कम्युनिस्ट आन्दोलन र पार्टी निर्माण

lochan kcप्रारम्भ :
कम्युनिस्ट आन्दोलनको कुरा गर्दा यसलाई एउटा सामान्य राजनीतिक घेरामा मात्र राखेर हेर्नु कदापी उचित हँुदैन । कम्युनिस्ट आन्दोलन भनेको बुर्जुवा राजनीति जस्तो आवधिक निर्वाचनहरू गर्ने, सरकार गठन गर्ने र त्यही सिलसिलालाई दोह¥याइ राख्ने जस्तो मात्र पनि होइन । कम्युनिस्ट आन्दोलन भनेको मानवद्वारा मानवमाथि हुने सबैखाले शोषण, दमन र उत्पीडनलाई अन्त्य गर्नका लागि आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको आन्दोलनलाई निरन्तर अगाडि बढाउने अभियान हो । त्यसैले कम्युनिस्ट आन्दोलनको गर्भमा नै कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्दै, समाजवाद र साम्यवादसम्म मानव समाजलाई पु¥याउने निर्दिष्ट लक्ष्य रहेको हुन्छ । यसर्थ, कम्युनिस्ट आन्दोलन समाज परिवर्तनका लागि गरिने एउटा लामो अभियान हो ।

यसक्रममा कयौँ उतारचढावकासाथै क्रान्ति र प्रतिक्रान्तिका परिघटनाहरू हुनु स्वभाविक हुन्छ । कम्युनिस्ट आन्दोलनको सुरूआत भएदेखि नै खास गरेर कम्युनिस्ट घोषणा–पत्र जारी भएदेखि यता डेढ शताब्दीको इतिहासले त्यो कुरालाई देखाएको छ । त्यो कुरो विश्व कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलनबाट समेत पुष्टि भएको छ । सारांशमा भन्नुपर्दा वर्तमान अवस्थामा विश्व कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलन उत्साहजनक अवस्थाबाट गज्रिरहेको छैन । यसलेखमा विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलन व्यापक ऐतिहासिक विवेचना नगरी नेपाली कम्युनिस्ट आन्दोलनको उठान र क्रान्तिकारी पार्टी निर्माणको विषयमा केन्द्रित भएर बहस तथा छलफल अगाडि बढाउन खोजिएको छ ।

समस्याहरू :
(क) वैचारिक विचलन :
कम्युनिस्ट आन्दोलन भनेको दार्शन, सिद्धान्ति र विचारधारात्मक आन्दोलन पनि हो । वैचारिक विचलनको समस्या नेपालको कम्युनिस्ट आन्दोलन भित्र मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा नै व्यापक रूपमा देखिएको छ । कम्युनिस्ट आन्दोलन र पार्टीलाई गलत दिशामा लैजानको लागि सबैभन्दा ठूलो भूमिका दक्षिणपन्थी संशोधनवादीधार र उग्रवामपन्थीधारले खेलेको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा ०२८ सालमा ‘वर्गशत्रु खत्तम’ पार्ने भन्दै एउटा समूहले सशस्त्र संघर्षको नाममा व्यक्ति हत्याको कारबाही चलाएर ‘उग्रवामपन्थी’ भड्काउमा फस्न पुगेको थियो भने, ०५२ सालमा त्यसैको पेरिफेरीमा अर्को सशस्त्र संघर्षको घोषणा गर्दै एउटा समूह त्यहीबाटोमा लाग्योे ।

उग्रवामपन्थी भड्काउमा फसेकाहरू अन्ततः दक्षिणपन्थी अवसरवादमा पुग्ने खतरा हुन्छ र त्यसप्रकारको पतनमा पुग्नबाट रोक्ने प्रयत्न गर्नु हरेक कम्युनिस्ट क्रान्तिकारीहरूको दायित्व बन्दछ । दक्षिणपन्थी अवसरवादमा ढल्किँदै गएका तिनै कम्युनिस्ट पार्टीहरू अहिले ‘ठूला’ कम्युनिस्ट पार्टीको रूपमा देखिएका छन् र तिनैले देशको सरकारको नेतृत्वसमेत गर्न पुगेका छन । तिनीहरूको कार्यहेर्दा सुधारभन्दा पनि भ्रष्टचारजन्य गतिविधिका कारणले समग्र कम्युनिस्ट आन्दोलन र नेपालका कम्युनिस्ट पार्टीलाई क्षति पु¥याएको छ र तिनीहरूको त्यसप्रकारको उपभोक्तावादी चरित्रबाट कम्युनिस्ट आन्दोलन बदनामसमेत बन्न पुगेको छ । यसर्थ, त्यसप्रकारको तत्व क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको उठान र क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण लागि समेत बाधक भएकाले तिनिहरूभित्र रहेका त्यस्ता प्रवृतिप्रति निर्मम र कठोर ढंगले प्रहार गरेर परास्त गर्न एकदमै जरुरी छ ।

