प्रधानमन्त्रीको चीन भ्रमणका अपेक्षा

manoj gautam copyनेपाल र चीनबीच ६ दशक लामो सम्बन्ध रहँदै आएको छ । चीन नेपालको १ असल छिमेकी हो । नेपालको हरेक दुःखसुखमा चीनले मन, वचन र कर्मले सहयोग गर्दै आएको छ । चीनले नेपालको आन्तरिक मामिलामा अहिलेसम्म कुनै हस्तक्षेप गरेको छैन । नेपालको आन्तरिक मामिलामा चीनले नेपालको समस्या नेपालकै सरकार र राजनीतिक दलहरू मिलेर समाधान गर्ने विश्वास र मान्यता बोक्दै आएको छ । चीनले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई सम्मान गरेको छ । चीनले नेपालमा सहयोग गर्दा कुनै स्वार्थ राखेको छैन । निःस्वार्थ ढंगले सहयोग गर्दै आएको छ । नेपाल चीनको हित चाहन्छ । चीन पनि नेपालमा समृद्धि चाहन्छ । विकास र स्थायित्व चाहन्छ । त्यसकारण पनि २ देशको सम्बन्ध बलियो छ सुदृढ छ ।

नजिकको तीर्थ हेला भनेझैँ चीनसँग हामीले धेरै नै फाइदा लिने अवस्था हुँदाहुँदै पनि प्रभावकारी नीति र योजना नहुँदा अपेक्षा अनुसारको काम अगाडि बढाउन सकिएको छैन । विगतमा नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयन गर्न विगतका सरकारले ढिलासुस्ती र आलटाल गर्दै आएको तीतो यथार्थ सबैको अगाडि छर्लंगै छ । भारतले ५ महिना लामो नाकाबन्दी गरेपछि अहिले आएर चीनसँग जोडिएका ७ वटा नाका सञ्चालन गर्न सरकारले चासो देखाएको छ । देशमा ५६ वर्षपछि जारी संविधान, संविधान जारी भएलगत्तै भारतले गरेको नाकाबन्दीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चीन भ्रमण हुँदै छ । ओलीको चीन भ्रमणलाई आमनेपाली जनताले निकै उत्सुकतापूर्ण लिएका छन् । भ्रमणले निकै ठूलो आशा पनि जगाएको छ । चीनसँग इन्धन सम्झौता, नाका सञ्चालन, व्यापार पारवहन, कृषि पर्यटन र जलविद्युत्को क्षेत्रमा हुने सम्झौताको पूर्व तयारी गरेर ओलीले भ्रमणलाई कोशेढुंगा साबित गर्नुपर्छ । ओलीले राष्ट्रको हित हुने गरी महत्पूर्ण सम्झौता गरेर देशको समृद्धिलाई अगाडि बढाउन महत्पूर्ण भूमिका खेल्नुपर्छ ।

सधै एउटै देशसँग परनिर्भर हुनुपर्ने परम्पराको अन्त्य हुनेछ । नेपाल–चीनसँग सम्बन्ध सुमधुर छ यसलाई थप मजबुद बनाउन आवश्यक छ । सम्बन्धमा कुनै शंका उप–शंका छैन र रहन दिनु पनि हुँदैन । असल छिमेकीको सम्बन्ध थप उचाइमा पु¥याउन प्रधानमन्त्री ओलीले उच्च तहमा छलफल गर्नुपर्छ । चीनले नेपालको विकासमा खुला मनले लगानी गर्दै आएको छ र आगामी दिनमा लगानी गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै आएको छ । पुननिर्माणको लागि पनि चीनबाट देशले सहयोग लिनुपर्छ ।

