धनकुटा, ९ चैत । होलीपर्वमा अप्रिय घटना हुन नदिनका लागि प्रहरीले पूर्वाञ्चलमा विशेष सुरक्षा सतर्कता अपनाएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार पूर्वाञ्चलका १६ जिल्लामा होलीलाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम राख्नका लागि ५ हजार ३५ जना प्रहरी परिचालन गरिएको छ ।
होली पर्वलाई मर्यादित र हर्षोेल्लासका साथ मनाउने वातावरण निर्माण गर्न तथा आपराधिक एवं गैरकानुनी गतिविधि नियन्त्रण गर्न मातहतका सबै जिल्लामा निर्देशन दिइएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । प्रहरी कार्यालयहरूबाट प्राप्त सुरक्षा योजना अनरूप एकीकृत सुरक्षा योजना बनाई होलीको समयमा पर्याप्त जनशक्ती परिचालन गरिएको हो ।
चाडपर्वका नाममा हुने विकृति एवं गैरकानुनी गतिविधिलाई निरुत्साहित एवं नियन्त्रण गर्न तथा ट्राफिक नियमको पालना गराउनमा तहतका सबै प्रहरी कार्यालयहरूबाट चेतनामूलक प्रचारप्रसार अभियानचलाई सकिएको क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायवउपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । उनका अनुसार चाडपर्वका बेला महिलामाथि हुने दुव्र्यवहार, जबर्जस्ती रंग दल्ने, फोहोर पानी छ्याप्ने, लोला हान्ने जस्ता विकृतीजन्य कामलाई रोक्न प्रहरीले धेरै स्थानमा पिकेट डिउटी, गाडी मोबाइल, पैदल गस्ती, क्युआरटी मोटरसाइकल तथा सादापोसाकमा प्रहरी परिचालन गरेको छ ।
त्यसैगरी मादकपदार्थ सेवनगरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा हेल्मेट नलगाई मोटरसाइकल चलाउने जस्ता ट्राफिक नियमको उल्लंघन गर्नेलाई कडाइका साथ निगरानी गरी कारबाही गरिनेछ । त्यसका लागि विभिन्न स्थानमा ट्राफिकसहित स्थानीय प्रहरीले संयुक्त चेक प्वाइन्ट राखेको छ । सुरक्षा योजना अनरूप आवश्यक परेको समयमा तत्काल परिचालन गर्नसक्ने गरी दंगा, गण तथा मेची, कोसी र सगरमाथा गरी ३ वटै अञ्चलमा रहेका गुल्महरूमा आवश्यक संख्यामा रिजर्भ टोलीसमेत तैनाथ गरिएको प्रहरी नायव उपरीक्षक पंगेनीले बताए ।
प्रतिक्रिया