महतोले तीन नेतालाई बा“दरको संज्ञा दिए

janakpur newsजनकपुरधाम, १६ मंसिर । संघीय मधेसी गठबन्धनले धनुषाको ढल्केबरमा विरोधसभा आयोजना गरेको छ । ढल्केबरको राजमार्गमा भएको उक्त विरोधसभामा ठूलो जनसंख्याको उपस्थिति रहेको थियो ।

सभामा बोल्दै सदभावना अध्यक्ष राजेन्द्र महतोले राज्यसत्ताले सधैँ आफूहरूलाई ठग्दै आएको आरोप लगाउँदै यसपटक नठगिने जिकिर गरे । उनले यसपटक उधारोमा नभई नगदमा मात्रै यसपटक व्यवहार हुने बताए । आफूहरूको मुद्दाको सुनुवाई नभएपछि बाध्य भएर नाकाबन्दी जस्तो आन्दोलनमा उत्रिनु परेको भन्दै उनले काठमाडौंको मिडियाले पनि मधेसको मुद्दालाई नबुझेको र नउठाएको गुनासो गरे । उनले मधेशीलाई बन्दुक बोक्ने साहस नरहेकोे प्रतिक्रिया दिँदै आएका प्रति आक्रोश व्यक्त गर्दै, ‘अहिले मधेसमा जारी रहेको आन्दोलनमा मधेसी जनताले बन्दुक मागिरहेको र यसैबाट खसवादीहरूले अनुमान लगाउन सकिन्छ कि मधेसीहरू बन्दुक बोक्न सक्छन कि सक्दैनन् ।’

उनले प्रमुख तीन शीर्ष दलका शीर्ष नेतालाई ३ बाँदरको संज्ञा दिँदै उनीहरूले नै देशमा उत्पात मच्चाएको आरोप लगाए । बहुमतको दम्भमा धेरै दिन मधेसी जनतामाथि अत्याचार गरे खसवादीहरूलाई नै घाटा हुने महतोले चेतावनीसमेत दिए ।

सभामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका कारण वर्तमान सरकार भयभित भएको वताए । उनले वर्षौदेखि मधेसमाथि रहँदै आएको वर्चश्व गुम्ने डरले वर्तमा सरकार चिन्तित रहेको बताए । उनले वर्तमान सरकार खिचडी सरकार रहेको भन्दै टिप्पणी गर्दै भने, ‘राजावादी, संघीयता विरोधी र एक अर्काको घोर विरोधी नेताहरू सरकारमा सामेल रहेकोले मधेसको मुद्दा सम्बोधन हुन नसकेको हो ।’ उनले वर्तमान सरकारमा रहेका तीनै नेताहरू मधेसविरुद्ध एक भएकोले कुनै पनि हालतमा मधेसको मुद्दा सम्बोधन हुन नसक्ने दाबी गर्दै वार्ता मात्र नौटंकी र विश्व समुदायलाई देखाउनका लागि रहेको आरोप लगाए ।

त्यसैगरी विरोधसभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसीलाई बिहारी भन्नेहरूलाई लक्षित गर्दै भने नेपालको न शव्द पनि नरहेको समयमा मधेसको निर्माण भइसकेको र यसको इतिहास पनि साक्षी रहेको बताए ।

उनले मधेसी मोर्चाले तेस्रो वार्ताकै क्रममा सरकारसमक्ष ११ बुँदे प्रस्ताव पेस गरिसकेको बताउँदै यो प्रस्तावमै केन्द्रित रहेर सरकारले वार्ता गर्नुपर्ने बताए । ‘अहिले आएर सरकारले नै ११ बुँदे प्रस्तावबारे जानकारी नभएको भन्नु सरकारमा रहेकाहरूको स्मरण शक्ति कमजोर भइसकेको भान हुन्छ,’ अध्यक्ष यादवले भने, ‘हामी यसमै केन्द्रित छौँ र सरकार पनि यसमै केन्द्रित हुनु जरुरी छ ।’

अध्यक्ष यादवले ११ बुँदे प्रस्तामध्ये पनि सबैभन्दा बढी सिमांकन, जनसंख्याको आधारमा प्रतिनिधित्व, नागरिकता, भाषा र समावेशी मुख्य विषय भएको बताए । ‘अहिलेको हाम्रो प्रमुख बटमलाइन पनि यही हो,’ अध्यक्ष यादवले भने, ‘अब गम्भीर बन्ने काम सरकारको हो ।’

यी मागहरू पूरा नभएसम्म कुनै पनि हालतमा आन्दोलन नथामिने उनले स्पष्ट पारे । सरकारले जतिसुकै दमन गरे पनि, जतिलाई मारे पनि यो आन्दोलन थामिनेवाला छैन,’ उनले भने, ‘एक जना मधेसी बाँकी रहे पनि उनले जय मधेसको नारा लगाउँछन् नै ।’ उनले विशेष सुरक्षा योजनालाई विशेष दमन योजनाको संज्ञा दिए । त्यस्तै सभामा बोल्दै तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले अधिकार प्राप्तीका लागि आन्दोलन सशक्त बनाउनुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया