दाइजोमा खेत नपाउँदा बिहे भाँडियो

biheवीरगञ्ज, ३ जेठ । दाइजोमा नम्बरी खेत नपाउँदा पर्सामा वैवाहिक कार्यक्रम नै रोकिएको छ । पर्साको लखनपुर–४ का मथुरा साहकी छोरी सुनिता साह र पर्साकै महुवन–३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग १७ वैशाखमा तय भएको विवाह रोकिएको हो । विवाहमा आउने जन्तीको स्वागत र व्यवस्थापनका लागि बेहुलीका बुबा मथुराले सबै तयारी पूरा गरिसकेको भए पनि बेहुला पक्षले जन्ती लिएर नआएपछि विवाह भाँडिएको हो । विवाहमा जन्तीलाई खुवाउनका लागि बेहुलीको घरमा खानाका विभिन्न परिकार खेर गएको छ ।

बेहुली पक्षले बेहुला पक्षलाई दाइजोमा नगद ५० हजार रुपैयाँ र नम्बरी ३ कठ्ठा जग्गा दिने शर्तमा सुनिता र हरिशंकरको बिहे १७ वैशाखमा हुने तय भएको थियो । दाइजोमा कबुल गरिएको अनुसार बेहुली सुनिताका बुबा मथुराले बेहुला हरिशंकरका बुबा गणेशलाई नगद ५० हजार रुपैयाँ विवाह तय गरिएको मितिभन्दा १ हप्ता पहिले नै बुझाइसकेका थिए । तर, नम्बरी जग्गा (खेत) बैंकमा धितो राखिएका कारण मथुराले आफनो नाममा मोही रहेको ५ कठ्ठा १० धुर जग्गा दाइजोमा दिने प्रस्ताव राखेपछि बेहुला पक्षले अस्वीकार गरेको थियो ।

यति मात्रै होइन बेहुला पक्षले त्यही निहुमा उनले १ वैशाखमा बेहुलीको घरमा लैजानु पर्ने बिहेको सगुन पनि लिएर गएनन् । बेहुलाको घरबाट सगुन नआएपछि चिन्तित भएका बेहुलीका बुबा मथुराले १५ वैशाखमा जिल्ला मालपोतमा कार्यालयमा गएर मोहीको ५ कठ्ठा १० धुर जग्गा छोरी सुनिताको नाममा गरिदिए । छोरीको नाममा गरिएको मोहीको जग्गाको कागजातसहित मथुराले १६ वैशाखमा आप्mना १ जना आफन्तलाई बेहुलाको घरमा पठाए । तर, बेहुलाका बुबा गणेशले उल्टै बेहुली पक्षकालाई हप्काएर फिर्ता पठाइदिए ।

यता, १७ वैशाखमा जन्ती आउने आशमा बसेका बेहुलीका बुबा राती अबेरसम्म पनि बेहुलाको जन्ती नआएपछि निराश भएका छन् । उनले भने, ‘जन्ती आउँछ भनेर म ढुक्क थिए, जन्तीको स्वागतका लागि सबै तामझाम गरेका थियौँ तर जग्गाकै निहुँ बनाएर केटा पक्षले जन्ती ल्याएन, मेरो छोरीको भविष्यसँग खेलवाड गरे ।’ छोरीको विवाह भाँडिएपछि मथुराले दाइजोमा दिएको नगद फिर्ता र बिहेको तयारीमा खर्चको क्षतिपूर्ति उपलब्ध गराइदिन माग गर्दै २० वैशाखमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिए । मथुराको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयामा आइतबार प्रहरीको रोहबरमा पञ्चायती (सर्वपक्षीय बैठक) बस्यो । पञ्चायतीमा दाइजो नपाएको निहुँमा विवाह भाँडने बेहुला पक्षलाई कानुनी कारबाही गर्नुको सट्टा गाउँका भद्रभलादमी र अगुवाहरूले पीडित बेहुली पक्षलाई दबाब दिएर मिलापत्र गर्न लगाए ।

पञ्चायतीमा दाइजो वापत बेहुलाका बुबा गणेशले लिएको ५० हजार रुपैयाँ नगद बेहुलीका बुबा मथुरालाइ फिर्ता दिने सहमति भएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चक्रबहादुर शाहले बताए । पञ्चायतीमा दुवै पक्षले मिलापत्र गर्छौं भनेपछि प्रहरीले कार्बाही प्रक्रिया अगाडि बढाएन, उनले भने, ‘गाउँसमाजले गरेको निर्णयको विरोधमा जाँदा प्रहरीलाई नै अप्ठयारो पर्ने भएकाले हामीले हस्तक्षेप गरेनौँ ।’

पन्चायतीले गरेको निर्णयप्रति पीडित बेहुलीका बुबा मथुरा भने सन्तुष्ट नभएको पञ्चायतीमा सहभागी पोखरीयाका अगुवा धर्मेन्द्र चौरसियाले बताए । उनले भने, ‘ठूलाबडाको दबाब र करकापमा परेर बेहुलीका बुबाले सहमति जनाएका हुन् । दाइजोमा दिएको नगद र जन्तीको स्वागतका लागि गरिएको तयारीमा गरी २ लाख रुपैयाँभन्दा बढी खर्च भएको बेहुलीका बुबा मथुराको भनाइ छ । उनले भने, ‘२ लाखभन्दा बढी खर्च भएको छ, यसले मेरो धन र धर्म दुवै खोसियो ।’

प्रतिक्रिया