काठमाडौं, १७ मंसिर । नारायण गोपाल संगीत कोषले यसवर्ष गायिकाद्वय मीरा राणा र ज्ञानु राणालाई ‘नारायण गोपाल स्मृति सम्मान’ प्रदान गर्ने भएको छ ।
उक्त सम्मानस्वरूप नगद २५÷२५ हजार तथा दोसल्लासहित कदरपत्र प्रदान गरिनेछ । महाराजगञ्जस्थित नारायण गोपाल बस्दै आएको घरमा यही मंसिर १९ गते स्मृति दिवसको अवसर पारेर विशेष कार्यक्रम गरी सम्मान प्रदान गरिनेछ ।
गायिका ज्ञानु र मीराले नेपाली गीत तथा संगीत क्षेत्रको विकासमा योगदान गरेकाले सो सम्मान दिन लागिएको कोषका महासचिव उषा शेरचनले जानकारी दिए । गायिकाद्वयले नारायण गोपालसँगसमेत युगल गीत गाएकी छन् ।
नारायण गोपालको ०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । नारायण गोपालको निधनपछि नेपाली सुगम गीतसंगीतको विकासमा क्रियाशील गायक तथा संगीतकर्मीलाई प्रत्येक वर्ष मंसिर १९ गतेका दिन सो पुरस्कार प्रदान गरिँदै आएको छ ।
प्रतिक्रिया