नेवारका विभिन्न चाडपर्वमध्ये रमाइलो र ठूला चाड हो पाहाँचःह्रे । नेवार जातिको विशेष संस्कृति भएको पाहाँचःह्रे चाडले धेरै नै रमाइलो वातावरण प्रदर्शन गरेको हुन्छ । नेवारी संस्कृतिमा पाहुनालाई ठूलो स्थान दिइन्छ । पाहुनालाई पनि देवतालाई जस्तै मान्ने नेवार संस्कार अनुसार पाहाँचःह्रे चाडमा आफन्त र साथीभाइहरूलाई निमन्त्रणा गरी भोज खुवाउने चलन छ । बिल्कुल प्राकृतिक वातावरण, खाद्य सामग्री र रहनसहनसँग सम्बन्ध रहेको र जीवनमा व्यावहारिक अस्तित्व समायोजन गर्ने चाड पनि हो पाहाँचःह्रे । नेपाल भाषामा पाहुनालाई पाहाँ भनिन्छ भने चतुर्दशीलाई चःह्रे भनिन्छ । यो पाहाँचःह्रे चाड चैत्रकृष्ण चतुर्दशीमा पर्छ । चाडो सकिने र गर्मी सुरु हुने समयमा हावा हुरी आउने र विभिन्न किसिमले लाग्ने रोगलाई रोक्न धार्मिक उपायअनुसार नेवार समाजमा पाहाँचःह्रेलाई लिने गरिन्छ । पाहाँचःह्रेमा मकलमा आगो बालेर इकापःका राखी त्यसको धुँवा घरमा लगाउने परम्परा छ । यसले भूतप्रेत, रोग, शोक र बोक्सीजस्ता नकारात्मक तत्वले छुन सक्दैन भनिन्छ ।
चैत्रकृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म पहाँचःह्रे विभिन्न किसिमले मनाइन्छ । हिन्दू र बौद्ध नेवारहरूले अत्यन्तै श्रद्धापूर्वक मान्ने पाहाँचःह्रेका दिन काठमाडौंका विभिन्न टोलमा रहेका गणेश, भैरव, भगवती र विशेष गरी अष्टमातृका देवीको पूजा गर्ने र खट जात्रा गर्ने गरिन्छ । विभिन्न टोलमा रहेका विभिन्न देवताहरूलाई कुखुरा, हाँस, बोका, राँगा बली दिएर चाड मनाउने चलन छ । नक्साल भगवती, तख्ति अजिमा, लुँचुभुलू अजिमा, न्ह्याय्कंतला अजिमा, कंगः अजिमा, न्यतमरु अजिमा, वटु र टेत्रबहाःका लुँमधि अजिमा, चारढुंगेका नरसिंहको खट जात्रा गरिन्छ । यसरी विभिन्न टोलमा विभिन्न देवताहरूको जात्रा गर्दा बाजा बजाउँदै, गीत गाउँदै देवताका खट बोकेर घुमाउने गरिन्छ ।
नेवारी परम्पराअनुसार आपूmले मात्र खाएर पुग्दैन आफन्तका साथै साथीभाइलाई पनि बोलाइ खुवाउनुपर्छ । पाहुना पासा बोलाएर भोज खुवाउने भएरै यो चाडलाई पाहाँचःह्रे भनिएको हो । देवताको पालादेखि चल्दै आएको यो चलन नेवारी संस्कृति हो । देउपाटनका बछला माजु (भूवनेश्वरी)लाई अष्टमातृकाका आमा भनी मान्ने गरिन्छ । त्यसैले पाहाँचःह्रेको सात दिनअघि चैत्रकृष्ण अष्टमीका दिन बछलामाजुले आफ्ना चेलीबेटी छोरीहरूलाई बोलाउन जाने भनी देउपाटनदेखि झ्याली बाजा बजाउँदै काठमाडौंमा ‘दुरु च्याँच्या’को अर्थ च्यान्हु अर्थात् आठ दिन भनेको हो भनिन्छ । झ्यालीको बोल नै ‘दुरु च्याँच्याँ’ भएकोले यो जात्राको नाम नै दुरु च्याँच्याँ हुन गएको हो । छोरीहरूलाई भोज भन्न जाने क्रममा पशुपतिको सानो शिवलिंग र बछलामाजु (भूवनेश्वरी)को प्रतीक भएको खट जात्रा गर्दै देउपाटनको लगंलाछी, पाचुला, सिफः, मालिगां, नक्सा, नागपुखु, हात्तीसाः र जमल हुँदै असन, जनबहाल, वंघः, हनुमानध्वाखा, मरु, चिकंमुगः, न्हूघः, लगं, टेकुदोभान भई पचली आजुद्यःलाई पिंचा राख्न जाने भनी पाल्चामा दियो बाली ल्याउने हो । त्यहाँ पूजा गरेर बलि दिने गरिन्छ । त्यहाँबाट फर्किंदा लगं, ब्रह्मत्वाः, ह्यूमत, जैशीदेवल, क्वाहिती, भिन्द्यत्वाः, मरु, यटखा, न्यतः, त्यंगः, कमलाछी, जमल, कमलपुखु, ज्ञानेश्वर, हाकुतां (कालोपुल), सिफः, जयबागेश्वरी र पाचुला भई देउपाटनबाट पशुपतिमा पु¥याइन्छ । सितला अष्टमी पनि भनिने दिन हुने यो दुरु च्याँच्याँ जात्रालाई पाहाँचःह्रे आयो एकहप्ता मात्र छ भनी सूचना दिइने जात्राको रूपमा पनि लिइन्छ ।
राजा गुणकामदेवले कलिगत सम्वत् ३८२५ मा काठमाडौं देशको निर्माण गर्ने क्रममा देशको रक्षा गर्ने उद्देश्यले अष्टमातृका पीठ जगाई काठमाडौं देशको चारैतिर लुमधी अजिमा (भद्रकाली), कंगः अजिमा (कंकेश्वरी), म्ह्येपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तख्ती अजिमा (नीलबाराही), न्यतमरु अजिमा (नरदेवी), बछला अजिमा (भुवनेश्वरी) र लुँती अजिमा (इन्द्रायणी) स्थापना गरेर खट जात्रा चलाएका हुन् । पाहाँचःह्रेको समयमा अष्टमातृका अजिमाहरूको खट जात्रा चलाएर राजा गुणकामदेवले नेवारी संस्कृतिको उल्लेखनीय कार्य गरेका हुन् ।
नेवारहरूले पाहाँचःह्रेका दिन आ–आफ्ना क्षेत्रमा टोलैपिच्छे लुकुमाद्यःलाई पूजा गर्छन् । लुकुमाद्यः भनी फोहर भएको स्थानमा लुकी बसेका महादेवलाई सफा गरी पूजा गरिन्छ । पाहाँचःह्रेका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । पिशाचको रुपमा लुकेर बसेका महादेवको शिवलिंगलाई विशेष गरी लसुन, अदुवा, मासु र भटमाससहित समयबजी चढाउने चलन छ । समयबजीसँगै लुकुमाद्यःलाई जाँड, रक्सी पनि चढाउने गरिन्छ । लुकुमाद्यःलाई सुनको पूmल र चाँदीको पूmल पनि चढाइन्छ । यसरी पूmल चलाउँदा दियो बालेर सिन्हःम्वय्मा गाजल थापिन्छ । यो गाजल लगाएमा वर्षभरि आँखा दुख्दैन भनिन्छ ।
महादेवजस्ता देवता पनि पिशाचको रूपमा फोहरभित्र किन लुकेर बस्नु परेको होला भन्ने सन्दर्भमा एउटा भनाइ छ । एकपटक महादेवले शनि लाग्दा धेरै दुःख हुन्छ रे कसरी होला भनी शनिसँग सोधे रे ! शनिले हजुरलाई पनि लाग्छ अनि थाहा होला भनी जवाफ दिएछन् । महादेवले ‘तिमीले पनि मलाई छुन सक्छौँ र ?’ भन्दा शनिले हजुरलाई छुने समय आइरहेको छ भनी जवाफ दिएछन् ।
साँच्चै महादेवलाई पनि शनिले छुने अर्थात् साढे साती शनि लाग्ने समय आयो रे ! अनि महादेव कहाँ लुकुँ कहाँ लुकुँ भएर फोहर फालिराखेको साःगालमा लुक्न गएका रहेछन् । साढे सात वर्षपुगेपछि पिशाच चतुर्दशी अर्थात् पाहाँचःह्रेका दिन शनि महादेव लुकिराखेको स्थानमा टुप्लुक्क आइपुगेछ अनि महादेवलाई भनेछ– ‘मैले त देखि हाले नि !’ महादेवले शनिसँग सोध्यो– त्यसो हो भने खोइ त तिमीले मलाई छुन सकेको ?’ शनिले पनि भनेछ– ‘मैले त हजुरलाई उही समयमा छोइसकेको थिएँ, जुन समयमा हजुर यहाँ लुक्न आउनुभएको थियो ।’ शनिको जवाफ सुनेर महादेवलाई के गरुँ के गरुँ भयो रे ! यसरी लुकेर बसेका महादेव फोहरमै सिद्ध भएकाले नेवारहरूले लुकुमाद्यः भनी पूजा गर्दै आइरहेको हो भनिन्छ ।
पाहाँचःह्रेका दिन राती टेबहालको लुँमधि अजिमा, वटु अजिमाको खट टुँडिखेलमा ल्याइन्छ । त्यसपछि कंगः अजिमाको खट पनि ल्याइन्छ । टुँडिखेलमा देवता जुधाउने भनी टेबहादल र वटु अजिमाको खटमा बसेका मानिसहरूले हातमा बलिरहेको मसाल साटफेर गरी तीनपटक खट घुमाएर फर्काइन्छ । पहिला पहिला यी तीनै देवताका खट देउपाटनमा बछला माजु र पशुपति मन्दिरसम्म पनि लाने चलन थियो । त्यस्तै नक्साल भगवतीको खट पनि पशुपति र बछला माजु स्थानमा लाने चलन थियो । पाहाँचःह्रेको तेस्रो दिन अर्थात प्रतिपदाका दिन असनमा देवता जुधाइन्छ । उक्त दिन टेबहाल र वटु अजिमा खट असन दोबाटोमा ल्याइन्छ । कंगः अजिमाको खट पनि जुधाउन असनमा ल्याइन्छ । टेबहाः खलकले पहेंलो, वटु खलकले निलो र कंगः अजिमा खलकले रातो टोपी लगाई आउँछन् । देवताका खट बोकेर ल्याइ जात्रा गरी आ–आफ्ना छोरी चेलीबेटीको घरआँगनमा गई पूजा थाप्न जाने चलन रहिआएको छ । लुँमधि अजिमा, कंगः अजिमा र वटु अजिमाको खट जात्रा गरी असनमा देवता जुधाउने भनी तीन दिदीबहिनीका खटमा बसेका मानिसहरूले आपूmसँग भएका मसाल साटफेर गरेर तीन पटक खट घुमाएर दिदीबहिनी भेटघाट गराइने हो । असनमा देवता जुधाइरहँदा असनका मानिसहरूले घरघरका झ्यालबाट पूmलअक्षता, टीका अबिर, साथै ल्वंचामरी (एकप्रकार रोटी) र मिठाइ पनि छरेर पूजा गरी देवताहरूलाई स्वागत सत्कार गरी दचुलामा दियो बाल्ने गर्छन् । असनमा यसरी देवता जुधाई जात्रा गरिन्छ भन न्यतःमरु अजिमा, तख्ती अजिमा, मैती अजिमा, नक्सा भगवती, म्ह्यपिं अजिमा, न्ह्यंकन्तला अजिमा, नरसिंह आजुको जात्रा आ–आफ्ना क्षेत्रमा गरिन्छ ।
