काठमाडौं, ८ असोज । चलचित्रहरूको च्यारेटी एकैपटक एउटै हलमा दोहोरिएको कमै होला तर शनिबार प्रदर्शनमा गरिएको चलचित्र ‘यारी’को भने छुट्टै इतिहास रह्यो । चलचित्र विकास बोर्डको हलमा प्रदर्शन भएको उक्त चलचित्रको च्यारेटीका लागि दर्शकहरूको निकै ठूलो घुँइचो लागेको छ ।
सिलिचुङ फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको च्यारेटीमा पहिलो सोमा दर्शक नअटाएपछि लगातार दोस्रो, तेस्रो हुँदै ४ वटा सो भव्यताका साथ सम्पन्न भएको छ । पूर्वको किराती समुदायको संस्कृतिमा आधारित रहेको चलचित्रको कथा, पटकथा, संवादले दर्शकहरूलाई पूर्ण मनोरञ्जन दिनुका साथै सफल सन्देश दिएको दर्शकहरूको प्रतिक्रिया रहेको थियो ।
मध्यपूर्वको माझ किरात क्षेत्र सिलिचुङमा केन्द्रित रहेर छायांकन गरिएको उक्त चलचित्रमा आधुनिकताको नाममा विकास निर्माणले ल्याएको रैथाने संस्कार संस्कृति तथा स्थानीय उत्पादनमा पार्ने असरको बारेमा
स्पष्ट पारिएको छ । कथामा विकासको नाममा किराती संस्कृतिमाथि आफ्से आफ हुने हस्तक्षेपको बारेमा कलात्मक रूपमा जानकारी प्रदान गरिएको यारीका निर्देशक युवराज राई (वीर बहादुर)ले जानकारी दिएका छन् ।
चलचित्रमा बगेको कथा आफ्नै जीवनमा भोगिएको र अहिले गाउँघरले भोगिरहेको सामाजिक यथार्थको वरिपरि रहेको हलबाट निस्केका किरात राई चलचित्रकर्मी संघका महासचिव सुमन नाछिरिङले बताए । चलचित्रमा रहेको सबै कलाकारहरूको सशक्त अभिनय रहेको बताउँदै गायिका शिला राईले कथाले मन छोएको बताइन । यस्तै स्थानीय उत्पादनलाई बाह्य उत्पादनले विस्थापित गर्दै आएको तीतो यथार्थ फिल्ममा राखिएको उनको भनाइ रहेको छ ।
चलचित्रले किराती संस्कारलाई संरक्षण गर्न आवश्यक रहेको सन्देश दिन खोजेको कवि खुक्सङ खम्बुले बताए । चलचित्रको च्यारेटी हेर्न हलपुगेकी गायिका सरस्वती लामा भुजेलले आफूलाई फिल्मको कथा र कलाकारको अभिनयले रुवाएर पानी पानी बनाएको प्रतिक्रिया दिइन् ।
चलचित्रको निर्माण दक्षकुमार राई हङकङ, गणेश गिरी, उर्मिला राई (सरु) र प्रविण राईले गरेका हुन् । युवराज राईको कथा, निर्देशन र छायांकन रहेको यस चलचित्रमा श्याम राई, कल्याण राई, प्रवीण पुमा, दछु राई, ज्योति राई, निर्भिक राई, विष्मिता राई, सञ्जु राई, जाइका राई, प्रवीण राई, जनक राई, वीरकुमार राईलगायत दर्जनाँै कलकारहरूका जीवन्त अभिनय रहेको छ ।
प्रवीण पुमाको पटकथा एवं क्रिएटिभ राइटिङ, डिक वान्तावाको संवाद र किरणराज थापाको सम्पादन रहेको यस चलचित्रमा जनक राईको नृत्य निर्देशन, डक्टर किरात र पदम राईको संगीत, भूपाल राई र चन्द्र रानोहँछाको गीत समावेश रहेको छ ।
प्रतिक्रिया