रुपन्देहीलाई प्रदेश नं. ५ को राजधानी बनाउन माग

butwalबुटवल, १५ चैत । बुद्ध जन्मस्थल लुम्बिनीसहित आर्थिक पूर्वाधारसहित प्रयाप्त सम्भावना भएकाले रुपन्देहीमा प्रदेश नम्बर ५ को राजधानी राख्नुपर्नेमा यस क्षेत्रका आर्थिक सरोकारवालाहरूले जोड दिएका छन । बुद्ध जन्मस्थल, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल भैरहवा ६ लेन सडक, बुटवलमा अन्तर्राष्टिय सभा गृह, कृषि थोक बजार केन्द्र, शिक्षा, स्वास्थ्य, यातायात, औद्योगिक क्षेत्रलगायतका विशेष आयोजना रुपन्देहीमा रहेकाले ५ नम्बर प्रदेशको राजधानी रुपन्देही बनाउनुपर्ने सरोकारवालाहरूको धारणा रहेको छ ।

बुटवल उद्योग वाणिज्य संघको २३औँ सल्लाहकारसभा उद्घाटन कार्यक्रममा संघका अध्यक्ष महेशमान सिंहले बुटवलमा रहेको पूर्वाधार र आगामी योजनासहित प्रदेशको राजधानी बनाउन राखेको प्रस्ताव र सहयोगलाई कार्यक्रमका सहभागी सबैले स्वागतसहित समर्थन गरेका थिए । ‘बुटवल प्रर्याप्त सम्भावना बोकेको क्षेत्र हो यहाँ राजधानी बनाउँदा अहिले पनि धेरै पूर्वाधार बनेका छन् र अब कम पूर्वाधार बनाएर राजधानी सञ्चालनमा ल्याउन सकिन्छ’ अध्यक्ष सिंहले भने । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डीराज ढकालले स्थानीय संघ सस्थासँगको समन्वयमा राजनीतिक दलहरूको समर्थनमा बुटवललाई संघीय प्रदेशको राजधानी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न बुटवल उद्योग वाणिज्य संघलाई सुझाव दिए ।

पूर्वअध्यक्ष ढकालले नयाँ संविधान पछि पनि आर्थिक विकास र समृद्धिका लागि लगानी मैत्री र लगानीमा सुरक्षाको प्रत्याभूति हुन नसकेको चिन्ता व्यक्त गर्दै सरकार र सबै राजनीतिक दलहरूलाई आर्थिक समृद्धिका लागि एकबद्ध हुन आग्रह गरे । कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष अर्जुनमान सैंजुले संघले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा लगानी गरेकाले बुटवलमा निजी क्षेत्रको ठूलो लगानी भएको उल्लेख गर्दै संघीय राजधानीका लागि सामूहिक पहल गर्नुपर्ने बताए । सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री र तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले यस क्षेत्रको पर्यटन, औद्योगिक क्षेत्र र पूर्वाधार विकासमा बुटवललाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, पूर्वअध्यक्ष नवराज श्रेष्ठ, निर्मलप्रसाद लाकौल, हिराप्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष खीमबहादुर हमाल, महासचिव हरिप्रसाद अर्याल, मोबाइल समितिका सभापति एमएल पाण्डे, प्राध्यापक आनन्दमान सिंह शाक्य, इञ्जिनियर रतनलाल अग्रवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया