सामुदायिक मेलमिलापमा विश्वास बढ्दै

काभ्रे, १७ मंसिर । फौजदारी अभियोग लागेको बाहेकका देवयानी प्रकृतिका मुद्दाहरूलाई समाजमा नै मिलाई आपसी सद्भाव कायम गर्ने उद्देश्यले सञ्चालन गरेको सामुदायिक मेलमिलाप कार्यक्रमको जनस्तरमा प्रभाव बढ्दोे छ ।

सामान्य विवादले उग्ररूप लिँदै ज्यानसमेत जाने समस्याप्रति सचेत गराउँदै गाउँगाउँमा नै विवादहरू मिलान गर्न थालिएपछि सामुदायिक मेलमिलाप केन्द्रप्रति जनविश्वास बढ्दो रहेको पाइएको हो ।

काभ्रेको ७५ गाविस र ५ नगरपालिकामा गरी ७८ सेवा केन्द्रले गर्दै आएको विवादहरू स्थानीय स्तरमै मिलान गर्ने गराउने कामपछि सामान्य विवादका झगडाहरू जिल्लासम्म आउनमा पनि कमी हुँदै गएको छ ।

दिगो शान्तिका लागी उन्नत सम्बन्ध प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले १ वर्ष अघिबाट नेपालको ५ जिल्लाहरू रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र काभ्रेमा काम गर्दै आएको थियो । प्रक्रियागत ढंगबाट दुवै पक्षहरूलाई वार्तामा राखी आपसी दुबैको सम्बन्धमा सुधार ल्याउने कामप्रति जनविश्वासले सामान्य विवादका घटनाहरूमा सामुदायिक मेलमिलाप केन्द्रमा नै सामाधान गर्दै आएको १ वर्षको प्रतिवेदनले

देखाएको छ ।

५ सय १४ मेलमिलाप कर्ताहरू रहेको जिल्लामा सहजकर्ताको लागी स्थानीय स्वतन्त्र व्यक्तिहरूलाई नै छनोट गरी तालिमहरू दिई केन्द्रमा खटाइने गरेको प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपाल काभ्रेकी संयोजक सरिता सापकोटाले बताइन् । सामुदायिक मेलमिलाप अभियानले जनविश्वासमा पारेको प्रभावकै कारण यतिबेला गाउँमा सामान्य विवाद हुँदा जिल्लासम्म धाउने प्रचलनमासमेत कमी भएको छ ।

गतवर्षको एउटा तथ्यांकमा सामुदायिक मेलमिलाप केन्द्रले ६ सय ६७ वटा मुद्दामा मेलमिलाप गरिएको ५ सय ४७ , १ सय १३ वटा प्रक्रियामा रहेको र २७ वटा जिल्ला अदालतमार्फत मेलमिलाप गरिएको उल्लेख छ । जसमध्ये ४० वटा गाविसमा वडा नागरिक मञ्च, राजनीतिक दलका प्रतिनिधिहरूसहित सहभागी गराएर मेलमिलाप कार्यक्रम गरिएको उल्लेख छ ।

सामुदायिक मेलमिलाप केन्द्रले आत्मसन्तुष्टि, छिटै सफलता जस्ता कुराले गर्दा पनि यो अभियान दीर्घकालीन रहेको बताइएको छ । स्थानीय विकास मन्त्रालयले २५ जिल्लामा यो कार्यक्रम लागू गर्दे गरेको भए पनि नेपालको २१ वटा गैरसरकारी संस्थाहरूलाई यो कार्यक्रम गर्न अनुमति दिएको थियो ।

जसमध्ये द एसिया फाउन्डेसनको आर्थीक सहयोगमा प्राकृतिक द्वन्द्व रूपान्तरण केन्द्र नेपालले काभ्रेसहित ५ जिल्लामा यो कार्यक्रमको सेवा प्रवाह गरिरहेको छ । बिहीबार काभ्रेको बनेपामा कार्यक्रमबारे जानकारी दिँदै संयोजक सापकोटाले भनिन् समन्वय र साथ सहयोग सबै पक्षको भए कार्यक्रमको प्रभावकारितामा थप बढ्नेमा कुनै शंका नै छैन ।

प्रतिक्रिया