रोल्पा, १५ मंसिर । ५ नम्बर प्रदेश टुक्राउने सरकारको प्रस्तावविरुद्ध रोल्पा र प्यूठानबासीले संयुक्त आन्दोलन चर्काउँदै लगेका छन् ।
सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरू छुट्टाउने विधेयक संसद्मा पेस गर्न लागेको खबर पाएलगत्तै रोल्पा र प्यूठानमा आन्दोलन सुरु भएको मंगलबार हप्ता दिन बितेको छ ।
बन्दका कारण रोल्पा सुनसान छ । यातायातका साधन, बजार, शिक्षण संस्था सबै ठप्प छन् । लिबाङ, होलेरी, घर्तीगाउँलगायत बजार खुलेका छैनन् । आन्दोलनकारीहरूले रोल्पालाई ५ नम्बर प्रदेशमा कायम राख्न माग गर्दै आएका छन् ।
यसैगरी प्यूठान सदरमुकाममा पनि सर्वदलीय–सर्वपक्षीय आन्दोलन जारी छ । प्यूठानमा मंगलबार २ घन्टा चक्काजाम गरिएको छ । उनीहरूले आफूहरू बरु रगतको खोलो बगाउन तयार भएको तर ५ नम्बर प्रदेशबाट कुनै हालतमा छुट्टिन नमान्ने बताउँदै आएका छन् ।
सोमबार प्यूठानको भिग्रीमा बसेको रोल्पा र प्यूठानका राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि संलग्न सर्वदलीय, सर्वपक्षीय बैठकले प्यूठानका पूर्वसांसद मुक्तिप्रसाद शर्माको संयोजकत्वमा २३ सदस्यीय संयुक्त संघर्ष समिति गठन गरेको छ । समितिमा दुबै जिल्लाका राजनीतिक दलका प्रमुख, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ र गैरसरकारी संस्था महासंघका अध्यक्ष सदस्य रहेका छन् । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा ५ नम्बर प्रदेशबाट रोल्पा र प्यूठान छुट्याउने कार्य कदापि स्वीकार्य नहुने र जनताको भावनाविपरीत जबर्जस्ती गर्न खोजिए प्रतिरोधात्मक आन्दोलन गरिने उल्लेख छ । संयुक्त संघर्ष अन्तर्गत बिहीबार रोल्पा र प्यूठानको सीमा क्षेत्र चतुरभुजमा बृहत् खबरदारी सभा हुँदै छ ।
यसैबीच राज्य पुनर्संरचनाको विरोधमा मंगलबार दैलेखबासीले कर्णाली राजमार्ग अवरुद्ध पारेका छन् । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–दैलेख सडकखण्ड अवरुद्ध पारिएकाले हो । सडक अवरुद्ध भएपछि सो सडकखण्डमा गाडी नचल्दा यात्रुहरू मर्कामा परेका छन् ।
प्रतिक्रिया