काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई आइतबार ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३’ प्रदान गरेका छन् । एमाले पार्टी कार्यालयमा आयोजित २३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कार्कीलाई ५१ हजार र प्रमाणपत्रसहित सो पुरस्कार प्रदान गरे ।
एमाले प्रचार तथा प्रकाशन विभागद्वारा यसै वर्षदेखि दिन थालिएको सो पुरस्कार प्रदान गर्दै एमाले अध्यक्ष ओलीले व्यावसायिक पत्रकारलाई मदन भण्डारीका नाममा पुरस्कार प्रदान गरेर एमाले जनताका लागि खोलिएको पार्टी भएको पुष्टि भएको बताए ।
‘नीति तथा कार्यक्रम पास भएपछि सरकारको काम अलि बढ्दै छ’ प्रधानमन्त्रीले अर्काे प्रसंगमा भने, ‘अब बजेट पास भएपछि झनै सरकारले गरेको काम बढ्ने छ, गरिब जनता हेर्ने र रोजगारीका अवसर बढाउने अभियानमा सरकार लागेको छ ।’
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले फोटो पत्रकार कार्कीले मदन भण्डारीका तस्बिर सञ्चारमाध्यममा प्रकाशन गरी दिएको योगदानको मूल्यां्कन गर्दै उनलाई पुरस्कार दिइएको जानकारी गराए ।
उनले आउँदो वर्षदेखि स्नातकोत्तर तहमा आमसञ्चार विषयमा अध्ययन गर्ने दुई विद्यार्थीलाई शोधपत्र तयारका लागि रकम समेत उपलब्ध गराउने जानकारी गराए । पुरस्कारका लागि १५ लाखको अक्षय कोष समेत स्थापना गरिएको छ । पुरस्कारका लागि नारायण ढकाल संयोजक तथा शिव गाउँले र वासुदेव अधिकारी सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो ।
प्रतिक्रिया