स्यांजा जिल्लाको विचारी चौतारा गाविस वडा नं. ९ निवासी क. देवीलाल पौडेल अत्यन्तै मेहनती, अध्ययनशील र आमूल परिवर्तनप्रति निष्ठावान विद्यार्थी नेता तथा एकजना होनहार नेपाली युवा थिए । असंवैधानिक किसिमले तत्कालीन राजाबाट मनोनित भएको प्रतिगामी एवं जनविरोधी सरकारले औचित्य र आधारहीन किसिमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि ग¥यो । त्यसले गर्दा चौतर्फीरूपमा जनताका दैनिक उपभोगका आधारभूत वस्तु र सेवाहरूमा पनि महँगी बढ्न शुरुगरकोले आमजनतालाई त्यसरी मार्का पर्न थालेपछि देशको सचेत विद्यार्थी समुदाय मुकदर्शक भएर बस्ने कुरै आउँदैनथ्यो । त्यसै शिलशिलामा देशका जिम्मेवार सात विद्यार्थी संगठनहरूले ‘प्रतिगामी षडयन्त्र मूर्दावाद, संयुक्त विद्यार्थी आन्दोलन जिन्दावाद’ भन्ने मुलुकका जनतन्त्रप्रेमी जनसमुदायहरूका लागि सर्वस्वीकार्य नारा तय गरेर पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध शान्तिपूर्ण एकीकृत आन्दोलन शुरु गरे । त्यसप्रति देशका विभिन्न जनउत्तरदायी राजनीतिक दलहरू र आम जनताको सर्मथन बढ्दै जाने कुरा स्वतः सिद्ध थियो । महगीकाविरुद्ध यसरी राष्ट्रव्यापीरूपमा आन्दोलनले गति लिन थालेको थियो । त्यसै क्रममा चैत्र २५ गते आन्दोलनरत विद्यार्थीहरूको पूर्वघोषित चक्काजाम कार्यक्रम सफल पार्न देशैभरी विद्यार्थीहरू सडकमा उत्रेका थिए । बुटवलमा पनि चक्का जामको त्यही कार्यक्रममा संघर्षशील विद्यार्थीहरूले चक्काजाम गरी बाटो बन्द गरेपछि केही तनावजस्तो स्थिति पैदा भएको थियो । प्रहरीले चक्काजाम असफल पार्न विद्यार्थीहरूलाई सडकवाट हटाउने कोशिश ग¥यो र त्यस क्रममा लाठी चार्ज पनि ग¥यो । आधा घन्टाको चक्का जाम कार्यक्रमपछि सडकवाट विद्यार्थीहरू बुटवल बहुमुखी क्याम्पस हाताभित्र गए । तर, प्रहरीले अनधिकृतरूपमा क्याम्पस हाताभित्रै विनाकुनै कारण गोली चलायो र कामरेड देवीलालको एकाएक हत्या ग¥यो । त्यसरी अपरान्ह ५.१५ वजे बुटवल बहुमुखी क्याम्पस हाता रक्त रञ्जित बन्यो । जनतालाई मार्का परेको कुरालाई लिएर शान्तिपूर्ण आन्दोलनमा उत्रेका विद्यार्थीहरूलाई अकारण विनाकुनै चेतावनी गोली हानी हत्या गरेर विद्यार्थी जगतलाई उत्तेजित र आक्रोशित तुल्याउने काम स्वयं राजाको सरकारले ग¥यो । त्यसको परिणति आन्दोलनले झनै तीब्ररूप लियो । त्यसलाई व्यापक समर्थन पनि बढ्दै गयो ।
यसरी क. देवीलाल प्रतिगमनविरोधी संयुक्त आन्दोलनका पहिलो विद्यार्थी शहीद हुन पुगे । दिवंगत देवीलाललाई प्रतिगमनविरुद्ध रहेका तत्कालीन नेकपा(माक्र्सवादी), नेकपा(संयुक्त), संयुक्त वाममोर्चा, नेकपा माले, नेपाल, नेकपा एमाले, नेपाली कांग्रेसलगायत सबै जनउत्तरदायी राजनीतिक दलहरू र संयुक्त रूपमा संघर्षरत विद्यार्थी संगठनहरूले उच्च मूल्यांकनकासाथ शहीदको सम्मान प्रदान गर्दै राज्यले पनि उनलाई