नुवाकोट । नुवाकोटमा प्रहरीले बरामद गरेको २ हजार लिटर पेट्रोल बुधबार जिल्लाका किसानहरूलाई बिक्री गरेको छ । बढी मूल्यमा रातमाटेको त्रिशुली आयल स्टोरका सञ्चालकले पम्पबाटै बिक्री गरेको डिजेल जिल्ला प्रहरी कार्यालय नुवाकोटले गत हप्ता बरामद गरेको थियो । प्रहरीले बरामद गरेको डिजेल जिल्ला अदालत नुवाकोटको आदेशमा किसानहरूलाई बिक्री गरेको हो ।
१ हजार लिटर डिजेल नुवाकोटको रातमाटे गाउँ विकास समितिबाट मंसिर १५ गते राती काभ्रे लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । डिजेल प्रतिलिटर एक सय ६० रूपैयाँमा पम्पबाटै बिक्री गर्ने र एकै व्यक्तिलाई ठूलो परिमाणमा दिने गरेपछि रातमाटेमा रहेको त्रिशुली आयल स्टोरका सञ्चालक जीवन भण्डारीलाई समेत प्रहरीले पक्राउ गरेर जिल्ला अदालत पेश गरेको थियो ।
यसैगरी नुवाकोटमा डिजेलको कालोबजारीमा संलग्न भएका नुवाकोटको जिलिङ गाउँ विकास समिति वडा नम्बर ३ का कृष्ण दाहाल र सिन्धुली भुवनेश्वर गाउँ विकास समिति ३ का अर्जुनकुमार कार्कीलाई जनही ५०÷५० हजार रूपैयाँ रकम धरौटीमा अदालतले छाडेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शिद्धिविक्रम शाहका अनुसार त्रिशुली आयल स्टोरका सञ्चालक भण्डारीले काभ्रेको विभव फुड्स प्रा.लिको नाममा बढी मूल्यमा डिजेल बिक्री गरेका थिए । (सौस)
प्रतिक्रिया