अजिमाका दिदीबहिनीमध्ये लुँतिमरु अजिमा (इन्द्रायणी)को जात्रा भने बालाचःह्रे (सत्बिज छर्ने)को दिन गरिन्छ । लुँतिमरु अजिमा दिदीबहिनीहरूमध्ये गरिब र १२ जना बच्चाहरू भएकाले अत्यन्तै कठिन अवस्थामा भएकोले सबैले हेला गर्ने गथ्र्याे । पाहाँचःह्रेमा माइतीमा भोज खान जाँदा धनी र सम्पन्न दिदीबहिनीहरूले बस पनि नभनी ज्यादै हेला गरिएछ । लुँतिमरु अजिमाका बच्चाहरूले भोक लाग्यो भनी कराइरहँदा पनि कसैले वास्ता नगरेकाले अत्यन्तै दुःखी भई भोज नखाइ बच्चाहरू साथै लिई फर्किरहेको बेलामा बाटोमा एउटा फर्सी भेटिएपछि त्यही फर्सी उसिने र बच्चाहरूलाई खुवाउन प¥यो भनी घरमा लैजान्छन् । घर पुग्ने बित्तिकै बच्चाहरू सुतेकाले भोलिपल्ट उठेर हेर्दा त्यस फर्सी सुन भइदिएकोले लुँति अजिमा धनी हुन्छिन् । यसरी धनी भइसकेपछि अर्काे वर्षको चाडमा माइतीमा भोज खान जाँदा सबैले मान्छन् । यसरी मानेर भोज खुवाउन ल्याउँदा भोज नखाई त्यही नै पाहाँचःह्रे चाड बहिष्कार गरी लुँति अजिमा फर्किआएको रहेछ । त्यसैबेलादेखि लुँति अजिमा (इन्द्रायणी)को जात्रा बालाचःह्रे सत्बिज छर्ने दिनमा मान्दै आएको हो भनिन्छ ।
पाहाँचःह्रेको भोलिपल्ट टोलैपिच्छे बालबालिकाहरूलाई ‘मरःजा’ खुवाउने गरिन्छ । कुमारीको पूजा गरी प्रसादको रुपमा बेलविवाह नगरेका र ब्रतबन्ध नगरेका बालबालिकाहरूलाई ‘मरःजा’ खुवाउँदा बेसार राखी पकाएको भात, गेडागुडी, तरकारी, तोरीको साग र दाल पातमा राखी खुवाउने गरिन्छ । बालबालिकाहरूलाई ‘मरःजा’ खुवाउँदा रोगब्याधीले नछुने, स्वास्थ्य राम्रो हुने र भूतप्रेतले पनि नछुने जनविश्वास छ ।
पाहाँचःह्रेको भोलिपल्ट टुँडिखेलमा घोडा दौडाएर घोडेजात्रा मान्ने गरिन्छ । गुरुमापालाई टुँडिखेलमा गाडी राखेकाले घोडाको खुट्टाले कुल्चाउनुपर्छ भनी घोडा दौडाउने गरिएको हो भनिन्छ । नेपाल सम्बत ७८७ तिर काठमाडौंका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच मनमुटाव भएकोले पाटनका जनता काठमाडौंमा घोडेजात्रा हेर्न नजाओस् भनी पाटनमै भोलाख्यः टोलमा एउटा घोडा दौडाउने चलन गरिएको हो भनिन्छ ।
हामीले चाडवाड मात्र मानेर पुग्दैन चाडवाडले हामीलाई दिइरहेको ज्ञान पनि बुझ्नुपर्छ । महादेवजस्तालाई त शनि दशा लागेर फोहरमा साढे ७ वर्ष लुकेर बस्नुप¥यो भने हामी मानिसहरूलाई पनि विभिन्न किसिमका समस्या आउन सक्छ, कार्यमा विघ्न बाधा, रुकावट आउन सक्छ । त्यसैले जस्तै बाधा व्यवधान आए पनि सहन सक्नुपर्छ धैर्य राख्नुपर्छ, हामीले कहिल्यै पनि घमण्ड गर्नु हुँदैन । त्यस्तै लुँती अजिमालाई गरिब भनी माइतीमा दिदीबहिनीले हेलाँ गरेजस्तै हामीले पनि कसैलाई पनि हेलाँ गर्नुहुँदैन भन्ने ज्ञान लिन सक्नुपर्छ ।
प्रतिक्रिया