भाजिरालाङकोर्न थाइ नरेश बन्दै

थाइल्यान्ड, १५ मंसिर । थाइल्यान्डको मन्त्रिपरिषद्ले युवराज महा भाजिरालोङकोर्नलाई नरेश बनाउन उनको नाम संसद्मा प्रस्तुत गरेको छ । यसबाट युवराज भाजिरालोङकोर्न आफ्ना पिताको देहावसानको निकै सातापछि यस मुलुकको नरेश बन्ने मार्ग खुला भएको छ ।

व्यापक रूपमा सम्मान गरिनुभएका नरेश भूमिबोल अदुल्यादेजको अक्टोबर १३ मा देहावसान भएको थियो । उनले यस मुलुकलाई ७ दशकसम्म शासन दिएका थिए भने उनलाई निकै विभाजित मुलुकमा एकताको खम्बाको रूपमा लिइन्थ्यो ।

युवराज भाजिरालोङकोर्नले आफ्ना पिता भूमिबोलको देहावसानपछि आफू शोकमा रहेको अवस्थामा आफ्नो नाम नरेशको रूपमा घोषणा गर्ने काम रोक्न आग्रह गरेको सैनिक सरकारले घोषणा गरेको थियो । मंगलबार मन्त्रिपरिषद्ले घोषणा गरेपछि स्वर्गीय नरेश भूमिबोलको उत्तराधिकारीका विषयमा आशंका हटेको छ । थाइल्यान्डको राजगद्दी उत्तराधिकारीसम्बन्धी नियम गोप्य रहेको छ र उपप्रधानमन्त्री प्रावित वङसुवानले उत्तराधिकारीसम्बन्धी प्रक्रिया अनेकौँ चरणमा सम्पन्न हुने बताए ।

मन्त्रिपरिषद्को विशेष बैठकपछि उनले पत्रकारहरूलाई प्रधानमन्त्रीको सचिवालयले राष्ट्रिय संसदीय सभालाई सूचना दिने जानकारी दिए । यस प्रक्रियाअनुसार संसद्को सभामुखले युवराजलाई नरेश बन्न औपचारिक रूपमा निमन्त्रणा गर्नुपर्छ र यसपछि मात्र नरेशका विषयमा सार्वजनिक रूपमा घोषणा हुनसक्छ । उपप्रधानमन्त्री प्रावितले संसद्का अध्यक्षले युवराजलाई भोलि वा पर्सि भेट गर्ने जानकारी दिए । भेटको केही समयपछि नै नरेशको घोषणा हुने अनुमान गरिएको छ ।

चौँसट्ठी वर्षीय युवराज भाजिरालोङकोर्नलाई ४ दशक अगाडि नै नरेश भूमिबोल अदुल्यादेजको उत्तराधिकारीको रूपमा घोषणा गरिएको थियो । उनी बढी समय मुलुकबाहिर बिताउँछन् । जर्मनीको दक्षिणी भागमा उनको सम्पत्ति छ । एक सैनिक स्रोतले युवराज हाल जर्मनीमै रहेको एएफपीलाई जानकारी दियो ।

थाइल्यान्डमा राजाको मानहानीसम्बन्धी कडा कानुन रहेको छ र युवराजले विश्वको सबैभन्दा धनी राजसंस्थाको उत्तराधिकारी पाउने बताइएको छ । यस कानुनले राजपरिवारको भूमिकाको विषयमा थाइल्यान्डमा खुला छलफल गर्न असम्भव बनाएको बताइन्छ । औपचारिक रूपमा थाइल्यान्डमा नरेशको सीमित संवैधानिक अधिकार रहेको छ ।

७ दशकसम्मको शासनमा भूमिबोलले सम्भ्रान्त तथा विशेष गरी थाइल्यान्डको शक्तिशाली सैनिक सम्भ्रान्त वर्गमा शक्तिशाली सञ्जाल तयार गरेका थिए र उनले संकटको समयमा मध्यस्थकर्ताको ख्याति कमाएका थिए । यसो भए पनि युवाराज भाजिरालोङकोर्नले निकै विभाजित मलुक प्राप्त गरेका छन् । गत दशकमा थाइल्यान्डमा राजनीतिक प्रदर्शन तथा सेनाद्वारा शासन लिने चक्र चलेको थियो भने यहाँ असमानता अझै गहन भएको देखिएको छ ।

सन् २०१४ मा पनि सेनाले शासन आफ्नो नियन्त्रणमा लिएको थियो । तालिमप्राप्त विमानचालक रहेका युवराज भाजिरालोङकोर्नले आफ्नो पिताको जस्तो सम्मान प्राप्त गर्न बाँकी छ । उनले तीनपटक सम्बन्ध विच्छेद गरेका छन् र प्रहरीको भ्रष्टाचारका विषयमा उनका पूर्व परिवारको नाम जोडिने गरेको छ ।

नरेश भूमिबोलको देहावसानपछि युवराज भाजिरालोङकोर्नले अन्त्येष्टिका केही दैनिक संस्कारमा भाग लिएका छन् तर कुनै सार्वजनिक भनाइ राखेका छैनन् । एक वर्षको शोक अवधिसम्म अन्त्येष्टिको संस्कार कायम रहन्छ र युवराज भाजिरालोङकोर्नले राजकुमारी सिरिनधोर्नलाई सो कामको जिम्मेवारी सुम्पिएका छन् । थाइल्यान्डमा स्वर्गीय नरेशको अन्त्येष्टिको संस्कार सम्पन्न भएपछि मात्र नयाँ नरेशलाई श्रीपेच पहि¥याउने चलन छ ।

प्रतिक्रिया