग्री पुगेको मनाङका प्रजिअ गञ्जबहादुर एमसीले जानकारी दिए ।

उनका अनुसार उपल्लो मनाङमा पिसाङ, घ्यारु, ङावल, भ्राका, मनाङ, टंकी मनाङ र खाङ्सार गाविस छन् । चिसोका कारण ठाउँठाउँमा पानी जम्न सुरु भइसकेको बताइएको छ ।

उपल्लो मुस्ताङका स्थानीयवासी जाडो छल्न तलतिर झर्ने क्रम बढिरहेको मुस्ताङका स्थानीय विकास अधिकारी हरि बास्तोलाले जानकारी दिए । सदरमुकाम जोमसोममा यतिखेर बिहान तथा राती लगभग ऋणात्मक ४ डिग्री सेन्टिग्रेड तथा उपल्लो मुस्ताङमा ऋणात्मक ५ डिग्री सेन्टिग्रेड तापक्रम पुगेको बताइएको छ ।

उपल्लो मुस्ताङमा लोमान्थाङ, छोसेर, चराङ, छोनुप, घमी र सुर्खाङ पर्छन् । जाडो बढेसँगै मुस्ताङमा जाने पर्यटकको संख्यामा कमी आएको होटल सञ्चालक बताउँछन् । होटल ग्रान्ड साम्वालाका प्रोप्राइटर सुरज गुरुङका अनुसार मुक्तिनाथ क्षेत्रमा यतिखेर तापक्रम ऋणात्मक ५ डिग्रीमा झरेको तथा धारामा पानी जम्ने क्रम सुरु भएको छ ।

प्रतिक्रिया