काठमाडौं, ८ जेठ । चलचित्र विकास बोर्डले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा आउँदो १६ असारमा गर्न लागेको अवार्ड वितरण समारोहमा राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउने भएको छ । राष्ट्रपति भवनमा शीतल निवासमा हुने कार्यक्रममा राष्ट्रिय चलचित्र पुरस्कारहरू प्रदान गरिने आयोजकले जनाएको हो ।
उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट चलचित्रकर्मी र चलचित्रलाई पुरस्कार प्रदान गर्ने भएकी छन् । बोर्डले १६ असारलाई आफ्नो स्थापना दिवस मान्दै आएको छ । त्यस्तै बोर्डले चलचित्र ‘पशुपति प्रसाद’ र ‘छाँया’लाई ०७२ सालको विषेश चलचित्र घोषणा गरेको छ । दीपेन्द्र के खनाल निर्देशित ‘पशुपति प्रसाद’ र मनोज पण्डित निर्देशित ‘छायाँ’ले सबटाइटल गरे वापत २ लाख रूपैयाँ बोर्डबाट पाउने भएका छन् । ०७२, वैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शन भएका मध्ये उत्कृष्ट ठहरिएका यी चलचित्रलाई विषेश घोषणा गरिएको बोर्डले जनाएको छ । त्यस्तै बोर्डले स्नातक तहमा चलचित्रसम्बन्धी अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ ।
दक्ष प्राविधिक तथा चलचित्रकर्मीको कमी भएको भन्दै बोर्डले ०६१ सालदेखि चलचित्रसम्बन्धी विभिन्न विषयहरूमा स्नातक तहमा अध्यापन गराउने ओस्कार इन्टरनेसनल कलेज अफ फिल्म स्टडिज अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ । बोर्डबाट नियमित रूपमा प्रकाशन हुँदै आइएको ‘चलचित्र मञ्च’ नामक पुस्तकसमेत सार्वजनिक गरेको छ ।
प्रतिक्रिया