उदयपुर, १५ बैशाख । सशस्त्र द्वन्द्वको क्रममा घाइते तथा अंगभंग भएका व्यक्तिलाई सरकारले निःशूल्क उपचार गरिदिने भएको छ । शान्ति तथा पुननिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयको सहयोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले द्वन्द्वका घाइतेहरूको निःशुल्क उपचार गरिदिने भएको हो ।
द्वन्द्वपीडित घाइतेको समस्यालाई ध्यान दिँदै स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उदयपुर जिल्लामा निःशुल्क शिविर सञ्चालन गर्न लागेको स्थानीय शान्ति समितिको कार्यालयले जनाएको छ । स्थानीय शान्ति समिति उदयपुरको संयोजनमा जिल्ला अस्पतालमा उदयपुरमा ३१ वैशाखमा घाइतेहरूको लागि स्वास्थ्य शिविर सञ्चालन गरिने तय भएको समितिका संयोजक एकबहादुर कार्कीले बताए । संयोजक कार्कीले भने, ‘प्रतिष्ठानको पुनस्र्थापना केन्द्र तथा हाड जोर्नी विभागको आयोजनामा शिविरमा द्वन्द्वका घाइते मात्र नभएर हाड जोर्नी तथा नशारोगका विरामीहरूले पनि उपचार गर्न पाउने व्यवस्था रहेकाले सबै विरामीले फाइदा लिन सक्ने छन् ।’
द्वन्द्वका क्रममा घाइते भएकाहरूको उपचारमा सहयोग पुगोस् भनेर सरकारले पूर्वाञ्चलको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क उपचारको व्यवस्था मिलाएको प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख प्राडा गुरूप्रसाद खनालले जानकारी दिए ।
स्थानीय शान्ति समितिको अभिलेख अनुसार उदयपुरमा २ सय ५० भन्दा बढी घाइते तथा अपांग रहे पनि ५२ जनाले मात्र जिल्ला प्रशासन कार्यालयबाट राहत पाएका छन् । सशस्त्र द्वन्द्व सुरु भएको ०५२ साल १ फागुनदेखि विस्तृत शान्ति सम्झौता भएको ०६३ साल ५ मंसिरसम्मको अवधि राज्य वा विद्रोही पक्षबाट घाइते बनाइएकाहरूको मात्र उपचार हुने केन्द्रले जनाएको छ ।
प्रतिक्रिया