काठमाडौं, ९ वैशाख । राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्टलाई तीन वर्षे निलम्बन गरिएको प्रति आपत्ती जनाउँदै पार्टीका ८ केन्द्रीय सदस्यसहित १० जनाले संयुक्त विज्ञप्ती जारी गरेका छन् । उनीहरुले अध्यक्ष कमल थापाले फरक मत राखेकै आधारमा एकलौटी निर्णय गरेर विष्टको निलम्बन गरेको आरोप लगाएका छन् ।
सोे संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तित एवं प्रजातान्त्रिक परिवेशमा पार्टीभित्र विधि पद्धती र प्रजातान्त्रिक प्रक्रियाको विकास गरिनुपर्दछ भन्ने विचार राखिएको आधारमा गरिएको यस स्तरको निलम्बन र निस्कासनले पार्टीका कार्यकर्ताको मात्र नभएर हाम्रो पार्टीसँग समान विचार राख्ने देश विदेशमा रहेका शुभेक्षुुक तथा राप्रपा नेपाललाई मुलुकको चौथो राजनीतिक शक्तिको हैसियत प्रदान गर्ने मतदाता राष्ट्रवादी नेपाली दाजुभाइ तथा दिदीवहिनीहरूको भावनामा गहिरो चोट पुग्न गएको छ ।’
विज्ञप्तिमा तुरुन्त विष्टको निलम्बनको निर्णय फिर्ता लिन नेतृत्वसँग मागसमेत गरिएको छ । यसरी संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा केन्द्रीय सदस्यहरु विष्णु भट्टराई, मिरा राणा, पदम ठकुराठी, घनश्याम गिरी, ऋषिबाबु परियार, दमन बस्नेत, बसन्तराज लम्साल र इन्द्र थापा रहेका छन् । यस्तै प्रवास विभाग प्रमुख श्याम केसी र राप्रपा नेपाल निकट पूर्वप्रहरी संगठनका निराकार मानसिंह रेग्मीको पनि विज्ञप्तिमा हस्ताक्षर रहेको छ ।
यसैबीच राप्रपा नेपाल संस्थापनले ७ केन्द्रीय सदस्यसहित १० जनाको संयुक्त विज्ञप्ति पार्टी हितविपरित रहेको बताएको छ । ‘विष्टलाई पार्टी हितविपरित गतिविधि गरेकाले वीरगन्ज बैठकबाट कारबाही गरिएको हो । यसमा अरुले वक्तब्यवाजी गर्नुको औचित्य छैन’, सहप्रवक्ता मोहन श्रेष्ठले भने । उनले उनीहरुले विष्टको समर्थनमा वक्तब्यबाजी गरेको औपचारिक जानकारी पार्टीमा नआइपुगेको तर त्यसो हो भने त्यो पार्टीको लाइनविपरितको भएको बताए । उनीहरूमाथि कारबाहीसम्म हुन सक्ने संकेत गर्दै उनले भने, ‘यसबारे पार्टीमा छलफल हुन्छ, आवश्यक निर्णय गर्छौँ ।’
पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्रीसमेत रहेका थापा अमेरिका भ्रमण रहेका बेला असन्तुष्ट समुहले केशरबहादुर विष्टको बचाउ गर्दै कमल थापाविरुद्व संयुक्त विज्ञप्ति निकालेका हुन् ।
प्रतिक्रिया