सगरमाथा चुचुरोमा डेढसय बढी आरोही

everestकाठमाडौं, ६ जेठ । सगरमाथा आरोहण प्रारम्भ भएको नवौँ दिन बिहिबार मात्रै १ सय ५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । संयुक्त अरब इमिरेट (युएई) को सैनिक टोलीसहित एक दिनमै १ सय ५० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनले आरोहीको भीडले कुन देशका कति आरोही चुचुरोमा पुगे भन्ने यकिन विवरण आइ नसकेको जानकारी दिएका छन् । अझै धेरै सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने क्रममा रहेको उनको भनाइ रहेको छ । प्रतिकूल मौसम भएपछि यसअघि मङ्गलबार र बुधबार गरी दुईदिन कुनै आरोहण हुन सकेको थिएन । सगरमाथाको चुचुरो नजिक हावा चलेका कारण दुई दिन आरोहण रोकिएको थियो ।

वसन्त ऋतुको यो मौसममा गत वैशाख २९ गते बुधबारदेखि आरोहण सुरु भएको थियो । सगरमाथा आरोहणको छ दिनअर्थात् जेठ ३ गतेसम्म ८८ जना स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणका लागि गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन् ।

प्रतिक्रिया