शहीद घोषणा गर्नुपर्ने माग तत्कालै गरेका थिए । यो विल्कुलै उचित र महत्वपूर्ण कुरा थियो । जनताका समस्या समाधान गर्न आफ्नो अमूल्य जीवनको वलिदान गर्ने सचेत र संघर्षशील मानिसको राष्ट्रले, समाजले र परिवर्तनका सम्वाहक सम्पूर्ण शक्तिहरूले सम्मान गर्नै पर्दछ । तिनीहरूका अमूल्य योगदानवाट प्रेरणा लिनै पर्दछ र मुलकमा भइरहेका र उत्पन्न हुने शोषण, दमन, उत्पीडन तथा अन्याय र अत्यचारका विरुद्ध सशक्त आवाज उठाउनै पर्दछ अनि संघर्ष अघि बढाउनै पर्दछ । वास्तवमा त्यतिबेला क. देवीलाल प्रतिगमनविरोधी संयुक्त जनआन्दोलनलाई सशक्तरूपमा अघि बढाउने एउटा भर्भराउँदो ऊर्जा नै बनेका थिए । उनलाई उचित र सार्थक सम्मान गर्ने हो भने नेपाली जनताका खोसिएका सबै आधारभूत जनतान्त्रिक हक अधिकार फिर्ता लिन जनतन्त्र र नागरिक स्वतन्त्रताप्रेमी सम्पूर्ण शक्तिहरू एकजुट भएर संयुक्त जन आन्दोलनलाई सफल तुल्याउन अग्रसर हुनै पर्दथ्यो र त्यही नै शहीद देवीलालप्रतिको सच्चा श्रद्धाञ्जली हुन्थ्यो र त्यसै गरियो पनि ।
विक्रम सम्वत् २०३४ साल श्रावण २० गते माता चन्द्रकला पौडेल र पिता मित्रलाल पौडेलका पहिलो सन्तानकोरूपमा जन्मिएका क. देवीलाल पौडेलको पारिवारिक अवस्था अत्यन्तै कमजोर थियो । त्यस्तै अवस्थामा वाल्य काल विताउँदै घर छेउकै श्री राष्ट्रिय माध्यमिक विद्यालयमा उनले कक्षा ७ सम्मको अध्ययन गरे भने कक्षा ८ पर्वत जिल्लाको श्री अन्नर्पूण माध्यमिक विद्यालयमा गरेका थिए । घरको आर्थिक कमजोरीले गर्दा उनी स्यांजाबाट बुटवल झरेर सानोतिनो काम गरेर जीवन गुजारा गर्दै कक्षा ९ र १० बुटवलकै ज्ञानोदय रात्री माध्यमिक विद्यालयमा अध्ययन गरे र त्यसै विद्यालयबाट एसएलसी परीक्षा उत्तिर्ण गरे । बुटवलको ट्राफिक चोकमा ठेलामा रात्री बसका यात्रुहरूलाई कफी र लस्सी बेच्दै अध्ययनलाई पनि चालु राख्ने र घर परिवारमा पनि केही खर्च समेत पठाएर स–साना तीन भाइ र एक वहिनी तथा दीर्घ रोगी तथा अपांग पिता र मातालाई पनि सकेसम्म सहयोग पु¥याउने काम गरेर परिवारप्रतिको जिम्मेवारीको पनि राम्ररी वोध गर्ने गरको प्रष्टै देखिन्छ ।
यसरी कडा मेहनत गर्ने लगनशील विद्यार्थी देवीलाल नेपाल प्रगतिशील विद्यार्थी यूनियनको सम्पर्कमा आएर क्याम्पस र क्याम्पस बाहिर पनि संगठित विद्यार्थी गतिविधिमा समेत सक्रियतापूर्वक लागेका थिए । यस क्रममा उनी क्याम्पस इकाइको नेप्रवियूको अध्यक्ष बनेका थिए भने नेप्रवियूकोतर्फबाट बुटवल क्याम्पस स्ववियू निर्वाचनमा उपसभापतिको उम्मेद्वारकोरूपमा पनि खडा भएका थिए । विद्यार्थी गतिविधिमा लाग्दा नेपाल र विश्वको राजनीतिक आन्दोलनको इतिहासका साथै सैद्धान्तिक वैचारिक अध्ययन समेत गरेर आफ्नो स्तर उठाउँदै गएपछि नेपाल कम्यनिष्ट पार्टी (तत्कालीन माक्र्सवादी) रूपन्देही जिल्ला कमिटीको सदस्यमा समेत पार्टीको जिल्ला सम्मेलनले उनलाई निर्वाचित गरेको थियो । यसरी पार्टीले पनि उनको लगनशीलता, इमानदारीता र अध्यनशीलता तथा संघर्षशील जीवनको उच्च मूल्यांकन गरेको थियो । यस क्रममा उनलाई तत्कालीन नेकपा(माक्र्सवादी) र नेकपा(संयुक्त)द्वारा लहानमा आयोजित संयुक्त राष्ट्रिय कार्यकर्ता भेलामा पनि प्रतिनिधि कार्यकताकोरूपमा सहभागी हुन पठाएको थियो । शहादत प्राप्त गर्नु दुइदिन अघिसम्म पनि उनी माक्र्सवादी राजनीतिक अर्थशास्त्र अध्ययन गर्दै थिए यसरी बुटवल क्याम्पसमा बिए प्रथम वर्षमा अध्ययनरत देवीलाल औपचारिक शिक्षामा मात्र सीमित हुन चाँहदैनथे ।
वास्तवमा क. देवीलाल नेपाली कम्यनिष्ट आन्दोलनका सूत्रधार एवं शिर्ष पुरुष क पुष्पलालद्वारा प्रतिपादित संयुक्त जनआन्दोलनको नीतिका एक सशक्त सम्वाहक र उहाँले नेपाली समाजको आमूल परिवर्तनका लागि अघि सारेका नीति र कार्यक्रमप्रति अत्यन्तै निष्ठावान विद्यार्थी नेता थिए । उनी सम्पर्कमा आएदेखि नै नेप्रवियूको बुटवल क्याम्पस मानविकी संकायको सदस्य तथा अध्यक्षमा रहेर काम गर्दै आएका थिए । पछि २०५७ कात्तिक २१ गते सम्पन्न नेपाल प्रगतिशील विद्यार्थी यूनियनको सम्मेलनले उनलाई रूपन्देही जिल्लाको अध्यक्षमा चयन गरेको थियो । त्यसबाहेक उनी ठेला व्यवसायी संघ बुटवलको अध्यक्ष पनि भएर काम गरेका थिए । यसप्रकार हरेक मोर्चामा रहेर जनताको काम गर्ने युवा विद्यार्थी व्यक्तित्व क. देवीलाल त्यति बेलाको संयुक्त विद्यार्थी आन्दोलनमा पनि अत्यन्तै सक्रिय र अग्रपंक्तिमा थिए । त्यसैक्रममा संयुक्त विद्यार्थी आन्दोलन केन्द्रिय संघर्ष समितिले २०५९ चैत्र २५ गते राष्ट्रव्यापीरूपमा राखेको आधा घण्टाको चक्काजाम कार्यक्रम मुताविक बुटवलको लुम्विनी अञ्चल अस्पताल अगाडि चक्का जाम कार्यक्रमलाई सम्वोधन पनि गरेका थिए र सरकारले जनबिरोधी मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन जारी रहने र सशक्त आन्दोलनको सिर्जना गरिने उद्घोष पनि गरेका थिए ।
यसप्रकार कार्यक्रम सम्पन्न गरी शान्तिपूर्णरूपमा क्याम्पस हाताभित्र फर्किसकेका विद्यार्थीहरूमाथि क्याम्पस प्रांगणमै प्रहरीले अन्धाधुन्ध गोली चलाउदा क. देवीलालले शहादत प्राप्त गरे । आज उनी आम नेपाली जनसमुदाय खाशगरी नेपाली विद्यार्थी जगतका अमर शहीद बने । उनको अन्तिम संस्कार २०५९ चैत्र २७ गते विहान पर्वत जिल्लाको मधुवेनी घाटमा सम्पन्न भएको थियो । दिवंगत क. देवीलालको सम्मानमा तत्कालीन संयुक्त–माक्र्सवादी केन्द्रिय समन्वय समितिको आयोजनामा बैशाख ३० गते श्रद्धञ्जली सभाको आयोजना गरेर प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दलहरूका शिर्षस्थ नेताहरूलाई श्रद्धाञ्जली मन्तव्य प्रकट गर्न निम्त्याई संयुक्त आन्दोलनलाई अघि बढाउने मार्ग प्रसस्त गरेको थियो । अमर शहीद क. देवीलालप्रति भावपूर्ण शब्द श्रद्धाञ्जली !
प्रतिक्रिया