कालाबजारीलाई घुँडा टेकाउँछौँ : विद्यार्थी

काठमाडौं । कालोबजारी, महँगी र भ्रष्टाचारविरुद्ध विद्यार्थी संगठनहरूले राजधानीमा संयुक्तरूपमा विरोध प्रदर्शन गरेका छन् । विरोधसभालाई सम्बोधन गर्ने विद्यार्थी नेताहरूले भ्रष्टाचारीलाई घुँडा टेकाएरै छाड्ने भन्दै नेपालको आन्तरिक मामिलामा भारत र युरोपियन युनियनले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैटौँ, अखिल पाँचौँलगायत विद्यार्थीहरूले भृकुटीमण्डपबाट निकालेको जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियुकी अध्यक्ष नविना लामाले कालोबजारी अन्त्य नहुँदासम्म संयुक्त आन्दोलन जारी रहने बताइन् ।

एमाओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले कालोबजारी र भ्रष्टाचारका मतियारहरू सिंहदरवार भित्रै संरक्षित रहेको भन्दै उनीहरू अब धेरै दिन टिक्न नसक्ने बताए । अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले सिंहदरबारमा लुकेर बसेका कालोबजारीयाहरूको मुकुण्डो नउतारिँदासम्म आन्दोलन जारी रहने बताए ।

नेविसंघका प्रवक्ता युपी लामिछानेले कालाबजारीलाई घुँडा टेकाएरै छाड्ने दृढता व्यक्त गरे । उनले सार्वभौमसत्ता सम्पन्न देशको संविधानविरुद्ध बोल्ने अधिकार कसैलाई नभएको बताए । कार्यक्रममा वैद्य माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष विरेन्द्र वस्नेत, अखिल छैठौँका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल पाँचौँका अध्यक्ष घनश्याम मिश्रलयायतले कालोबजारीलाई सरकारले नै संरक्षण गरेको भन्दै त्यसको भण्डाफोर गर्ने बताएका थिए । (सौस)

प्रतिक्रिया