काठमाडौंको सडकमा २१ करोडको सौर्य बत्ती

काठमाडौं, ६ कात्तिक । अबको एक वर्षभित्र काठमाडौं महानगरपालिकाका सबै मुख्य सडक खण्डमा शहरी सौर्य सडकबत्ती जडान हुने भएको छ । तर, यसका लागि सरकार र महानगरपालिकाको १ रुपैयाँ पनि खर्च हुने छैन । निजी क्षेत्रको लगानीमा काठमाडौंको सडक सौर्यबत्तीले झलमल्ल हुने भएको हो ।

महानगरपालिकाले पहिलो चरणमा यो परियोजनाका लागि बीके ट्रेडर्स एण्ड सप्लायर्ससँग सम्झौता गरेको छ । सम्झौताअनुसार कम्पनीले अबको एक वर्षभित्र काठमाडौंमा मुख्य सडकहरुमा १ हजार २ सय ८५ वटा पोलमा बत्ती जोड्नेछ । यसमा उसले २÷३ साइजको विज्ञापन बोर्ड राख्नेछ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत शहरका मुख्य सडकहरुमा सोलार बत्ती जोड्न लागेको प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए । सम्झौताअनुसार निजी क्षेत्रले पूर्णरुपमा आफ्नै लगानीमा सौर्यबत्ती जोड्ने उनको भनाइ छ । ‘सौर्यबत्ती जोडिने पोलमा सानो आकरको विज्ञापन बोर्ड राख्न दिइनेछ । त्यही विज्ञापनका आधारमा निजी कम्पनीले आफ्नो लागत उठाउने छन्’ तामाङले भने ।

सोलार बत्ती जोडेपछि निजी कम्पनीले वार्षिक रुपमा महानगरपालिकालाई प्रतिपोल रोयल्टी र विज्ञापन कर पनि बुझाउने छ । महानगरपालिकाले प्रतिपोल वार्षिक ८ हजार ७ सय रुपैयाँ रोयल्टी लिने तय भएको छ । रोयल्टीबाट महानगरपालिकाले वार्षिक १ करोड ११ लाख रुपैयाँ आम्दानी पनि गर्नेछ । बीके सप्लायर्सले महानगरपालिकालाई वार्षिक रुपमा नगर परिषद्ले किटान गरेको दरका आधारमा विज्ञापन कर तिर्ने सम्झौतामा उल्लेख छ । यो परियोजनामा महानगरपालिकाले एक रुपैयाँ पनि नखर्चिने कार्यकारी तामाङले स्पष्ट पारे । सबै सडकमा बत्तीका लागि निजी क्षेत्रको २० करोड ५७ लाख रुपैयाँ खर्च हुने छ ।

एक वर्षको निर्माण अवधिबाहेक १० वर्षसम्म कम्पनीले नै सौर्य सडक बत्तीको व्यवस्थापन गर्ने महानगरपालिकाका खरिद महाशाखा प्रमुख दीपक अधिकारीले जानकारी दिए । सौर्य सडकबत्तीमा मर्मतसम्भारको जिम्मा पनि बीके सप्लायर्सको नै हुने गरी सम्झौता भएको छ । कम्पनीले प्रत्येक एक–एक महिनमा सोलार प्यानल सफा गर्नुपर्ने र ब्याट्री परिवर्तन गर्दासमेत उसैले खर्च बेहोर्नुपर्ने सम्झौतामा उल्लेख छ । कम्पनीसँग महानगरपालिकाले परियोजना सुरु हुनुअघि नै १ करोड रुपैयाँ धरौटी मागेको छ । यदि तोकिएको समयमा सडक बत्ती नजोडे उसको रोयल्टी जफत गर्ने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले मुख्य ४ वटा क्षेत्रमा बत्ती जडानका लागि सम्झौता गरेको खरिद प्रमुख अधिकारीले बताए । बीके सप्लायर्सले कलंकीदेखि त्रिपुरेश्वर, थापाथली चोक हुँदै माइतीघरसम्म सौर्य सडक बत्ती जोड्नेछ । केशरमहल चोक हुँदै ठमेल क्षेत्र, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे चोकसम्म पनि बत्ती राखिनेछ । सोह्रखुट्टेदेखि बालाजु चोक हुँदै नयाँ बसपार्कसम्म सडक बत्ती जोडिने भएको छ ।

यसैगरी दरबारमार्गको महेन्द्र शालिकदेखि काठमाडौं प्लाजा–कृष्णपाउरोटी चोक– ज्ञानेश्वर हुँदै गौशालासम्म बत्ती जोडिनेछ । ज्ञानेश्वर चोकदेखि मैतिदेवी हुँदै बत्तीसपुतलीसम्म पनि सोलर बत्ती जोड्ने सम्झौता भएको छ । मैतिदेवी डिल्लीबजार हुँदै पुतलीसडक खण्डमा पनि बीके सप्लायर्सले नै बत्ती जोड्ने छ । यसैगरी पुरानो बानेश्वर चोकदेखि रत्नराज्य स्कुल– नयाँ बानेश्वर चोक हुँदै शंखमूल पुलसम्म पनि सौर्यबत्ती जडानको सम्झौता भएको छ । पुरानो बानेश्वर चोकदेखि भीमसेनगोला हुँदै सिनामंगल चोकसम्मका सडकमा पनि सोलर बत्ती राखिने छ ।

यसबाहेक एकवर्षभित्र अनामनगर, हनुमानथान हुँदै बिजुलीबजार, नयाँबानेश्वर चोकसम्म पनि यस्ता बत्ती जोडिने छ । यसैगरी गौशाला–चाबहिल–चुच्चेपाटी, बौद्ध हुँदै जोरपाटी सडक खण्डमा पनि निजी क्षेत्रले नै सौर्य बत्ती जोड्ने भएको छ । यो सडकमा २ सय वटा बत्ती जोडिनेछ । यी बत्तीको लागत भने महानगरले सम्झौतामा उल्लेख गरेको छैन ।

प्रतिक्रिया