काठमाडौं, २२ वैशाख । राजधानीको थिएटर भिलेजमा चलिरहेको नाटकका एउटा पात्रको भूमिका निभाइरहेका कलाकारको अभिनय अहिले सर्वाधिक चर्चामा छ । २५ चैतदेखि मञ्चन भएको नाटक ‘ह्याम्लेट’को मुख्य भूमिका निभाएका दिव्यदेव पन्तको अभिनयले यस्तो चर्चा बटुलेको हो ।
हुन त भक्तपुर दरबार क्षेत्रमा यो नाटकको पहिलो मञ्चन हुँदा ‘ह्याम्लेट’को भूमिकामा स्थापित कलाकार अर्पण थापा थिए । तर, थिएटर भिलेजमा नाटकको शृंखला सुरु भएदेखि मुख्य पात्रको जिम्मेवारी पन्तको काँधमा आएको थियो ।
औपचारिक रूपमा अभिनयको प्रशिक्षक नलिएका दिव्यदेवले महान् नाटककार विलियम सेक्सपियरको नाटकका राजकुमार ‘ह्याम्लेट’को चरित्रलाई पूर्णरुपमा न्याय गरेका छन् । वियोगान्त नाटकमा ‘ह्याम्लेट’ले आफ्ना बाबु (कथाअनुसार डेनमार्कका राजा क्लाउडियस)को हत्याको बदला लिने क्रममा देखाएको आक्रोश र कठोरता देख्दा लाग्छ उनी पनि उस्तै कठोर छन् । तर, वास्तविक जीवनमा मिजासिलो स्वाभावका उनी ह्याम्लेटको भूमिकामा अभिनय गर्नु आफ्ना लागि चुनौतीपूर्ण रहेको बताउँछन् ।
उनी भन्छन्, ‘नाटक क्षेत्रमा करिब ५ वर्ष बिताएको मेरा लागि यो भूमिका चुनौतीपूर्ण थियो तर यस कार्यले अब मलाई अनुभवी बनाएको छ ।’ अस्ट्रेलियामा पढ्दाताका अभिनयको भूत चढेका बैतडीका स्थायी बासिन्दा पन्तले अभिनय गरेका ‘नागरिक’, ‘आवरण’जस्ता ठूलो पर्दाका चलचित्र भने सफल हुन सकेनन् ।
त्यसबारे उनी भन्छन्, ‘आफूले गरेका सबै कार्यमा शतप्रतिशत कोही पनि सफल हुँदैन, मैले खेलेका चलचित्र पनि सफल भएनन्, तर नाटकबाट राम्रो प्रतिक्रिया पाएको छु, आशा छ राम्रो चलचित्रको प्रस्ताव आयो भने अब राम्रै होला ।’
बेलायती नाटककार सेक्सपियरको नाटकलाई नेपालीकरण गर्दै विमल सुवेदी र ग्रेगरी थमसनले संयुक्तरुपमा निर्देशन गरेको नाटकमा धेरै नेपालीपन त हुने नै भयो । त्यसबाहेक नाटकमा ‘सोह्र वर्षे उमेरैमा…’, ‘जिम्मुवाल…’ जस्ता लोकगीत समावेश हुनुले अझ नेपालीपन झल्काएको छ ।
साथै, ह्याम्लेटबाहेक अन्य पात्रका नाम र संस्कार पूर्णत नेपाली छन् । नाटकमा राजकुमार ‘ह्याम्लेट’की असफल प्रेमिका ओफिलिया (ओजस्वी)को भूमिका निभाएकी पूर्वमिस नेपाल सृष्टि श्रेष्ठको अभिनयसँगै सौन्दर्यले दर्शकको मन लोभ्याउँछ । पौने २ घन्टा लामो नाटक मूलत दरबारिया षड्यन्त्रको सेरोफेरोमा सकिन्छ ।
राजालाई आफ्नै भाइले षड्यन्त्रपूर्ण तरिकाले मारेर भाउजुसँग बिहे गरेपछि बदलाको भावना लिएको राजकुमारको विनाश र पूरै वंशको सर्वनाश यसमा छ । राजाको भूमिका निर्वाह गरेका राजकुमार पुडासैनी, राजाका भाइ कमलमणि नेपाल, रानीको भूमिकामा अरुणा कार्कीसहित भोलाराज सापकोटा, सुदीप पोखरेल, सरोज अर्याल, श्रवण राना, दीपक सापकोटा आदि कलाकारले आफ्नो पात्रलाई न्याय गरेका छन् ।
यही २५ वैशाखसम्म चल्ने नाटक नेपाल र बेलायतको दौत्य सम्बन्धको २००औँ वर्षगाँठको अवसरमा मञ्चन गरिएको हो ।
प्रतिक्रिया