रत्नपार्कमा निःशुल्क वाइफाई

काठमाडौं । काठमाडौंको केन्द्रमा रहेको रत्नपार्क बगँैचाभित्र प्रवेश गर्नेलाई महानगरपालिकाले निःशुल्क वाइफाई चलाउन दिने भएको छ । गत साउनदेखि रत्नपार्कमा प्रवेश गर्दा शुल्क लाग्ने व्यवस्था गरेको महानगरपालिकाले आगामी तीन हप्तापछि रत्नपार्क भित्र वाइफाई सेवा सुरू गर्ने जनाएको हो । करिब ६ लाख रुपैयाँको लगानीमा वाइफाई सेवा सुरु गर्न लागेको महानगरपालिकाले त्यसका लागि आवश्यक सामग्री खरिदका लागि गरेको टेन्डरमा एउटामात्र बोल पत्र परेकाले पुनः टेन्डर गरेको छ ।

खरिद ऐन अनुसार एउटामात्र बोलपत्र परेमा पुनः टेन्डर गर्नु पर्ने भएकाले तीन दिन पहिले फेरि टेण्डर गरेको महानगरको सूचना प्रविधि शाखा प्रमुख रामु सापकोटाले जानकारी दिएका छन् । उनले भने, ‘अब एउटामात्र कम्पनीले बोलपत्र हालेपनि काम अघि बढ्छ, तीन हप्तापछि वाइफाई चलाउन मिल्ने गरी काम गरिरहेका छौँ ।’

सापकोटाका अनुसार बगैचाभित्र विभिन्न ६ ठाउँमा वाइफाईको एक्सेस पोइन्ट राखिने छ । सुरूमा १ एमबिपिएसको गतिमा वाइफाई सेवा उपलब्ध हुनेछ । बगैचाभित्र छिर्ने टिकटसँगै वाइफाई पासवर्ड पनि दिइने छ । ‘यसबापत सर्वसाधारणले थप शुल्क तिर्नु पर्दैन’ पहिले बगैचाभित्र छिर्न सर्वसाधारणले २५ र विद्यार्थीले १५ रुपैयाँ तिर्नुपर्ने प्रवाधान रहेको छ । वृद्धवृदा र अपांगका लागि भने प्रवेश शुल्क लाग्दैन । बगैँचाभित्र पस्न टिकट चाहिने व्यवस्था गरेपछि टिकटवापत् महानगरपालिकाले करिब ३२ लाख रुपैयाँ राजश्व उठाएको छ । १ करोड रुपैयाँ लगानी गरेर पुननिर्माण गरिएको बगैँचामा सर्वसाधारणहरूको जाने क्रम बढेकाले वाइफाई सेवा पनि दिन लागिएको महानगरपालिकाले जनाएको छ । (सौस)

प्रतिक्रिया