लुम्बिनी एक्स्पोको तयारी तीव्र

रुपन्देही, मंसिर १६ । नाकाबन्दीको समयमा देश चरम संकटतर्फ धकिलिँदै गरेको अवस्थामा बुटवलमा भने लुम्बिनी एक्स्पो २०७२ अन्तर्राष्टिय व्यापार मेलाको तयारी तीव्र रूपमा अगाडि बढाइएको छ । ८ देखि २१ पुससम्म चल्ने मेलामा अहिले निर्माण कार्य, स्टल दर्ता, प्रचारप्रसारलगायतका तयारीका कामहरू तीव्र पारिएको रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेलले जानकारी दिए ।

बुधबार मेला स्थल बुटवल रामनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्था व्यापार संघले मेलाको तयारी तीव्र पारिएको बताएको हो । मेला सम्पन्न गर्न ६१ सदस्यीय मूल आयोजक समिति गठन गरी तयारीमा लागेको भन्दै मेलाका संयोजक पोखरेलले यस मेलाले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा फाइदा, व्यापार व्यवसाय प्रवद्र्धनको प्रचारप्रसारमा टेवा पुग्ने बताए ।

उनले बुटवल बजारको विशिष्टीकरणको अवधारलाई यस मेलाबाट भए पनि साकार पार्ने कार्यमा अगाडि बढेको बताए । उनले भने, ‘मेलाको आयोजना गर्दा स्वदेशी उत्पादनको प्रचारप्रसारका अतिरिक्त हाम्रा उत्पादन विदेशमा र अन्तर्राष्ट्रिय स्तरका उत्पादन हामी कहाँ आउने सुनौलो मौका रहनेछ ।’

मेलामा भारत, पाकिस्तान, चीन, बंगलादेशसहित करिव ६ सय स्टल रहने उनले बताए । मेलामा अन्तर्राष्ट्रिय स्टल, अटो पेभिलियन, कृषि प्रविधि, सेवामूलक, सूचना प्रविधि र इलेक्ट्रोनिक्स, वैकल्पिक ऊर्जा, जुत्ताचप्पल, दैनिक उपभोग्य सामान, गार्मेन्ट्स, निर्माण सामग्री, घरेलु तथा हस्तकला, होटल तथा रेस्टुरेन्टका स्टलहरू राखिने आयोजकले जनाएको छ ।

मेला सम्पन्नपछि आयोजकले व्यापार बारे जनचेतनाको विकास हुने अपेक्षा गरेको छ । त्यस्तै उद्यमी, व्यवसायी, दर्शक र विभिन्न संस्थाका बीचमा अन्तरसम्बन्धको विस्तार, पर्यटनको सम्भावना र प्रगतिको प्रचारप्रसार, गणात्मक प्रतिस्पर्धाको निमित्त प्रेरणा, सरकार र निजी क्षेत्र बीचमा समस्याको पहिचान गरी अवसर र सुधारको निमित्त सुझाव आदानप्रदान, सोधकर्ता, दर्शक र अवालेकनकर्तालाई स्थलगत अध्ययनको अवसर, व्यापार व्यवसायमा संलग्न हुन चाहनेहरूलाई स्वरोजगारको प्रोत्साहन, नीति निर्माण र सुधारका निमित्त व्यावहारिक सुझाव प्राप्त हुने अवसर आयोजकले अपेक्षा लिएको छ ।

यसैगरी विदेशी व्यापारीहरूसँग अनुभव आदानप्रदान, व्यापारको सम्भाव्यता, अध्ययन, विकास र व्यवस्थापन तथा प्रवद्र्धनको पनि अपेक्षा गरिएको छ । स्थानीय क्षेत्रको पहिचान र विकास, अटो व्यवसायीप्रति आकर्षण र बजार प्रवद्र्धन, कृषिलाई व्यावसायीकरणतर्फ उन्मुख हुने आयोजकको अपेक्षा छ ।

मेलामा दैनिक उपभोग्य बस्तु तथा सेवाको प्रदर्शनी र बुटवलको जीतगढी किल्लासँग सम्बन्धित कर्णेल उजीर सिंह थापाको नेतृत्व भएको नेपाल–अंग्रेज युद्धसँग सम्बन्धित वृत्तचित्र प्रदर्शनी समावेश गरिएको छ । कृषि, हस्तकला, वैकल्पिक ऊर्जा तथा स्वदेशी उत्पादनको बृहत् प्रदर्शनी, लुम्बिनी अञ्चलका प्रमुख पर्यटकीय स्थलको फोटो तथा वृत्तचित्र प्रदर्शनी हुनेछ ।

त्यस्तै डान्स आइडल प्रतियोगिता, अस्ट्रिज चरा तथा अन्डा अवलोकन, नीलहिरा समाजको विशेष प्रस्तुति, डान्स आइडिएल, लोकदोहोरी, अन्तरविद्यालय लोकनृत्य तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया