केही वर्षदेखि नेपालमा हिन्दू राष्ट्र पुनः कायम गरिनुपर्छ भन्ने मागसहित नेपाली जनताको ठूलो हिस्सा मन्द–मन्द गतिमा आज पनि आन्दोलनरत छ । हिन्दू राष्ट्र, हिन्दू धर्म र यससँग सम्बन्धित पक्ष–विपक्षका मतहरू सन्दर्भमा नेपाली नागरिक समाजमा छलफल र बहसका लागि केही शब्दहरू निर्माण गर्ने जमर्को गरिएको छ, ताकि धर्मसम्बन्धी यतिबेलाको विवाद बुझ्न र सल्ट्याउन एक हदसम्म सहयोग मिलोस् ।
जन्मँदा कसैले पनि धर्म साथमा ल्याउँदैन, न त भगवान्ले टीका लगाएर नै कुनै व्यक्ति वा समुदायलाई निश्चित नामको धर्म दिने परम्परा छ, तैपनि धर्म दिइन्छ । मान्छे जन्मेपछि दिइन्छ, दिइँदो रहेछ । सबैको अनुभवले यस्तै सिकाउँछ । कुनै पनि धर्मको गन्तव्य र अर्थ, उद्देश्य सकारात्मक हुन्छ । अर्थात्, सबै धर्मले प्राणी जगतलाई स्नेह गर, सहयोग गर, नमार, नकाट, दुःख नदेऊ भन्छ । सबै धर्मको विशेषता उस्तै छ, तर धर्मको नाम अलग–अलग राखिएको छ । किन यो तरिकाले विभिन्न नाम राखेर धर्महरूको निर्माण गरिएको हो ? निर्माण गर्नेहरूलाई थाहा होला । तर, आजको विश्वमा धर्मको नाममा संसारका मानिसहरू बाँडिएका छन् । कसैले आफूलाई मुस्लिम धर्म मान्ने बताउँछ, कसैले हिन्दू, कसैले क्रिस्चियन, कसैले बुद्धिष्ट, कसैले के त कसैले के धर्म मान्ने बताइरहेका छन् । धर्मको नाममा मानिसले आफूलाई किन अलग बनाएको छ, यसको जवाफ दिन सजिलो छैन । किन पनि सजिलो छैन भने धर्म उत्पादन गर्नेहरू आज संसारमा छैनन् । उतिबेला उत्पादन गरिएका धर्म मान्नेहरू त छन्, तर धर्म जन्माउनेहरू आज संसारमा छैनन् । किन अलग–अलग नामका धर्म जन्माइयो, जन्माउनेले जवाफ दिन सक्ने तर जन्माउनेहरू भौतिक रूपमा उपस्थित नभएको हुँदा जवाफ पाउन सकिँदैन । धर्म पछ्याउनेहरूले विश्वासका आधारमा, अन्दाजका भरमा जवाफ दिन्छन् । त्यस कारण, पूरै पत्याउन सकिने आधार भेटिँदैन । त्यसकारण, धर्मसम्बन्धी विवाद रहिरहन्छ । ठेट जवाफ प्राप्त हुनसक्ने अवस्था नभएको हुँदा, अन्दाजका भरमा दिइने जवाफका कारण सजिलै चित्त बुझ्ने अवस्था नहुने हुँदा पनि विवाद रहिरहन सक्छ । त्यसकारण, धर्मसम्बन्धी ज्यादा विवाद गर्न हुँदैन भनिँदै आइएको छ । तैपनि, विवाद गर्नेहरूले विवाद झिकिरहन्छन् । कचकच, गनगन र ठसठस भइरहन्छ । अब हिन्दू राष्ट्र संविधानमा उल्लेख गरिनुपर्छ भन्ने माग पूरा नभएको र यतिबेला पूरा नभए पनि संविधान संशोधन गरेरै भए पनि ‘हिन्दू राष्ट्र’ कायम गरिनुपर्छ भन्नेहरू अझै पनि थाकेका छैनन् । नयाँ संविधान जारी हुँदा छिमेकी मुलुक भारत रिसाएर नाकाबन्दीसम्मको कार्बाही गरेको र त्यसकारण नेपाली जनताले पीडा खप्न परेको अवस्थाका कारण मात्रै हिन्दू राष्ट्र माग्नेहरू सेलाएको जस्तो देखिएको छ । लाग्छ, यो माग फेरि उठ्छ किनकि यतिबेला अरू शीर्षकमा आन्दोलन भएको र हुने छेकछन्द देखिएको छैन ।
