हिमशिखर हाम्रो धरोहर : राष्ट्रपति

bidhya bhandari1काठमाडौं, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, समन्वय, भ्रातृत्व र सहिष्णुताको प्रतीक नेपालका हिमशिखर अमूल्य निधि एवं राष्ट्रिय धरोहर भएको बताएकी छन् ।

मनास्लु–ल्होत्से हिमालको प्रथम आरोहणको ६० वर्ष पूरा गरेका उपलक्ष्यमा आइतबार आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक विशिष्टता र अनुपम पहिचान बोकेको हिमालय पर्वत आफैँमा विश्वको ज्यादै ठूलो महत्वपूर्ण धरोहर भएको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले नेपालको भौगोलिक विशिष्टता हिमालय शृृंखला पर्यावरणका दृष्टिले एकदम संवेदनशील क्षेत्र हो भन्दै हीरक समारोहमा पर्वतीय पर्यटनका चुनौती र अवसरबारे गरिने सम्मेलनले जलवायु परिवर्तनको असर र यसको जोखिम नियन्त्रणका लागि विज्ञबाट आउने सुझाव महत्वपूर्ण हुने बताइन् । ‘भौगोलिक, सांस्कृतिक, जैविक र जातीय विविधताले भरिपूर्ण राष्ट्रिय एकताको प्रतीक नेपालका लागि हिमशृंखला राष्ट्रिय धरोहर हुन् । पर्यटन विकास, सांस्कृतिक अध्ययन र अनुसन्धान, पानीको भरपर्दो स्रोत, जैविक विविधता आदिको समष्टिगत हिसाबले ठूलो आधार हिमाललाई लिइन्छ’ उनले भनिन् ।

उनले विगतका विभिन्न प्राकृतिक प्रकोपमा पनि पर्वतारोहण गरी अदम्य साहसका प्रतीकका रूपमा आफ्नो बहुमूल्य जीवन उत्सर्ग गर्ने स्वदेशी तथा विदेशी पर्वतारोही, अध्ययनकर्ता र पदप्रदर्शकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरिन् । राष्ट्रपति भण्डारीले अदम्य साहस र उत्साहका साथ उच्च शिखर आरोहण गरी नेपाललाई विश्वसामु अझ बढी परिचित गराउने पर्वतारोहीको विशिष्ट योगदानको स्मरणसमेत गरिन् ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको हिमाल र पदयात्रा साहसिक पर्यटनका लागि विश्व पर्यटनको आकर्षण रहेको उल्लेख गर्दै अर्थतन्त्रको मुख्य आधारका रूपमा रहेको पर्यटन क्षेत्रको प्रबद्र्धन एवं विकासका लागि सरकारले विशेष महत्व दिएको बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले साहसिक पर्यटनका लागि विश्वकै आकर्षण रहेको नेपालको पर्वतीय पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनबाट हुन सक्ने जोखिम नियन्त्रणका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

नेपाल पर्वतरोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले महोत्सवले नेपालको पर्यटन प्रबद्र्धन र पुनरोत्थान तथा नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य रहेको सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने धारणा राखे ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन हीरक महोत्सव फलदायी हुने बताए । मनास्लुका प्रथम आरोही मिनोरु हिगेटाले ६० वर्षअघि मनमोहक हिमालको सफल आरोहणले नेपालप्रतिको मोहलाई बढाएको बताए ।

पर्यटन मन्त्रालय र नेपाल पर्वतारोहण संघले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा मनास्लु हिमालका प्रथम आरोही हिगेटा, सगरमाथा आरोहण गर्ने प्रथम आरोही जुनको ताबेइलगायत स्वदेशी तथा विदेशी पर्वतारोही तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

सो अवसरमा केटु हिमाल चढ्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पा, हिमालयन ट्रस्ट संस्था तथा मनास्लु प्रथम आरोही हिगेटा, जुनको तावेइलगायत विभिन्न आरोहीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया