कञ्चनपुर, १ जेठ । बहुवर्षीय ठेक्का प्रक्रियाद्वारा कञ्चनपुरका दुई सडक निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । सम्भावित प्रादेशिक सडकअन्तर्गत पर्ने कलुवापुर बेलौरी सडक र बेदकोट नगरपालिकाअन्तर्गत पर्ने लालपुर चौराहदेखि सुन्दरपुर कृषि तालिम केन्द्रसम्मको सडकलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको हो ।
बेलौरी कलुवापुर सडक निर्माणका लागि ३८ करोड बजेट विनियोजन भई बहुवर्षीय ठेक्का प्रक्रियाद्वारा कार्य अगाडि बढेको सांसद कृपाराम रानाले बताए । योजनाको पूर्वतयारी र ठेक्का पूर्वका सबै प्रक्रिया पूरा गरी कार्यक्रम स्वीकृत गराई कार्य प्रगतिका आधारमा बजेट निकासा हुने शर्तमा बहुवर्षीय ठेक्कामा जाने सहमति भएको उनले बताए । रानाले भने, ‘आगामी वर्षको बजेटमा सिलिङभित्र प्राथमिकता दिई प्रस्ताव गर्ने सहमति भएको छ ।’ झन्डै २४ किलोमिटर लम्बाइको कलुवापुर बेलौरी सडक सञ्चालनमा आएको ४९ वर्षपछि कालोपत्रेका लागि बजेट विनियोजन भएको हो । यसैगरी, बेदकोट नगरपालिकाअन्तर्गत पर्ने लालपुर चौराहदेखि सुन्दरपुर कृषि तालिम केन्द्र बैजनाथ मन्दिरसम्मको सडक बहुवर्षीय ठेक्का प्रक्रियाद्वारा निर्माण निर्माण गरिने भएको छ । आव ०७२÷७३ देखि निर्माण कार्य सञ्चालन गर्न रु नौ करोड ७८ लाख क्रमागत बजेट स्वीकृत भएको सांसद रानाले बताए ।
बहुवर्षीय ठेक्का प्रक्रियाद्वारा कार्य अगाडि बढाउनका लागि मन्त्रिस्तरीय निर्णय भइसकेको उनले जानकारी दिएका छन् । यसका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगद्वारा समेत स्वीकृति प्रदान गरिएको उनले जानकारी दिएका छन् । ठेक्काअन्तर्गत सडक स्तरोन्नति, कल्र्भट निर्माण र कालोपत्रेलगायतका कार्य हुनेछन् ।
प्रतिक्रिया