चीन नेपालको विकासमा इँटा थप्न चाहन्छ । छिटोभन्दा छिटो छिमेकी समृद्धि भएको हेर्न चाहन्छ । चीन आफ्नो मूलुकजस्तै नेपाल पनि बनोस् भन्ने चाहना राख्छ । कुनै पनि कारण छिमेकीसँग सम्बन्धमा दरार आउन नदिनेमा चीन सचेत छ । कुनै कारणले नेपाल र नेपालीको मन दुखाउन चीन चाहँदैन । चीन सरकारको चासो र चिन्तालाई पनि भ्रमणको क्रममा ओलीले विश्वास दिलाउनुपर्छ । भ्रमणको क्रममा राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर अब चीनसँग स्वतन्त्र व्यापारिक सम्झौता गर्न सरकारले खुट्टा कमाउनु हुँदैन । भारतले गरेको नाकाबन्दीबाट पाठ सिक्दै एउटा देशसँग मात्र परनिर्भर बन्न परम्परा तोडनु पर्छ । सार्वभौम सत्ता, स्वतन्त्रता, अखण्डता राष्ट्रियताभन्दा ठूलो नेपाल र नेपालीको लागि अरू केही हुन सक्दैन । नाकाबन्द गरेर नेपालको शिर झुकाउन वाध्य पर्ने शृंखलाबद्ध घटनाबाट पाठ सिक्दै देशलाई आत्मनिर्भर बनाउने दिशामा आगाडि बढाउनुपर्छ ।

यसको अर्थ छिमेकी देश भारतलाई चिढ्यार चीनसँग मात्र सम्बन्ध कायम गर्ने भन्न खोजिएको होइन । हाम्रा लागि दुवै छिमेकी चाहिन्छ । तर, आपत्विपत् सिर्जना गरेर नेपालीको दुःखमा हाँस्ने छिमेकी हामीलाई स्वीकार्य छैन । हामी छिमेकीलाई असल व्यवहार गर्छौ र असल व्यवहार चाहन्छौँ । कठिनाई सिर्जना गरेर घाँटी अठ्याउने छिमेकी नेपालको लागि आवश्यक छैन । नेपालीले दुःखमा साथ दिने छिमेकी चाहिएको छ । छिमेकी स्वार्थ पूरा नभएवापत दण्डसजाय भोग्न बाध्य पार्ने छिमेकीको परिकल्पना गरेका छैनौँ ।

सम्झौतापछि तत्काल चीनबाट नेपालमा इन्धन भित्रियोस् । चीनलै नै इन्धन ल्याउने सम्झौता भए सडक निर्माण र इन्धन भण्डारणस्थल निर्माण गर्ने प्रस्ताव गरेको छ यो अवसरलाई सदुपयोग गर्नुपर्छ । विगतमा चीनसँग सम्झौता गर्ने र कार्यान्वयन नगर्ने परम्पराको कारण चीन केही सशंकित छ । भ्रमणले यो शंका हटाउनुपर्छ । प्रधानमन्त्री ओलीले नेपालको भूभाग कुनै पनि देशविरुद्ध प्रयोग नहुने विश्वास दिलाउनुपर्छ । चीनको सुरक्षा चासोलाई गम्भीरतापूर्व लिएर विश्वासको वातावरण सिर्जना गर्न सक्नुपर्छ ।

भ्रमणको क्रममा चीनसँग हुने इन्धन सम्झौता मार्पmत भारतको एकाधिकार तोडिएको हेर्न नेपाली जनता आतुर छन् । भ्रमणलाई उपब्धिमूलक बनाउन कुनै पनि कसरत बाँकी राख्नु हुँदैन । अहिले कुराभन्दा पनि काम गर्ने बेला हो । प्रधानमन्त्री चीनबाट फर्किएर स्वदेश फर्कंदा नेपाली जनताले हर्षित हुने अवसर मिलोस् । समय परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले यसपटक चीनसँग हुने सम्झौताले सिंगो मुलुकलाई खुसी ल्याउनेमा नेपाली जनता आशावादी छन् । देशको फाइदाको लागि कुनै पनि दबाबमा नपरी नाका र व्यापार सम्झौताको मुल ढोका खुलेको हेर्न आमनेपाली प्रतिक्षारत छन् ।

प्रतिक्रिया