महान अक्टोबर समाजवादी क्रान्तिको सय वर्ष

विश्वमा सामन्तवादलाई समूल नष्ट गर्न प्रान्सेली पुँजीवादी क्रान्तिको जति ठूलो महत्व छ पुँजीवाद—साम्राज्यवादलाई समाप्त पार्न र वैज्ञानिक समाजवादी समाजको निर्माण गर्न महान अक्टोबर समाजवादी क्रान्तिको त्योभन्दा ठूलो महत्व विश्वमा रहेको छ । किनभने विश्व समाज दास युगदेखि पुँजीवादी युगसम्म शोषण उत्पीडनमा आधारित समाजको रूपमा रहेको हो र समाजवादी क्रान्तिपछि नै शोषण उत्पीडनमुक्त मजदुर किसान श्रमजीवी वर्गको पहिलो राज्य सत्ता भएको समाज विश्वमा पहिलोपटक स्थापित र विकसित भएको हो । त्यसैले यो समाजवादी क्रान्ति पुँजीवादी क्रान्तिभन्दा गुणात्मक किसिमले नै माथिल्लो विकसित सभ्यता र अझ माथिल्लो चरणको विश्वको विशिष्ठ गुणले युक्त भएको एउटा युगान्तकारी क्रान्ति थियो र हो । माक्र्सका शब्दमा भन्ने हो भने ‘पुराना सबैखाले दुःख कष्टबाट मुक्त’ समाजको स्थापना गर्ने नयाँ युगनिर्माणकारी क्रान्ति हो यो । यस क्रान्तिले विश्वमा शोषित, उत्पीडित तथा पद दलित विभिन्न तह र तप्काका जनतालाई सुख, सम्वृद्धि र सुनिश्चित भविष्य निर्माणको नवीन ऊर्जा दियो । आफ्नो जीवन र समाज परिवर्तनप्रति अत्यन्तै अदम्य उत्साह र भविष्यप्रति अपूर्व आशा जगायो !

विश्व सर्वहारा वर्गको मुक्ति र क्रान्तिको बाटो देखाउने विश्व क्रान्तिका नेता लेनिनको नेतृत्वमा रहेको सोभियत कम्युनिस्ट पार्टी अगुवाइमा रुसमा सम्पूर्ण श्रमजीवी जनता—मजदुर, किसान, मध्यम वर्ग(राष्ट्रिय पूँजीपति) सिपाही, बुद्धिजीवी तथा रुसको जारशाहीबाट शोषित उत्पीडित सम्पूर्ण तह र तप्काका जनता सम्मिलित त्यो रुसी अक्टोबर क्रान्ति रुसको पुरानो पात्रो अनुसार १९१७ को नोभेम्बर ७ का दिन सम्पन्न भएको थियो । १९१७ मा रुसमा सम्पन्न यो महान क्रान्तिले रुसमा रोमानोभ वंशको ३ सय वर्षदेखिको राजतन्त्रलाई समूल नष्ट पारेको थियो र विश्वकै इतिहासमा पहिलोपटक ‘मजदुर–किसान’को राज्य खडा गरेको थियो । लेनिनको देहावसानपछि सोभियत संघका अर्का क्रान्तिकारी नेता स्टालिनको नेतृत्वमा सोभियत समाजवादको निर्माण गर्दै र सोभियत संघलाई बाहृय र आन्तरिक प्रतिकृयावादी पुनरुत्थानाबादी शोषक वर्गीय शक्तिको निरन्तरको आक्रमण र हमलाबाट जोगाउँदै सोभियत संघलाई अभूतपूर्व विकासको बाटोमा अग्रसर गराइयो । वास्तवमा ३ सय वर्षको पुँजीवादले गर्न नसकेको चौतर्फी विकास सोभियत समाजवादले ५० वर्षमा नै हासिल गरेको वस्तुगत तथ्य स्वयं विश्वका विज्ञ पुँजीपति विशेषज्ञहरूले स्वीकार गरेका थिए । समाजवादको विकासले हरेक क्षेत्रमा पुँजीवादको एकाधिकारलाई तोडिदिएको थियो भने शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, अन्तरिक्ष अभियान आदिको क्षेत्रमा त सोभियत समाजवादले पुँजीवादलाई उछिनिसकेको पनि थियो । विश्वमै पहिलोपटक अन्तरिक्षमा स्पुतनिक नामको यान छोड्ने काम सोभियत समाजवादले नै गरेको थियो । अन्तरिक्ष यात्रामा पुगेर फर्किएका विश्व प्रसिद्ध रुसी वैज्ञानिक युरी गगरिनसँग राज्यले खुसी भएर के माग्नुहुन्छ भनेर प्रश्न गर्दा उनले त्यतिबेला ‘आपूm कम्युनिस्ट पार्टी सदस्य हुन चाहेको’ इच्छा जाहेर गरेका थिए । त्यतिबेला कम्युनिस्ट पार्टी एउटा सदस्य हुनुको कति ठूलो गौरब र गरिमा रहेको थियो भन्ने कुरा यसबाट समेत पुष्टी हुन्छ ।

