प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम

काभ्रे, २ फागुन । जिल्ला प्रहरी कार्यालय काभ्रेले काशीखण्ड नगरपालिकामा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । स्थानीय जनक बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिहर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले गत ३ महिनामा गरेका काम कारवाही र सेवा प्रवाहका बारेमा जानकारी दिइएको छ ।

नेपाल प्रहरीको रणनीतिक योजना तथा प्रहरी महानिरीक्षकबाट जारी संस्थागत प्राथमिकता अनुरूप नागरिक समाजमा नेपाल प्रहरीले प्रवाह गरेको सेवा सम्बन्धमा जानकारी गराइएको हो । प्रहरी नायव उपरीक्षक राजकुमार केसीले प्रहरीले गरेका गतिविधिका बारेमा संक्षेपमा जानकारी दिएका थिए । त्यस्तै प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले सहभागीहरूबाट आएका उजुरी तथा गुनासो एवं जिज्ञासाहरूलाई सम्बोधन गर्दै उठेका सवालहरूको जवाफ दिएका थिए । उक्त कार्यक्रममा अञ्चल प्रहरी कार्यालय बाग्मतीका प्रहरी नायव उपरीक्षक सानुराम भट्टराई, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत रामप्रसाद भट्टराई, काभ्रे उधोग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण वैद्य, मानवअधिकारकर्मी भोजराज तिमिल्सिना, स्थानीय राजनीतिक दल, उद्योग व्यवसायी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीलगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया