काबुल, ६ जेठ । अफगानिस्तानभरी अफगान सैनिक र प्रहरीले बुधबार बिहानबाट तालिवान आतंककारीविरुद्ध सुरु गरिएको कारबाहीको क्रममा ९१ जना तालिवान लडाकु मारिएका छन् । गत २४ घन्टाभित्र गरिएको कारबाहीको क्रममा ती आतंककारी मारिनुको साथै अन्य ७० जना घाइते भएका र २२ जना पक्राउ परेका अफगानिस्तानको गृहमन्त्रालद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाएको छ ।
लुकेर बसेका तालिवान लडाकुलाई लक्ष्यगरी बुधबार र बिहीबार गरिएको कारबाहीमा ती तालिवान मारिएका घाइते भएका र पक्राउ परेका हुन् । अफगान सुरक्षाबलले अफगानिस्तानको कुनार, नान्गार्हार, लाघमान, वार्दाक गजनी, कान्दाहार, उरुज्गान, हेरात, बाघलान, बाल्ख जावजान, समानगन, कुन्दुज, तखार र हेलमान्ड प्रान्तमा कारबाही जारी राखेको सो विज्ञप्तिमा जनाइएको छ ।
यस कारबाहीको तालिवान लडाकु समूहले भने कुनै टिप्पणी गरेका छ्रैनन् । यस कारबाहीको क्रममा ५ सैनिकले समेत ज्यान गुमाएका पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ । अफगानिस्तानका विभिन्न भूभागमा पछिल्लो समयमा संयुक्त सुरक्षा बलले यस्तो कारबाही जारी राखेका छन् । जारी कारबाहीमा परी दिनहुँजसो तालिवान मारिने गरेका छन् ।
प्रतिक्रिया