संविधानको व्यवहारिक कार्यान्वयन गरौँ : दाहाल

prachanda_dahal copyकाठमाडौं, २१ चैत । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधानले निर्दिष्ट गरेका विषयलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय कर्मचारी संगठन नेपाल पशुपति क्षेत्र विकास कोषको चौथो महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले नेपाली जनताले चाहेको सम्पूर्ण अधिकार प्राप्त गर्न नसकेको भए पनि प्राप्त अधिकारलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । दाहालले नेपाली जनताको आत्मसम्मान र राष्ट्रिय स्वाधीनतालाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्नुपर्ने बताए ।

‘आफ्नो अधिकार खोज्दा अरूको अधिकारको पनि सम्मान गर्नुपर्छ, जिम्मेवारीबाट विमुख हुनुहुन्न, अधिकारको नाममा अराजकता भयो भने त्यसले कोही कसैको हित गर्दैन ’ दाहालले भने । उनले कोषसँग सम्बन्धित सबै प्रकारको समस्या समाधान गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक मार्फत पहल गरिने विश्वास दिलाए ।

दाहालले पशुपतिनाथ क्षेत्रको विकास, विस्तार र प्रचारका लागि सबैको सार्थक पहल हुनु पर्ने बताएका छन् । राष्ट्रिय कर्मचारी संगठन नेपाल पशुपति क्षेत्र विकास कोषको चौथो महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले विश्वका विभिन्न मुलुकमा यस्तै महत्वपूर्ण क्षेत्रको नाममा पर्यटकीय तथा आर्थिक गतिविधि मौलाएकाले नेपालले पनि त्यसबाट फाइदा लिएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

पशुपतिनाथ क्षेत्र जस्ता महत्वपूर्ण धार्मिक स्थललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने दाहालको भनाइ थियो । कार्यक्रममा कोषका सदस्य सचिव डा गोविन्द टन्डनले पशुपतिनाथ क्षेत्रको वर्तमान अवस्था र समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया