काठमाडौं, २४ कात्तिक । ‘तरकारीवाली’ ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठले ‘लम्फू’ नामक चलचित्रको लागि अभिनयको अफर पाएकी छिन् । निर्देशक गोपालचन्द्र लामिछानेका अनुसार कुशुमले परिवारमा सल्लाह गर्ने बताएकी छिन् । ‘हामीले उहाँलाई चलचित्रमा अभिनय र प्रवक्ताको लागि कुरा गरेका छौँ,’ चलचित्रका निर्देशक लामिछानेले भने, ‘कुसुमजीसँगै कुरा भएको छ । उहाँ इच्छुक हुनुहुन्छ घरमा सल्लाह गरेर कन्फर्म गर्ने भन्नुभएको छ ।’
निर्देशक लामिछानेले यस अघि ‘किन लाग्छ माया’, ‘बोक्सी’, ‘द मिरर’ र ‘ओ माइ म्यान’को निर्देशन गरिसकेका छन् । लम्फूलाई पपुलर मल्टिमिडियाको लागि शक्ति बल्लब घोरासैनीले बनाउँदै छन् ।
गोरखा निवासी श्रेष्ठले आफू फिल्ममा काम गर्न इच्छुक भएको बताएकी छिन् । पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक–८ को पहाडी गाउँ वांलिंकी बासिन्दा श्रेष्ठको तस्बिरले इन्टरनेटमा धुम मच्चाएको छ । चितवन रत्ननगरमा बसेर क्वेस्ट मोडल कलेजमा व्यवस्थापन विषय लिएर कक्षा ११ पढ्दै छन् । गाउँदेखि ट्याक्टरले ओसारे पनि त्रिशूली नदीमा बनेको झोलुंगे पुल तार्न टमाटार राखेको क्रेट बोक्नुपर्ने हुन्छ ।
कुसुमले टमाटरको क्रेट बोकेर पुल तर्दै गरेको फोटो त्रिशूलीमा ¥याफ्टिङ सञ्चालन गर्ने एक कम्पनीमा कार्यरत काठमाडौंका रूपचन्द्र महर्जनले खिचेर १२ कात्तिकमा फेसबुकमा राखेका थिए । त्यही फोटोले फेसबुक, ट्विटरमा सनसनी मच्चाएको हो ।
प्रतिक्रिया