शैक्षिक क्षेत्र कस्तो रहने भन्ने कुरा कुनै पनि देशमा हुने गरेको बजेटको लगानीमा भर पर्दछ । चालु आवमा शिक्षामा सरकारको निजी क्षेत्रबाहेक प्रत्यक्ष लगानी करिब ९९ अर्ब अर्थात् बजेटको करिब १२ प्रतिशत तथा कुल गार्हस्थ उत्पादनको करिब ५ प्रतिशत रहेको छ । विकसित देशमा शिक्षामा हुने लगानी पनि कुल गार्हस्थ उत्पादनको करिब ५ प्रतिशतकै हाराहारीमा देखिन्छ । तर, जहाँ अर्थतन्त्रकै आकार ठूलो हुनाले लगानीको आकार पनि ठूलो नै हुने भयो । अतः शिक्षामा लगानी न्यून रहेका बेला त्यो लगानी पनि कस्तो शिक्षण पद्घतिमा खर्च हुन्छ भन्ने कुरामा पनि विश्लेषण तथा चिन्तन गर्नुपर्ने देखिन्छ । नेपाली समाजमा राजनीतिक तथा बौद्घिक वृत्तमा शिक्षण पद्घतिसँग सम्बन्धित बहसहरू हुने त गर्छन् तर अपेक्षित छैनन् कि भन्ने बुझाइ हो । किनकि, हामीले निरन्तर रोजगारीमूलक शिक्षा, जनवादी शिक्षा र वैज्ञानिक शिक्षाजस्ता शब्दावली सुन्दै त आएका छौँ । तर, कुन पद्घतिबाट र कसरी त्यस्ता खालका शिक्षा प्राप्त हुन्छ भन्नेमा अनिश्चितता कायमै छ । नेपाली समाजका शिक्षा तथा ज्ञान परम्पराको सामान्य चित्रण र ज्ञानको उन्नयनका लागि तय हुन पुगेका संरचना र केही उपायबारे चर्चा गर्नु यहाँ आवश्यक छ ।
ज्ञानको खोजीका लागि पश्चिमी दर्शन र पूर्वीय (दक्षिण एसियाली) दर्शनमा नितान्त बेग्लै खालका मान्यता रहेका छन् । पूर्वीय दर्शनमा प्राज्ञिक (अन्वेषणमूलक) चिन्तन र धार्मिक चिन्तनका बेग्लाबेग्लै धार विकास नभएर गोलमटोल भएको छ । धेरैजसो विद्वानहरूले सत्य भनेको अकाट्य छ, परम चैतन्य स्वरूप छ, त्यो नै भगवान् हो भन्ने सोच राखेको पाइन्छ । तर, परमेश्वर नै अन्तिम सत्य ठान्ने पश्चिमाहरू कम छैनन् । ‘म किन क्रिस्चियन भइनँ ?’ भन्न सक्ने रसेलजस्ता दार्शनिक पनि रहेका छन् । यसरी पश्चिमा सभ्यतामा धार्मिक र प्राज्ञिक गरी स्पष्ट दुई धार अगाडि बढ्दै गएका देखिन्छन् । त्यहाँ सत्य भन्नाले निरपेक्ष नभएर सापेक्ष हो भन्ने प्राज्ञिक धार रहेको छ । सबभन्दा उत्कृष्ट तार्किक व्याख्यालाई सत्यको नजिक मान्ने र व्याख्यामा सुधार गर्दै लैजाने संस्कार यस धारको मूल कडी हो । यस प्राज्ञिक धारको योगदानले गर्दा नै पश्चिमाहरूमा अध्ययन, अनुसन्धानको विकास अभूतपूर्व हुन पुगेको देखिन्छ ।
त्यसैले, प्राज्ञिक धारको उन्नयनका लागि उपयुक्त शिक्षण पद्घतिको सान्दर्भिकता आजकल बढ्दै गएको देखिन्छ । यसमा परम्परागत रूपमा प्रयोग हुँदै आएको पढेर, बुझेर र कहिलेकाहीँ नबुझेरै पनि, सम्झेर, जाँचमा लेखेर ज्ञान प्राप्त भएको ठानिने घोकन्ते शिक्षण पद्घति छ । अर्को पढेको कुरालाई कल्पना गरेर, कल्पना गरेको कुरालाई प्रयोग गरेर, प्रयोग गरेको कुरालाई अन्य विद्वानहरूसमक्ष प्रदर्शन गरेर प्राप्त हुने सुझाव र सल्लाहबाट पढेका वा समाजमा चलिआएका कुरालाई सुधार्दै जाने साथै सिद्घान्तलाई व्यवहारमा र व्यवहारमा देखिने कुरालाई सैद्घान्तीकरण गर्ने विधिलाई वैज्ञानिक पद्घति वा रचनात्मक पद्घति भन्ने गरिन्छ, जहाँ तथ्य र तर्कको समुचित प्रयोगको विशेष अर्थ हुन्छ ।
