नेपाल–भारत सम्बन्ध र हामी

Mohan Prasad Sapkotaकेही समय पढ्न पनि खर्च गरौँ, मन नपरे धक फुकाएर गाली गरौँ, गल्ती भए औँल्याऔँ, भ्रम नपालौँ । भारतले अति गरेको छ भन्दैमा चीनको समर्थन र चाप्लुसी किमार्थ राष्ट्रवाद हुन सक्दैन । हामीलाई आफ्नो खुट्टामा उभिन जसले पिटीपिटी सिकाउँछ त्यो नै आफ्नो हुन्छ ।

बदचलन पत्नीका माइतीहरू ज्वाइँलाई जहिले पनि आफ्नो छोरी सतीसावित्री भएकै कुरा गर्ने गर्दछन् । यथार्थ पचाउँदैनन् । छोरीचेलीको माया र आफ्नो इज्जतले सत्य कुरा स्वीकार गर्न रोकेको हुन्छ । जारहरू पनि आफूले भोग गरिरहेकी अर्काकी पत्नीलाई सीता बताउँछन् र आफ्नो कुकृत्य लुकाउँछन् । यिनलाई भोली पाल्नुपर्ने डर हुन्छ । इज्जतको डर हुन्छ । परिवार सन्तानको कुकृत्य लुकाउँछ ।

भारत औपनिवेशिक रगतबाट माथि उठ्नै सकेन । उसको देशलाई चाहिने रगत हामीले दिइरह्यौँ उसले यसलाई नैसर्गिक अधिकार बनाइरह्यो । बेलायती औपनिवेशकालीन सोचभन्दा एक इन्च पनि उसमा सुधार आएन । ऊ र उसका मतियारले हामीलाई यतिसम्म गरिब बनाइरहने गरे ता कि हामी तिनको गुलामीलाई हाम्रो आयश्रोत बनाइरहन सकौँ । भारतीय, बेलायती वा अन्य कतैको सैनिकमा नेपालीलाई भर्ना गर्ने क्रमको निरन्तरता यसको कडी हो ।

राजनीतिको तीव्र परिवर्तनले भोलिका दिनमा शरणार्थी समस्या आउन सक्दछ । भारतले भुटानबाट नेपाली मूलका भुटानीलाई खेदेर नेपालमा ल्याएर फालेको हामीले बिर्सन हुन्न । स्वार्थका कारण बिस्तारै अत्यन्त ठूलो भीडन्तको संकेत देखिन थालेको छ । आँधी आउने लक्षण बढिरहेको छ । चीनले भारतको सीमामा सैनिक बढाएको छ, अमेरिकाले चिन्ता जनाइसकेको छ । भारतीय संसद्मा नेपालको सीमानामा काँडे तार लगाउन माग उठ्न थालिसकेको छ ।

भारतले नै सीमानालाई व्यवस्थित गरे सुनमा सुगन्ध हुने थियो । ससुराली वा माइत जानेहरू वा पुण्य कमाउन जानेहरू ढोकाबाटै ओहोरदोहोर गर्न पाउने थिए । जस्केलाबाट छिर्ने प्रचलन बन्द हुने थियो । जस्केलाबाट छिर्न नपाउँदा ससुरा रिसाउने, माइती रिसाउने वा धर्म नहुने भन्ने त हुँदैन होला । तर, भारतको उद्देश्य त्यो हुँदै होइन । नेपालको राजनीतिलाई कब्जा गरेर उसको देशलाई चाहिने प्राकृतिक सम्पदाको दोहन गर्नु नै हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्तरी ध्रुवको एउटा भालुलाई ल्याएर घुमाए पनि भारतले नेपालमाथि गरेको थिचोमिचो देखेर मुन्टो बटार्छ । यहाँ हाम्रो आफ्नै राजनीति भने यसैलाई देशभक्ति भन्ने गर्दछ ।

अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई लत्याएर नेपालको सिमाना नजिक भारतले नेपालबाट बहने तीनवटा नदीलाई जोड्ने मनशायले सडक बनाए जसरी बाँध बाँधिरहेको छ । नेपाली जमिन डुबाइरहेको छ । त्यहाँका न्यायाधीश बर्दीसहितको प्रहरी लिएर काठमाडौं छिरिरहेछन् । नेपालका भित्रभित्रसम्म हतियारसहित भारतीय प्रहरी पुग्छन् र समाउँदा नियम थाहा नभएको प्रतिक्रिया दिइन्छ । राजधानीको मुटु बानेश्वरमा आएर भारतीय प्रहरीले कसैलाई समाएर लैजान्छ । डलर खाएर आइसीलाई बलियो बनाउनेहरू सर्वोच्चमा मुद्दा हालेर मानवअधिकार बेचिरहेका छन् । विभिन्न विदेशी एजेन्टहरूका, नेपाली राजनीतिलाई फुटाएर चीनविरोधी र धर्मविरोधी गतिविधि चलाउने संगठनहरू टोलटोलमा खुलिरहेका छन् । यहाँको राजनीति र प्रशासन यन्त्रहरू अनि विकासे संस्थाहरू विदेशीका एजेन्ट भएर कहिले जातीय, कहिले भौगोलिक त कहिले धार्मिक मुद्दा छिनोफानो गर्ने न्यायाधीश बनिरहेका छन् ।

हाम्रालागि भारत निश्चय नै विश्वमा कतै नभएको सम्बन्धसहितको छिमेकी हो । तर, उसले यो सम्बन्धलाई १७औँ शताब्दीतिरको जसरी नै कायम गराउन चाहिरह्यो । म नभए नेपाली बाँच्नै सक्दैनन्, गोडा ढोग्न आउँछन् अझै यस्तै भन्ठान्दै छ । त्यहाँका केही नेताको प्रतिक्रिया हेर्दा पनि त्यही देखिन्छ । नेपाललाई सबक सिकाउने कुरा गरिरहेछन् । भारतले नेपाललाई स्वतन्त्र, सार्वभौमिक र सामरिक दृष्टिले अत्यन्त समवेदनशील क्षेत्र मानिरहेकै छैन । यो नीति कायम राखिराखे उसलाई ‘आफ्नो खुट्टोमा आपैmँले बन्चरोले हान्नु’ नै हुनेछ । बेलैमा नयाँ ढंगले सोचियोस् । भारत यस्ता नीतिले कहिल्यै क्षेत्रीय शक्ति बनिरहन सक्दैन ।

निश्चय नै नेपाल कुनै पनि दृष्टिले भारत वा चीन दुबै छिमेकीसँग दुश्मनी गर्न सक्षम छैन । हाम्रो सरोकार, हामीलाई निष्फिक्री र स्वतन्त्र भएर गरेर खान दिइयोस् भन्ने मात्र हो । तीनतिर भारत र एकातिर चीन छ, हामीलाई कसैले केही गर्न सक्दैनन् भनेर ढुक्क हुन पाइयोस्, यति भए पुग्छ । धमिराले सल्लाको रुख खाएजसरी हामीलाई नखाउन् भन्ने नै हो । तर, दुर्भाग्य हामीले न दशगजा खुम्चिनबाट जोगाउन सकिरहेको छौँ न लिपुलेक गुम्नबाट ।

एउटा सानो भुसुनाले पनि हात्तीको शान्तिलाई खलबल्याइरहेको हुन्छ । अरिंगालले टोकेर विशालकाय जीव मरिरहेको हुन्छ । नेपालमा भएका प्राकृतिक सम्पदा नेपालले उपभोग गरेर बढी हुन्छ र त्यसलाई भारतले उपभोग गर्न सक्छ । लुटेर, ढाँटेर, फुटाएर, फकाएर र नागरिक हुलेर वा नेपालीको अस्तित्व नै सकाउने गरी गुरुयोजना बनाएर बलपूर्वक यसो गर्न खोज्नु महाभूल हुनेछ । नेपालमा प्रभूत्व जमाएर चीन हान्ने शर्तलाई स्वीकार गर्दै भारतले कसैको दबाबमा जुन विकास गरिरहेको छ, त्यसले भारतको अस्मितालाई नै कालान्तरमा धरापमा पार्नेछ । नेपालको चिन्ता हामी आफैँ गरौँला । सके जोगाउँला, नसके इतिहास बन्ला । करिब ११ सय किलोमिटर सिमाना शान्त रहन नदिनु भारत र चीन दुबैका लागि भोलिका दिन भालुको कम्पट हुनेछ । यसक्षेत्रकै लागि अत्यन्त दुःखदायक विभिषिकाको श्रीगणेश हुनेछ । नेपाली अन्तिमसमयसम्म लड्छन्, अरूका लागि लडिरहेकै मरिरहेकै हुन्, आफ्नो देशका लागि पनि लड्छन्, मर्छन् । तर, हाम्रो कारणले यस क्षेत्रमा अशान्ति ननिम्त्याइयोस् । यस क्षेत्रको जनसंख्या विकरालरूपमा घटाउन नखोजियोस् ।

