काठमाडौं, १६ वैशाख । सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष दीक्षितलाई सोमबार अदालतमा उपस्थित गराउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । आफ्ना पति कनकमणि दीक्षितलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा थुनामा राखेको भन्दै उनकी पत्नी शान्ता दीक्षितले बुधबार सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
सोमबार अख्तियारको लिखित जवाफ र दीक्षितलाई पनि उपस्थित गराउन कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अख्तियारलाई निर्देशन दिएको हो । साझा यातायात सहकारी लिमिटेडका अध्यक्षसमेत रहेका कनकमणि दीक्षितलाई आयोगले कानुनी प्रक्रिया नपु¥याई स्वेच्छाचारी ढंगले विना कुनै निर्णय गैरकानुनी रूपमा अनुसन्धान अघि बढाएको र थुनामा राखेको रिट निवेदनमा उल्लेख थियो ।
कनकमणि दीक्षितका तर्फबाट उनकी पत्नीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, विशेष अदालतलगायतलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन् । यसअघि यही १२ वैशाखमा विशेष अदालतले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो ।
अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही १० वैशाखमा दीक्षितलाई पक्राउ गरेको थियो । दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २ सय ८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९ सय २६ अमेरिकी डलर र अमेरिकाको एप्पल बैंकमा बेलायती मुद्रा ४ हजार १ सय २६ रहेको अध्ययनको क्रममा पत्ता लागेको अख्तियारको दाबी छ ।
प्रतिक्रिया