(ख) टुटफुट र विभाजन :
विश्व कम्युनिस्ट आन्दोलन भन्दा करिब एक शताब्दीपछि मात्र सुरु भएको नेपाली कम्युनिस्ट आन्दोलनको उठान, गठन र इतिहासको सन्दर्भलाई हेर्दा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको पनि आज करिव ६ दशकभन्दा बढी भइसकेको छ । ०६ सालमा गठन भएको कम्युनिस्ट पार्टी तेस्रो महाधिवशन (२०१९) सम्म एकजुट भएर रहन सक्यो । तेस्रो महाधिवशनसँगै पार्टीमा टुटफुट र विभाजन हुने क्रम सुरु भयो र आजपरान्त जारी नै रहेको अवस्था छ । त्यसको नविनतम उदाहरणको रूपमा हालै नेकपा (क्रान्तिकारी माओवादी) मा रोपिएको फुटजन्य घटनालाई लिन सकिन्छ । यहाँसम्म आइपुग्दा कम्युनिस्ट पार्टी नामाकरण गरेका र पार्टीको नाम कम्युनिस्ट पार्टी नराखे पनि कम्युनिस्ट भन्न चाहने पार्टीको संख्या दुई दर्जनको हाराहारीमा पुग्न थालेको छ । विगतमा कम्युनिस्ट आन्दोलन र पार्टीहरूलाई एकता र ध्रुवीकरणको सूत्रमा बाँध्ने प्रयत्न र कार्यहरू पनि भएको देखिन्छ । तर, त्यसबाट अपेक्षित सफलता र सकारात्मक परिणाम निस्कन नसकेको प्रष्ट छ ।

(ग) वर्गसमन्वयकारी प्रवृत्ति :
मानव समाज अन्तरविरोधयुक्त वर्गहरूमा विभाजित भएर रहेको छ । एकातिर शोषक र प्रतिक्रियावादी वर्ग छ भने अर्कोतिर शोषित र उत्पीडित वर्ग छ । त्यसैले मानव समाजमा वर्ग विरोध र वर्गसंघर्षको अवस्था कायम रहेको छ । कम्युनिस्ट आन्दोलन र पार्टीले वर्गसंघर्षको सिद्धान्तलाई अंगीकार गरेर शोषित, उत्पीडित वर्गको हित र मुक्तिका पक्षमा नेतृत्वदायी भूमिका खेल्दै, आन्दोलन र संघर्षलाई अगाडि बढाउनु पर्दछ । तर, नेपालमा आपूmलाई कम्युनिस्ट र वामपन्थी पार्टी बताउने र दाबी गर्नेहरूले वर्गविरोध र वर्गसंघर्षको सिद्धान्त र नीतिलाई तिलाञ्जली दिँदै, वर्गसमन्वयको बाटो अपनाइरहेका छन् । त्यस मामलामा सबैभन्दा अग्रस्थान एमालेले ओगट्छ । त्यस्तै अन्य पार्टीहरूको नाम लिनुपर्दा नेकपा (मसाल) तथा राष्ट्रिय जनमोर्चा, नेकपा (माले) र नेकपा (संयुक्त) लगायत रहेका छन् ।

(घ) नैतिक र सांस्कृतिक स्खलन :
आज कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीहरूमा सांस्कृतिक र नैतिक स्खलन पनि गम्भीररूपमा देखापरेको छ । कम्युनिस्टहरू धार्मिक दृष्टिकोणले नास्तिक हुन् । उनीहरूले कुनै धर्म र धार्मिक परम्परालाई मान्दैनन् । माक्र्सको भनाइमा धर्म अफिम (ाबलतबअथ) हो । तर, नेपालमा कम्युनिस्टहरू खास गरेर सरकारमा पुगेकाहरूले माक्र्सवादी धारणाको खिल्ली उडाउने गरेका छन् । त्यसको उदाहरणका रूपमा कम्युनिस्ट प्रधानमन्त्री भएपछि गरेका ‘बोको काटेर बली’ चढाउनु, ‘भैँसी पूजा’ गर्नु र ‘चौरासी पूजा’ गर्नु जस्ता दृष्टान्तहरूलाई लिन सकिन्छ ।

