पाँचथर , १५ चैत । पाँचथर भारपा गाविस–५ स्थित मेचीराजमार्ग डोप्कीले हुँदै मानेडाँडा निमाविसम्मको ३ किलोमिटर निजी लगानीमा बाटो निर्माण भएको छ । भारपा–५ निवासी श्रीप्रसाद यवाले आफ्नै लगानीमा बाटो निर्माण गरेका हुन् । मेचीराजमार्ग नजिकै डोप्कीले हुँदै आफूले अध्ययन गरेको विद्यालय मानेडाँडा निमाविसम्म २० लाख बराबरको लगानीमा बाटो खनिएको हो ।
श्रीप्रसाद यवा साउदी अरेबियामा अन्नपूर्ण गेस्टहाउस सञ्चालन गर्दै आएका छन् । उनी साउदीमा करिब १० वर्षदेखि रोजगारीको क्रममा बस्दै आएका छन् । भारपा गाविसका पूर्वप्रधानपञ्च होमप्रसाद यवाका नाति श्रीप्रसाद यवाले गाउँ विकासमा निजी लगानी गरेको विद्यालयका प्रधानाध्यापक णगेन्द्र यवाले बताए । वैदेशिक रोजगारीमा गएका युवाहरूले पठाएको पैसाले गाउँ विकास निर्माणमा लगानी गरेकाले स्थानीय गाविस सरकारलाई चुनौती दिएको स्थानीयले बताएका छन् । एमालेको ९ महिने सरकारको समयमा सुनेको ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराले प्रभावित उनले बुझाइले निजीलगानीमा सडक खनाइएको जुझारु युवासंघ नेपालका सचिवालय सदस्य राजेन्द्र आङदम्बेले बताएका हुन् ।
आङदम्बेको पहलमा आइतबार बाटो निर्माण क्षेत्रमा पाँचथर जिल्लामा रहेका सञ्चारकर्मीहरूलाई सडक निर्माण अवलोकनको व्यवस्था गरेका थिए । बाटो निर्माणले स्थानीयवासीहरू हर्षित बनेका छन् ।
निमार्णकर्ता राजेन्द्र आङदम्बेले निमार्ण क्षेत्र प्रवेशद्वारमा ब्यानरको गेट राखी बाटो निर्माण गरेका छन् । चेन वाला जेसिभीले बाटो खनाएका हुन् । अहिले नयाँ खनिएको सडकमा मोटरसाइकल ओहोरदोहोर गरिरहेको छ । बाटो डोप्कीले हुँदै मानेडाँडा निमाविसम्म खनिएको छ ।
विदेशमा रहेर पनि स्वदेशको विकास र देशभक्तीमा लाग्ने युवाहरू पाइएको साथै आफूले पनि बाटो निर्माण भइरहेको देखेको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले बताए ।
प्रतिक्रिया