नेपालजस्तो अल्पविकसित देश जहाँ पनि समस्याको चाङ देखिन्छ, यिनै समस्या हल गरेर समाजलाई सभ्य, समृद्घ र विकसित बनाउनु पर्ने हाम्रो र अब आउने पुस्ताको ऐतिहासिक जिम्मेवारी हुन आउँछ । यसलाई वहन गर्नका लागि हामीमा समाजमा देखिने समस्या र अन्तरविरोधहरू हल गर्ने किसिमको दृष्टिकोण र कौशलताको आवश्यकता पर्छ भने तिखार्नका लागि वैज्ञानिक पद्घति वा रचनात्मक पद्घतिको अभिवृद्घि हुने खालको समुचित समयानुकूल शिक्षादीक्षाको आवश्यकता रहन्छ ।
समुचित र समयानुकूल शिक्षादीक्षा कसरी प्रदान गर्ने भन्ने कार्यको निधो विश्वविद्यालय, अध्ययन संस्थान र विद्यालयका शैक्षिक तथा प्राज्ञिक गतिविधि र समग्रमा शिक्षाको विस्तृत उद्देश्य, परीक्षा प्रणाली र परीक्षामा सोधिने प्रश्नपत्रले हुन्छ । हाल नेपालमा देखिएको बेथितिमध्ये प्रवेशिका परीक्षामा चिट चोर्न नपाएर स्कुल तोडफोड हुने घटना पनि यदाकदा सुनिने गरेका छन् । यहाँ सतहमा देखिँदा त विद्यार्थी तथा अभिभावककै दोष देखिन्छ, तर वास्तवमा यसमा विद्यार्थीको मात्र दोष नभएर समग्र शिक्षा प्रणालीको हो । विद्यार्थीलाई स्किल टेस्ट गर्नेभन्दा पनि जसरी पनि परीक्षा पास हुनुपर्ने वा पोजिसन ल्याउनुपर्ने तनाव हुन्छ र प्रश्नपत्र पनि उस्तै चिट चोर्न पनि मिल्ने खालकै तयार पारिन्छ ।
यसका लागि कोरियन अनुभव पनि सान्दर्भिक हुन सक्छ, जहाँ शिक्षाको उद्देश्यमा शिक्षित समाज सिर्जना लक्ष्यमा मात्र सीमित नगरी सिक्न चाहने समाजमा रूपान्तरण गर्नुपर्छ भनिएको छ । तर, हाम्रो शिक्षाको उद्देश्य धेरैजसो विद्यालय र विश्वविद्यालय तहसम्मै अध्ययनमै सीमित र अध्ययनपछि लोकसेवामा नाम निकाल्नमै सीमित भएको पाइन्छ । यसरी नै नेपालमा उच्च शिक्षामा राम्रो अंक र स्थान ल्याउनेलाई नेपाल विद्याभूषणलगायत पुरस्कारको व्यवस्था हुन्छ । तर, उत्कृष्ट प्रयोगात्मक प्रोजेक्ट आदि भनेर पुरस्कृत गरिने व्यवस्था खासै गरिएको छैन । तर, लोकसेवाले धेरै कम मात्रै रोजगारीको अवसर सिर्जना गर्छ । अत्यधिक मानिस काम गर्ने अन्य क्षेत्रमा प्रमाणपत्रका अंकको र क्रमको भन्दा पनि सम्बन्ध निर्माण कला, कार्यसम्पादन कला, समस्या समाधान कला, समालोचकीय कलालगायत पढ्ने कला, लेख्ने कला, समस्या समाधान गर्ने कला, मौखिक प्रस्तुति गर्ने कला, नेतृत्व प्रदान गर्ने कला आदि तमाम रचनात्मक कलाको खाँचो हुन्छ । साथै, लोकसेवामा प्रवेश गरेपछि कलाको आवश्यकता झन् बढी पर्छ । एउटा असल र सक्षम राजनीतिकर्मीमा हुनुपर्ने सीपको बारेमा त हामी सबै अवगत नै छौँ । नेपालबाट उच्च शिक्षा प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वानसँग काम गर्दा ज्ञानको उपयोग गर्ने आदि सीपमा हामी नेपालीहरू अत्यन्त निम्छरा रहेको अनुभव हुन्छ । जहाँ सूचना, फर्मुला आदि कुराले थिचिएका हुन्छौँ भने प्रयोग गर्ने, प्रस्तुत गर्ने आदि कुरामा हलुंगा सावित हुन्छौँ । यस्ता सीपको विकास गर्नुपर्ने कुरा शैक्षिक गतिविधि तथा परीक्षा प्रणालीबाट सुनिश्चित गर्नुपर्ने हो । साथसाथै, ज्ञान र सीप बढाउने गतिविधिलाई विशेष प्रोत्साहन दिनुपर्ने हो । विशेष रूपमा भन्ने हो भने सीप आजको भोलि प्राप्त हुँदैन, जसलाई बाल्यकालदेखि नै पहिचान गर्दै उमेरअनुसार खार्दै लैजानु पर्ने हुन्छ ।