वास्तवमा सन् १९१७ को फेब्रुअरीमा रुसमा पुँजीवादी क्रान्ति नै सम्पन्न भएको थियो । त्यसले रुसी राज्यसत्ता अस्थायीरूपमा पुँजीवादी अधिनायकत्वको त्यो संस्थाको हातमा सुम्पिएको थियो जसले जारशाहीबाट रुसी राज्यको शासन यन्त्र आफ्नो हातमा लिएको थियो । त्यतिबेलाको राजनीतिक संघर्षमा रुसी सर्वहारा वर्गको हितलाई लेनिन नेतृत्वको बोल्शेभिक पार्टी प्रतिनिधित्व गर्दथ्यो । सामन्ती जारशाही शासनको विरुद्धको संघर्षमा उनकै नेतृत्वमा पेत्रोग्राद (१९२४ मा यसलाई लेनिनग्राद भनिएको थियो भने १९९१ पछि सेन्टपिटर्सबर्ग नै भनियो) का मजदुर सोभियतहरू(रुसी भाषामा परिषद्)को स्थापना गर्न थालियो जुन सोभियतमा आरम्भदेखि नै ती सिपाहीहरू पनि सहभागी थिए जो वास्तवमा सैनिक पोसाकमा किसानहरू नै थिए । रुसी मजदुर वर्गले त्यसैबेलादेखि नै टे«ड युनियनहरू कायम गर्न थाल्यो । कुनै आदेशविना नै ८ घन्टाको कामको दिन लागू गरियो र क्रान्तिको रक्षाका लागि ‘लाल गार्ड’को पनि गठन गरियो । यसरी सर्वहारा मजदुर र किसान जनताको क्रान्तिकारी जनवादी अधिनायकत्व जुन पेत्रोग्रादमा स्थापना गरिएको थियो त्यसलाई रुसभरी स्थापित सोभियतहरूले साथ दिइरहेका थिए । कुनै राज्यसत्ता त थिएन तर शस्त्रास्त्रले सुसज्जित जनताले त्यसको समर्थन गरिरहेका थिए र वास्तवमा अधिकार पनि तिनकै हातमा थियो । यसरी फेब्रुअरी क्रान्तिले दोहोरो शासन कायम गरेर नयाँ क्रान्तिका लागि स्वयं नै बिउ रोपेको थियो । यस्तो क्रान्तिको अनिवार्यता यही कुराले निर्धारण गरेको थियो कि जारशाहीविरुद्ध संघर्ष गरिरहेका वर्गहरूमा कुनै वर्ग पनि त्यो फेब्रुअरी क्रान्तिको परिणामबाट सन्तुष्ट थिएनन् । अप्रिल १९१७ मा निर्वासित भएका नेता लेनिन रुस फर्किएपछि जनवादी क्रान्तिलाई समाजवादी क्रान्तिमा परिणत गर्ने स्पष्ट रूपरेखाको योजना बोल्सेभिक पार्टीलाई प्राप्त भयो ।

अक्टोबर महिनासम्म रुसको राजनीतिक संकट अझ गहिरो भएर गएको थियो । अस्थायी सरकारले जुन लडाइँ चलाएको थियो त्यसले गर्दा देशमा अकाल र विनाशको माहोल व्याप्त थियो । मजदुर वर्ग पुँजीपति वर्गविरुद्ध अझ बढी सशक्तताका साथ संघर्षरत हुन थालेको थियो । पेत्रोग्राद तथा मस्कोका सोभियतहरूका वरिपरि देशका अन्य औद्योगिक केन्द्रका सोभियतहरू सबै बोस्लेभिक बनिसकेका थिए । सरकारबाट जमिन नपाएका रुसी किसानहरूले बोल्सेभिकहरूको आह्वानमा आन्दोलित हँुदै सामन्त वर्गको जमिन कब्जा गर्न सुरु गरे । मुख्यमुख्य मोर्चाभित्र रहेका नगर सेनाका बटालियनहरूमध्ये पनि धेरैजसो जनताको हित विरोधी लडाइँबाट थकित भएका थिए र बोल्सेभिकहरूकै बाटोमा लागिसकेका थिए । मजदुर वर्गको अगुवाइमा अधिकांश जनताको समर्थनको साहारा लिएर बोल्सेभिकहरूले लेनिनको नेतृत्वमा सशस्त्र विद्रोहका लागि जनतालाई खुल्ला आह्वान गरे । यस क्रममा १९१७ को अक्टोबर २४ का दिन लेनिन स्मोल्नी भवन पुगे । लाल गार्डका सैनिक तथा विभिन्न कारखानाका प्रतिनिधिहरू पनि हरेक क्षेत्रबाट त्यहाँ उपस्थित थिए । सर्वहारा विद्र्रोहको मुख्य कार्यालय, सैनिक क्रान्ति समितिको बैठक त्यसै भवनको तेस्रो तल्लामा निरन्तर चलिरहेको थियो । त्यो भवनमा पुग्ने बित्तिकै लेनिनले विद्र्रोहको प्रत्यक्ष सञ्चालन आफ्नै हातमा लिए । तत्कालै विभिन्न गाडी र साइकलहरूमा सन्देशवाहकहरू सहरतिर हिँडे र राजधानीका कारखानाहरू, टोलटोल, सैनिक संगठनहरूमा सैनिक क्रान्ति समितिले आदेश दिन थाल्यो ।

