बाढीपीडितको जंगलमै बास

कञ्चनपुर, ६ असोज । बाढीपीडितका लागि पुनःस्थापनाको कार्य नहुँदा १ दशकदेखि कञ्चनपुरको शंकरपुरका बाढीपीडित परिवार जंगलमै बस्न बाध्य भएका छन् । स्थानीय दोदा नदीको बाढीले ०६५ सालदेखि हालसम्म गरी शंकपुरका १ सय ६३ परिवारको २ सय ५० बिघा दर्ता जग्गा बगाई पूर्णरूपमा विस्थापित बनाई जंगलमा छाप्रो बनाएर बस्न बाध्य पारेको हो ।

स्थानीयवासीका अनुसार दोदा नदीले ०६५ सालमा शंकरपुर गाविसको ७ नम्बर वडा नै बगाएको थियो । दोदा नदीले घरजग्गा बगाएपछि विस्थापित परिवार शोभातालको डाँडामा बस्दै आएका छन् । १ दशकदेखि जंगलमा बस्दै आए पनि पुनःस्थापनका लागि कुनै निकायले चासो नदिँदा कष्ट सहेर बस्नु परेको विश्राम रानाले बताए । ‘दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएका बाढीपीडित परिवारका बालबालिका आर्थिक अभावले विद्यालय जानसमेत सकेका छैनन्,’ उनले भने । आर्थिक रूपमा सम्पन्न भएका बसाइँ सरेर अन्यत्र गए आर्थिक रूपमा विपन्न परिवार जंगलमै बस्दै आएको उनले बताए । नदीले बायाँबाट दायाँतिर धार परिवर्तन गर्दै जाँदा उक्त जग्गमा बालुवाले पुर्दा काम नलाग्ने भएको शंकरपुर–८ का बालकृष्ण डगौराले बताए । यसवर्ष मात्रै ४ दिनको दोदा नदीमा आएको बाढीले शंकरपुर–७ र ८ का स्थानीय बासिन्दाको २ बिघा १० कट्ठा जमिन बगाएको गाविसका सचिव सुरेन्द्र चन्दले बताए ।

जग्गा कटानी र बस्ती जोगाउनका लागि तटबन्ध निर्माणको कार्यलाई निरन्तर रूपमा अगाडि बढाउनु जरुरी रहेको उनको भनाइ छ । यहाँका स्थानीयवासीले स्थायी प्रकृतिको तटबन्ध निर्माणको कार्यलाई यथाशीघ्र अगाडि बढाइनुपर्ने माग गरेका छन् । ‘दोदाबाट शंकरपुर–८ र ९ उच्च जोखिममा छन्’, काशिराम जोशीले भने, ‘जनताको तटबन्ध कार्यालयले १४ करोड रूपैयाँको लागतमा दोदा नदीमा २ हजार ६ सय ५५ मिटर तटबन्ध बनाएको छ, यसलाई अझै सबै क्षेत्रमा विस्तार गरिनुपर्छ ।’

कञ्चनपुरका ८ गाविस कृष्णपुर, देखतभुली, शंकरपुर, श्रीपुर, वाइसेविचवा, कालिका, त्रिभुवनबस्ती तथा परासनमा दोदा नदीले बर्सेनि क्षति पु¥याउँदै आएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाभरिमा ३ सय ५० भन्दा बढी पीडित रहेका छन् ।

प्रतिक्रिया