वैदिक सनातन धर्मलाई नै हिन्दू धर्म भन्नेहरूको संख्या आज विश्वमा करिब ३ अर्ब छ भनिएको छ । ठीक छ, ३ अरब वा त्योभन्दा केही बढी वा घटी भएर विवाद हुँदैन । हिन्दू संस्कारमा हुर्किएका, हिन्दू सम्प्रदायका मानिसहरूको सबैभन्दा ठूलो संख्या सायद् नेपालको छिमेकी मुलुक भारतमा हुनुपर्छ । नेपालमा भएका पूरै जनसंख्याको ३ भागभन्दा ज्यादा मानिसले हिन्दू धर्म मान्ने तथ्यांकले उल्लेख गरेको छ । यी २ मुलुकलाई छाडेर संसारका विभिन्न भागमा बस्ने मानिसहरू समेतलाई जोडेर हिन्दू हरूको संख्या पुगनपुग ३ अर्बजति बताइएको छ । यी ३ अर्ब हिन्दू धर्म मान्ने मानिसहरूमध्ये नेपालमा भएका जनतामध्ये करिब ८० प्रतिशत जनताले हिन्दू धर्म मान्ने हुँदा नेपालमा राजतन्त्र हुँदा उतिबेलाको संविधान निर्माण गर्दा नेपाललाई नेपाल हिन्दू राष्ट्र कहलिने छ वा नेपाललाई हिन्दू राष्ट्र भनिने छ भनी उल्लेख गरियो । त्यतिबेला नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्दा समर्थन वा विरोधको कुरा कहीँकतै देखा परेन । नेपालमा राणाशासन हुँदा र पञ्चायती व्यवस्था हुँदा हिन्दू धर्मलाई आड लिएर शासन चलाइने परम्परा भएको हुँदा पनि त्यो तरिकाले संविधानमा हिन्दू राष्ट्र घोषणा गरिएको हुनुपर्छ ।
एकताका नेपालमा राजतन्त्रको भूमिका सन्तोषजनक नभएको भनी आन्दोलन गरियो ०४६ सालमा । राजतन्त्रले आफूलाई पछाडि सा¥यो र जनतालाई आफ्नो शासन आफैँ गर भनी छाडिदियो । जनताका छोराछोरीले आफैँ शासन गर्न लागे । तर, जनताका छोराछोरीबीच शासनशैलीलाई लिएर विवाद बढ्यो र एकथरी, एक हिस्साका जनताले फेरि आन्दोलन गरे । यो सशस्त्र खालको आन्दोलनले घुमाइफिराई राजतन्त्र नै फ्याँकिदियो । संसद् पुनर्बहाली भएपछि बहाल भएका सांसद्हरूले ताली बजाएर राजतन्त्र फ्याँकिएको घोषणा गरे । राजतन्त्र फ्याँकिएको घोषणा गरेर मुलुकलाई गणतन्त्र घोषणा गरिएपछि बनाइएको अन्तरिम संविधानमा हिन्दू राष्ट्रवाला नेपाललाई ‘धर्मनिरपेक्ष’ नेपाल घोषणा गरियो । उतिबेला राजतन्त्रको विरूद्धमा जनतालाई सडकमा उत्रिन आह्वान् गर्ने राजनीतिक दलहरूले मुलुकलाई संघीय ढाँचामा लैजाने कुरा गरेका थिएनन् । तर, राजतन्त्रले घुँडा टेकेपछि जनतालाई सोध्दै नसोधी खुसुक्क मुलुकलाई संघीय ढाँचामा लाने निर्णय गरियो । जनताले सोचे, ‘लौ, हामीले विश्वास गरेको तिमीहरूलाई नै हो, जे गर्दा ठीक हुन्छ त्यही गर ।’ यो खालको सोचका साथ जनताले मौन समर्थन गरे । जनताले जानेर बुझेर समर्थन गरेका थिएनन्, केवल विश्वासले समर्थन गरेका थिए । नेपाली जनताले संघीयताबारे आफ्नो राय दिएका थिएनन्, तर राजनीतिक दलहरूले मुलुकलाई सक्षम बनाउने सपना देख्दै, देखाउँदै संघीयतामा जाने निर्णय गरिछाडे । यसका अतिरिक्त जनताले थाहै नपाउने गरी खुसुक्क युगौँयुगअघिदेखि संसारमा एक मात्र हिन्दू राष्ट्रका नामले चिनारी पाएको नेपाललाई पहिचान मेटाएर ‘धर्मनिरपेक्ष राष्ट्र’ घोषणा गरे । यसपछि बल्ल नेपाली जनता तात्न थाले । तात्दातात्दै तापक्रम