(ङ) आर्थिक–सामाजिक अवस्थाको विश्लेषण :
अहिले आएर कम्युनिस्ट आन्दोलनभित्र देशको आर्थिक–सामाजिक अवस्थालाई हेर्ने र विश्लेषण गर्ने विषयमा पनि निकै भिन्नताहरू देखापरेका छन् । त्यस सन्दर्भमा खास गरेर एमाले, एमाओवादी र नेमकिपाले नेपाल पुँजीवादी अवस्थामा प्रवेश गरिसकेको भन्ने विषय महत्वपूर्ण ढंगले उठाएका छन् । त्यसप्रकारको विश्लेषणलाई सही मान्न सक्ने हाम्रो आर्थिक, सामाजिक अवस्था देखिँदैन । अहिले पनि नेपाली समाज अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्थामा नै रहेको छ । तर, राजतन्त्रको अन्त्यपछि सामन्तवाद पृष्ठभूमिमा धकेलिएको र पहिलेको अवस्थामा केही भने केही परिवर्तन अवश्य आएको छ ।

क्रान्तिकारी पार्टी निर्माणको आवश्यकताः
नेपालको कम्युनिस्ट आन्दोलनको यसप्रकारको अवस्था र कम्युनिस्ट पार्टीहरूको वर्तमान स्थितिलाई हेर्दा सकारात्मकभन्दा नकारात्मक र उत्साहजनकभन्दा निराशाजनक अवस्था देखिन्छ । सोहीकारण सहीढंगले कम्युनिस्ट आन्दोलनको उठान र क्रान्तिकारी कम्युनिस्ट पार्टी गठनको विषय टड्कारो आवश्यकता भएर आएको छ । त्यसका लागि हरेक कम्युनिस्ट क्रान्तिकारीहरूले गम्भीर ढंगले विचार–विमर्श र छलफल चलाउनुपर्ने अवस्था आएको छ । यस विषयमा कम्युनिस्ट आन्दोलनमा लागेका र कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेका व्यक्तिहरूले अझ गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ ।

दिगो एकता र ध्रुवीकरणको निम्ति सार्थक प्रयत्नः
विगतका दिनमा पनि विभिन्न समयमा विभिन्न पार्टी र पक्षहरूका बीचमा पार्टी एकता र ध्रुवीकरणको प्रयत्न हुँदै आएका छन् र एकता हुने काम पनि भइरहेका छन । तर, ती प्रयत्नहरू र भएका एकता पनि दिगो रहन सकेका छैनन् र कालान्तरमा फुट र विभाजन भएका छन् । आज इतिहासको एउटा महत्वपूर्ण परिघटनाले नेपालका सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूलाई परिक्षणको कठघरामा उभ्याएको छ । तसर्थ अब सच्चा कम्युनिस्ट क्रान्तिकारीहरू सबैले यो कठिन र महत्वपूर्ण समयावस्थालाई बुझेर एउटा सही निर्णय गर्नुपर्ने अवस्था आएको छ । सच्चा कम्युनिस्ट क्रन्तिकारीहरूले समयको माग र घट्किदो स्थितिलाई बेलैमा बुझेर मात्रै उग्रवापन्थी र दक्षिणपन्थी अवसरवादमा पतन हुन खोजिरहेका संसदीय सुधारवादी मोर्चामा केन्द्रीत दल र त्यसमा रहेका क्रन्तिकारीहरूलाई रोक्दै सही दिशा प्रदान गर्न सकिन्छ । र सक्नु पर्दछ ।

यसर्थ, अब नेपालमा सशक्त कम्युनिस्ट आन्दोलनको उठान र सच्चा क्रान्तिकारी पार्टी निर्माण गर्नका लागि विगतमा भएका भन्दा उच्चढंगले, वैचारिक–राजनीतिक र संगठनात्मक पाटोमा समेत नयाँ किसिमबाट सश्लेषण गर्दै कम्युनिस्ट क्रान्तिकारीहरूबीचको एकता र ध्रुवीकरणको प्रक्रियालाई पुनः व्यवस्थित एवं विधिसम्मत तरिकाबाट निरन्तर अगाडि बढाउनु पर्दछ । क्रान्तिकारी नीति एवं कार्यक्रमलाई आत्मसात र कार्यान्वयन गर्ने विषयलाई केन्द्रबिन्दुमा राखेर विभिन्न पार्टी तथा समूहहरूमा छरिएर रहेका सच्चा र इमानदार क्रान्तिकारी व्यक्ति एवं व्यक्तित्वहरूलाई समेत समेटेर लैजानु पर्दछ ।

प्रतिक्रिया