नेपालका राजनीतिक दल यहाँको युवापुस्तालाई विदेशमा खेद्न विदेशीलाई देशभित्र ओसार्नमै व्यस्त रह्यो । राणाशासन बेलायतको गुलाम थियो, प्रजातन्त्रका ठेकेदार भनाउँदाहरू भारत नजन्मँदैदेखि भारतका गुलाम हुँदै आए । त्यसैले भारतबन्दा नेपाली शासकको स्वार्थ घुलेर बेलायती खटनपटनमा नेपालको सीमाना मिलाइयो । यहाँका शासकहरूले सत्ता जोगाउन कहिले कुन त कहिले कुन देशको पृष्ठपोषण गरिरहे । बेलायतले एकीकरण गरिदिएको भारत नेपालीले एकीकरण गरेको नेपाललाई मुठ्ठीमा राखेर हल्लाउनुमै आनन्द मान्न थाल्यो । जनता सचेत भए सत्ता टिक्दैन भन्ने बुझी राणा, पञ्चायत, कांग्रेस र कम्युनिस्टहरूले जनतामा चेतना फैलन नै दिएनन् । किनकि, सचेत जनताको जग बलियो हुँदा भ्रष्ट राजनीतिको अन्त हुने निश्चित थियो ।

क्षमताभन्दा बढीको भारी स्वेच्छाले बोक्नेलाई मूर्ख भनिन्छ । अहिलेको राजनीतिक परिवर्तन स्वेच्छाले बोकिएको हो भनेर पत्याउन सकिन्न । बढी पैसा पाइने लोभमा बढी वजनको भारी बोकेर राजनीति हिँडेको घाम जत्तिकै प्रष्ट भइसकेको छ । हाम्रो राजनीतिमा भरियाहरू बढी भएको कुरा अब कसैले लुकाएर लुक्दैन । आफैँले बोकेको भारी भए त्यसलाई गन्तव्यसम्म पु¥याउने सोच हुन्थ्यो । बाटामा चाहिने सामलतुमलको जोहो हुन्थ्यो । जुकाले टोके, लडे के गर्ने भनेर प्राथमिक उपचारका लागि उपायहरू सँगै बोकिएका हुन्थे । बाघले झम्टे के गर्ने ? सर्पले टोक्न आए के गर्ने ? आदि सबै सोचिएको हुन्थ्यो । तर, भरियाका लागि भनेर भारी बोकाउने साहुले यी कुरा सोच्दो रहेनछ । त्यसैले अहिलेको नयाँ संविधानका भरियाहरू भारी फालेर पलायन हुन सुरु भइसकेको छ ।

विभिन्न उद्देश्यका लागि पहिले नै बैना मारिसकेका हुन्छन् अनि अनापसनाप बक्दै हिँड्छन् । बामदेव कुनै दिन पासपोर्टको अन एराइभल भिसाका विषयमा नेपालीले गर्नै सक्दैन भन्दै थिए, देउवा र निधि अहिले बाटो बनाउन नेपालीले सक्दै सक्दैनन् भन्दैछन् । यस्ता अभिव्यक्ति आइरहँदा हामी नेपाली भने विभाजित भएर पक्ष र विपक्षमा वकालत गरिरहेका हुन्छौँ । हाम्रा नेता हाम्रो भलोका लागि राजनीति गरिरहेका छन् कि अरू कसैका लागि भनेर सोच्न पनि चाहदैनौँ । विकासका सबै पक्ष, जति नेपालीले सक्छन् गर्दछन्, जति सक्दैनन् त्यो मात्र विदेशीलाई दिए के फरक पर्दछ ? काम गर्न नै नदिने अनि सक्दैन भन्ने । किन पढाउनु नेपालीलाई ? फेरि गृहयुद्धतिर धकेले भै गो नि ?

प्रतिक्रिया