यतिसम्म बढ्यो कि अब यो मागलाई कुनै पनि हालतमा सरकारले सम्बोधन नगरी सुखै छैन भन्ने अवस्था सिर्जना भएकै स्थिति वरिपरि भारतले विश्वले मानेको कानुन लत्याएरै नेपालमाथि नाकाबन्दीको बज्रप्रहार ग¥यो । यो नाकाबन्दीले ‘हिन्दू राष्ट्र’ माग गर्नेहरूलाई केही पछि हट्न बाध्य तुल्यायो । धर्मसंकटको समस्या पछि सल्ट्याऊँला, राष्ट्रसंकटको समस्यालाई पहिले समाधान गर्नुपर्छ भन्ने मान्यतालाई अघि सार्दै भारतको अस्वाभाविक र मानवअधिकार हनन्वाला हर्कतको विरोध गर्नतर्फ हिन्दू राष्ट्र स्थापना अभियानमा सक्रियहरू लागे ।
संसारमा जसले जुन धर्म मान्न पनि पाउँछ, आफूलाई इच्छा लागेको धर्म मान्न पाउने अधिकार हरेक मानिसलाई हुन्छ । फेरि राष्ट्रको राष्ट्रियता हुन्छ अनि राष्ट्रले यो वा त्यो धर्मलाई राष्ट्रिय धर्म तोक्दा पनि तोक्दैन । तर, राष्ट्रमा विभिन्न धर्म मान्ने जनता हुन्छन् । तिनैमध्येबाट राष्ट्रपति, प्रधानमन्त्री चुनिन्छन् । राष्ट्रलाई बेइमान गर्ने छैन भन्ने शपथ खाँदाका बखत आफूले मानेको धर्मग्रन्थ छोएर कसम खान्छन् । कसम खाएपछि कति इमानदार हुन्छन् वा कति हुँदैनन्, त्यो बेग्लै विषय हो । तर, यही तरिकाले धर्मग्रन्थ छोएर कसम खान्छन् । अमेरिकाको राष्ट्रपतिले बाइबल छोएर कसम खाएको देखिन्छ । अन्य राष्ट्रमा पनि धर्मग्रन्थ छोएर शपथ लिने चलन छ । शायद्, यही तरिकाले गीता वा महाभारत छोएर कसम खानका लागि नेपालमा पुराना शासकहरूले नेपाललाई जानेर वा नजानेर मुलुकलाई नै हिन्दू राष्ट्र घोषणा गरेका थिए । पहिला पनि नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न पर्थेन, गरे । एउटा पहिचान बनाएको थियो नेपालले ‘विश्वमा एक मात्र हिन्दू राष्ट्र’को । केही विवाद थिएन, हिन्दू राष्ट्रको नामले चिनिएको समयताका पनि नेपालमा हिन्दू धर्म मान्नेहरूले हिन्दू मानेका थिए । मुस्लिमहरूले आफ्नो धर्म मानेका थिए । बुद्धधर्म मान्नेहरूले पनि स्वतन्त्रतापूर्वक आफ्नो धर्म मानेका थिए । हिन्दू धर्म मान्नेहरूको संख्या धेरै थियो, तर कहिल्यै कसैलाई कसैले धर्मका नाममा छेडछाड गर्ने काम गरेका थिएनन् । नेपालमा जसले जेसुकै धर्म मान्न पाउने सहज अवस्था थियो, तर दुर्भाग्य ! नेपाली नागरिकता लिएर विदेशी डलरमा रमाउने कुनै राष्ट्रघाती राजनीतिज्ञले खुसुक्क नेपाललाई ‘धर्मनिरपेक्ष राष्ट्र’ बनाउन खेल खेल्यो । त्यो खेल धेरैले थाहै पाएनन् । नेपाली कांग्रेसका नेताहरूलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गराउने ऐजेन्डा कसको हो ? भन्ने प्रश्नलाई लिएर उनीहरूको जवाफ हुन्छ, ‘हाम्रो होइन, हामीलाई थाहा छैन । एमालेवालाहरूलाई सोद्धा उनीहरूको पनि जवाफ हुन्छ, ‘हामीलाई थाहा छैन ।’ यसलाई सोद्धा पनि थाहा छैन र उसलाई सोद्धा पनि थाहा छैन । उसो भए, कसको हो यो मुद्दा वा नारा जसले कसैलाई पनि थाहा नदिई अन्तरिम संविधानमा ‘धर्मनिरपेक्ष राष्ट्र’ लेख्न लगायो ?
