काठमाडौं, २७ माघ । तामाङ समुदायले मनाउँदै आएको यो वर्षको ल्होछार पर्व देशव्यापी सम्पन्न भएको छ । यसअघिको काठमाडौंमा मात्र देखिने गरेको ल्होछार पर्वको रौनकता यो वर्षदेखि गाउँगाउँसम्म पुगेको हो ।
तामाङ समुदायमा यो पर्वलाई नयाँ वर्षको रूपमा मनाउने चलन रहेको छ । यो चाड माघ शुल्क प्रतिपदाको दिन मनाउने गरिन्छ । त्यसै क्रममा नुवाकोटको समुद्रदेवीमा पनि यसवर्षको ‘टे ल्होछार’ विभिन्न कार्यक्रमहरू गरी सम्पन्न सकिएको छ । तामाङ समुदायहरूको बाक्लै वस्ती भएको यस ठाउँमा यसअघि ल्होछार मनाउने चलन नभएको स्थानीयले बताए ।
यसपालिदेखि नै सोनाम ल्होछार मनाउने सुरुआत गरियो । यो दिन यस क्षेत्रका सबै मानिसहरू बिहानैदेखि एक ठाउँमा भेटघाट गरेर एकआपसमा जुटेर विभिन्न सांस्कृतिक कार्यक्रम गरी विभिन्न परिकारका खानेकुरा खाएर एक आपसमा मेलमिलाप गरी ल्होछार पर्व मनाइएको स्थानीय राम लामाले जनाकारी दिएका छन् ।
ल्होछार काठमाडौंको टँुडिखेलमा मात्र केन्द्रित भएको अवस्थामा अबदेखि नेपालको सबै तामाङ समुदायहरू बसोवास गरेको स्थानमा ल्होछार पर्वको महत्व दर्शाउनु आवश्यक रहेकाले सबैलाई सचेत गराउँदै यो पर्व मनाइएको लामाको भनाइ रहेको छ । यसैगरी अन्य गाउँठाउँहरूमा आफ्नै परम्परा अनुसार ल्होछार मनाउने र हाम्रो आफ्नो परम्परालाई जगेर्ना गर्नुपर्छ, यसलाई कुनै एक ठाउँमा मात्र केन्द्रित नगराइकन सम्पूर्ण तामाङ समुदायहरूमा यो ल्होछारको महत्व बारे दर्शाउनु आवश्यक रहेको उनको भनाइ रहेको छ ।
प्रतिक्रिया