पेत्रोग्रादको सर्वहारा र रेजिमेन्टहरूले काम गर्न थाले । सैनिक चौकीहरू र सरकारी कार्यालयहरूमाथि उनीहरूले कब्जा गर्न थाले । २५ अक्टोबर बिहानसम्ममा नेवा नदीमाथिका सबै पुलहरू, केन्द्रीय दूर सञ्चार केन्द्र, आकाशवाणी कार्यालय, पेत्रोग्राद समाचार समिति, रेडियो स्टेसन, रेल्वे स्टेसन, विद्युत् गृह, बैंक र अन्य महत्वपूर्ण सरकारी कार्यालयहरू नौ सेना, लाल गार्ड र सिपाहीहरूले कब्जामा लिइसकेका थिए । शीत महल जहाँ अस्थायी सरकार रहेको थियो र फौजी इलाकाका मुख्य कार्यालयहरूलाई छाडेर बाँकी सबै सहर हतियारबन्द सर्वहारा र क्रान्तिकारी सैनिकको हातमा आइसकेको थियो । अब सरकारी शीत महल कब्जा गर्न लेनिनको आदेशका निम्ति नौसेना, लाल गार्ड र क्रान्तिकारी सिपाहीहरू तयार थिए । यसरी सर्वहारा वर्गको विद्रोहले विजय पाएको थियो । भोलिपल्ट सबेरै सैनिक क्रान्ति समितिले लेनिनले ‘रुसी नागरिकहरूको नाममा’ लेखेको ऐतिहासिक ‘आह्वान’ प्रकाशन गरे । त्यसमा आमजनसाधारणलाई यो खबर दिइएको थियो कि केरेन्स्की नेतृत्वको अस्थायी सरकारको सत्ता जनताले पल्टाएका छन् र राज्यसत्ता पेत्रोग्रादका सर्वहारा र नगर सेनाको अगुवाई गर्ने ‘सैनिक क्रान्तिकारी समिति’को हातमा आइसकेको छ । यो क्रान्तिको विजयको खबर तारद्वारा रुसका कुनाकुना र सबै मोर्चाहरूसम्म पु¥याइयो । त्यसै दिन दिउँसो लेनिनले पेत्रोग्राद नगर सोभियतको असाधारण बैठकमा सोभियत शासनको कत्र्तब्यका बारेमा महत्वपूर्ण भाषण दिए । त्यसको सार थियो ः ‘मजदुर र किसानको क्रान्ति सफल भएको छ’ । अनि २६ अक्टोबरका दिन बिहान सबेरै ५ बजे सोभियतहरूको दोस्रो अखिल रुसी कांग्रेसको अधिवेशनमा के सूचना सुनाइयो भने ‘अस्थायी सरकारको आखिरी किल्ला शीत महलमाथि पनि जनताले कब्जा गरे । केन्द्रमा अरू अरू स्थानमा पनि राज्य शासन सोभियतहरूको हातमा आइसकेको छ’ ।

यसरी सफल भएको श्रमजीवी जनताको महान् अक्टोबर समाजवादी क्रान्तिले विश्वभरीका मजदुर किसानलगायत सम्पूर्ण श्रमजीवी जनतलाई आफ्नो राज्यसत्ता कायम गर्ने, शोषणरहित वैज्ञानिक समाजवादको निर्माण गर्ने र एउटा सभ्य, सुसंस्कृत, समुन्नत मानवीय समाजको निर्माण गर्ने जुन सन्देश दियो त्यसको दूरगामी प्रभाव विश्वभरी नै प¥यो । सोभियत समाजवादको निर्माण र विकासले त्यसको अझै थप पुस्टी ग¥यो । तर, गम्भीर सैद्धान्तिक विचलन तथा आन्तरिक र बाह्य षड्यन्त्रका कारणले ७० वर्षसम्म चलेको सोभियत संघ अन्ततः विघटनको संघारमा पुग्यो र ढल्यो । यद्यपि, सोभियत समाजवादले विश्वलाई ठूलो शिक्षा दिएको छ र मानव समाजको गन्तव्यलाई प्रष्टसँग उजागर गर्दै फेरि पनि विश्वको एक मात्र आशा र भरोसाको विकल्प वैज्ञानिक समाजवाद नै हो भन्ने प्रेरणा निरन्तर दिइरहेको छ । महान अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको सय वर्ष लागेको शतवार्षिकीको अवसरमा त्यो क्रान्तिको धेयलाई सही रूपमा बुझेर अघि बढ्न क्रान्तिकारी कम्युनिस्टहरूले गम्भीररूपमा सोच्नै पर्दछ । मानव सभ्यता र विकासको अरू कुनै भरपर्दाे बाटो विश्वका योभन्दा अर्को छैन !

(सुवेदी नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।)

प्रतिक्रिया