गल्ती पहिलेका शासकहरूले गरेका थिए । नेपाललाई हिन्दू राष्ट्र घोषणा नगरेको भए पनि हुन्थ्यो, गरे । तर, धर्मसम्बन्धी कुनै पनि विवाद नभएको अवस्थामा चोरबाटोबाट कसैलाई थाहा छैन भन्ने अवस्था सिर्जना गर्दै किन नेपाललाई ‘धर्मनिरपेक्ष राष्ट्र’ घोषणा गरियो ? विवादको विषय धर्मनिरपेक्ष, सापेक्ष वा स्वतन्त्र भन्ने हुँदै होइन, हो त चोरबाटोबाट षड्यन्त्रमूलक ढंगले निरपेक्ष बनाइएकोमा मात्रै हो । कर्म नगरी धर्मले खान दिँदैन, लाउन दिँदैन, स्वस्थ शरीर दिँदैन । यस कोणबाट व्याख्या गर्दा धर्मसम्बन्धी विवाद गर्न जरूरी छैन । चाहे धर्मसापेक्ष भन वा निरपेक्ष भन, तर एउटा पहिचानलाई मेटाएर हरियो डलरका भरमा विदेशी संस्कृति भित्र्याएर ‘आजसम्म मन्दिरैमन्दिरको देश’ भनिँदै आएकोमा ‘चर्चैचर्चको देश’ बनाउन कुनै पनि स्वाभिमानी नेपालीले मन्जुर गर्ने छैनन् । यो सत्य हरियो डलरमा देशको पुरानो स्थापित परिचय बेच्न जुर्मुराएकाहरूले बेलैमा बुझ्दा कल्याणै हुन्छ । आज नेपालमा भएका मन्दिर, मस्जिद र गुम्बाहरूको परिचय नेपाली एकताले सिँगारिएको र सुशोभित भएको छ । डलरको बलमा भित्रिने चर्चहरूका लागि कम्तीमा नेपाली धरतीमा ठाउँ छैन, नेपाली नागरिकता लिएर उच्च ओहोदामा बस्ने विदेशीहरूले राम्रैसँग बुझ्दा हुन्छ । नेपाली जनता जो हिन्दू राष्ट्रको माग गरिरहेका छन्, उनले पनि अब बुझ्नुपर्छ कि देश हाम्रै हो, हामी नेपाली जनताको हो । माग राख्न पाइन्छ, तर माग राख्दा शिष्ट, भलादमी र सुहाउँदो पाराको हुनुपर्छ । भारतमा महात्मा गान्धीले जेल भरो आन्दोलन गरे, कोही नबोल्ने मौन आन्दोलन गरे, देशैभरि थाल ठटाउने र विदेशी शासकलाई तर्साउने आन्दोलन गरेर परास्त गरे । त्यही खालको शान्तिपूर्ण र जनताले दुःख नपाउने खालको आन्दोलन गर्नुपर्छ । राजनीतिक दलहरूले आयोजना गरेजस्तो वाहियात् ‘बन्द’ आयोजना कुनै पनि हालतमा गर्नुहुँदैन । शासकहरू सिंहदरबारमा छन्, सिंहदरबार घेराउ गर्नुपर्छ । सडकमा जनता हुन्छन्, सडक जनताको हो । जनताको सडक कब्जा गर्न मिल्दैन, सुहाउँदैन । सम्बन्धित पक्षलाई ठीक समयमा बुद्धि फिरोस्, शुभकामना !
प्रतिक्रिया