धनुषा, २० मंसिर । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आइतबार विवाह पञ्चमी महोत्सव मनाइयो ।
त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।
मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले ३ टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।
रामायणमा वर्णन भएअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा देवी देवताको समेत उपस्थिति थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।
उक्त महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक व्यवस्था अनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।
रंगभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । त्यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।
रंगभूमि मैदानमा वर र कन्यापक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।
जनकपुरको तिरहुतियागाछीमा मनाइने सो महोत्सव एक दशकदेखि रंगभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ ।
देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । उक्त महोत्सव पहिले जनकपुरमा १ महिनासम्म मनाउने गरिएकामा अहिले ४ दिन मात्र मनाइन्छ । यस अवसरमा आइतवार देशभरका राम मन्दिरमा पनि विवाह महोत्सव मनाइने गरिएको छ ।
प्रतिक्रिया