त्यसैले, हाम्रो वास्तविक चासो पनि विद्यालय तथा विश्वविद्यालय तहका अतिरिक्त भन्ने गरिएका तर प्रमुख हुनुपर्ने शैक्षिक गतिविधिमा तथा गतिविधि सञ्चालन गर्ने पद्घतिमा र परीक्षामा सोधिने गरेका प्रश्नको शैलीमा तथा अप्ठ्यारोपनमा हो । प्रथमतः हामीले रचनात्मक क्षमता अभिवृद्घि गर्ने, भविष्यमा हरेक पेसाको उच्च तहसम्म पुग्दा अत्यन्त आवश्यक पर्ने लेखन कला, वादविवाद कला र वाक कलामा केन्द्रित गतिविधि कम सञ्चालन गर्छौं, गरिहालेमा पनि त्यो कर्मकाण्डी हुन्छ अनि खासै प्रभावकारी र सहभागितामूलक हुँदैन । हामीले केही यस्ता थोरै सीप भएका वा सामान्य विद्यार्थीभन्दा जान्ने देखिनेबीच प्रतियोगिता गराएर पुरस्कार वितरण गर्ने कामभन्दा ता¤िवक भिन्नता देखिने गरी काम गरेका छैनौँ, जसले गर्दा वादविवाद गर्ने, सामाजिक बहस गर्ने हाम्रो संस्कार पनि निम्नस्तरको देखिन्छ । कहिलेकाहीँ रेडियो, टिभीमा सुनिने र देखिने गरिन्छ, तर त्यहाँको बहस पनि नसुनौँ र नहेरौँ जस्तो लाग्छ । बौद्घिक बहसको सामान्य शिष्टाचार पनि हुँदैन । आलोचना पनि व्यक्ति र घटनामा नभएर सोचमा हुनुपर्नेमा कहिलेकाहीँ लाञ्छनाको तहसम्म पनि आइपुग्छ ।
यसका लागि विभिन्न उपायहरू हुन सक्छन् । जस्तो ः शिक्षक तथा प्राध्यापकहरूको तलबभत्ता वृद्घि गरी अन्य दक्षहरूको तुलनामा उच्च तहमा राख्ने र बजारका उत्कृष्ट जनशक्तिलाई आकर्षित गर्ने, समयानुकूल तालिमहरू सञ्चालन गर्ने, राम्रो परिणाम ल्याउने विद्यालय तथा विश्वविद्यालयलाई पुरस्कृत गर्ने आदि । तर, यस्ता समाधाननका उपायहरू सोचेअनुरूप प्रभावकारी हुन सक्दैनन् भन्ने हाम्रो बुझाइ छ । किनकि, समस्याको चुरो शिक्षाको विस्तृत उद्देश्य र त्यसलाई मूर्तरूप दिने शैक्षिक गतिविधि तथा परीक्षा प्रणालीमै केन्द्रित छ । परीक्षा प्रणालीको प्रभाव पहिला नै अध्ययन गरिसकेको तहमा अझै कक्षा कोठासम्मै प्रत्येक शैक्षिक गतिविधिमा पृष्ठ शृङ्खलीय प्रभावका रूपमा पर्छ भने अगाडि आउने समाज तथा व्यावसायिक जीवनमा अग्र शृंखलीय प्रभावका रूपमा पर्ने देखिन्छ । यसदेखि थोरै प्रयासबाट नै क्षमता विकासको धेरै लाभ प्राप्त गर्न सकिन्छ ।
तसर्थ, शिक्षण पद्घतिलाई समयानुकूल परिष्कारका लागि शिक्षाको विस्तृत उद्देश्य, त्यसलाई मूर्तरूप दिने शैक्षिक गतिविधिहरूमा माथि उल्लेख गरिएका अतिरिक्त क्रियाकलाप, परीक्षा प्रणाली, प्रश्न सोध्ने शैली, प्रश्नपत्रको गुणस्तरीयता र पुरस्कार दिने संरचनालगायत शैक्षिक गतिविधिलाई संस्थागत तरिकाले नीतिमार्फत अभियानका रूपमा लगभग हरेक विद्यालय, विश्वविद्यालयमा सबै विद्यार्थीको सहभागिता सुनिश्चित हुनेगरी सञ्चालन हुनुपर्ने आजको आवश्यकता हो ।
प्रतिक्रिया