पाल्पा, १६ वैशाख । सिर्जना आमा समूह पाल्पाको नेतृत्वमा समूहका संस्थापक सदस्य स्व. मुना अधिकारी पौड्यालको सम्झनामा स्मृति भवन निर्माण भएको छ । रामपुर नगरपालिका–१५ का आमा समूहद्वारा स्व. अधिकारी पौड्यालको स्मृतिमा ‘मुना स्मृति’ सामुदायिक महिला भवन निर्माण गरिएको हो । उक्त भवन निर्माणमा मुना मेमोरियल टस्ट्रको आर्थिक सहयोग रहेको छ ।
ट्रस्टको आर्थिक सहयोगमा १ बैठक कोठा, एक कार्यालय कोठा रहेको १ तले भवन १२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको अध्यक्ष अमृत अधिकारीले बताए । सामाजिक, धार्मिक र विकास निर्माणको क्षेत्रमा काम गर्न चाहनेका लागि संस्थाले आर्थिक रकम सहयोग गर्दै आइरहेको अधिकारीले बताए । ट्रस्टका प्रधान संरक्षक डा. पंकज शर्माले भवनको उद्घाटन गर्दै नयाँ कार्यको थालनी गर्नका लागि इच्छा शक्ति लिएर आउनेलाई संस्थाले सहयोग गर्ने बताए ।
यस संस्थाले जनकल्याण उच्च माविबाट एसएलसी परीक्षामा उत्तीर्ण छात्रालाई उच्च शिक्षाका लागि छात्रवृत्ति सिएमए पढ्न चाहने छात्राका लागि निःशुल्क पढाइ शुल्क उपलब्ध गराउँदै आएको संरक्षक कृष्णप्रसाद अधिकारीले बताए । विगत ६ वर्षदेखि ट्रस्टले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक, विकास निर्माणलगायतका क्षेत्रमा आर्थिक सहयोग गरेको छ । ०५० मा स्थापना भएको आमा समूहले गाउँघर सरसफाइ, धार्मिक परिसर क्षेत्रमा सरसफाइ, सामाजिक कार्यमा सरिक भएर काम गर्दै आएको छ ।
प्रतिक्रिया